काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेदवार बनेका कमल थापाले आफ्नो हार स्वीकार गरेका छन्।
मतगणना अझै जारी रहे पनि मतान्तर धेरै भएकाले हार स्वीकार गरेको उनले सामाजिक सञ्जालमार्फत शुक्रबार बताएका छन्। उनले विजयोन्मुख राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सस्मित पोखरेल लाई हार्दिक बधाई दिएका छन्।
साथै देशव्यापी रूपमा उल्लेखनीय जित हासिल गरेको भन्दै रास्वपालाई पनि बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
उनले निर्वाचनमा ‘हलो’ चुनाव चिन्हमा मतदान गर्ने सम्पूर्ण मतदाताप्रति कृतज्ञता व्यक्त गर्दै पराजयका बावजुद सशक्त चुनावी अभियान सञ्चालन गर्ने राप्रपाका सबै नेता–कार्यकर्तालाई धन्यवाद दिएका छन्।
चुनाव परिणामबाट विचलित नभई आत्मसमीक्षा गर्दै पार्टीलाई अघि बढाउनुपर्ने उनको भनाइ छ। उनले चुनावमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दा नेपाल रहुञ्जेल सधैं जीवन्त रहने धारणा पनि व्यक्त गरेका छन्।

