काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीसँग टेलिफोन वार्ता गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले बिहीबार दिउँसो कतारका समकक्षी अल–थानीलाई टेलिफोन गरी पश्चिम एसिया क्षेत्रमा पछिल्ला दिनमा विकसित पछिल्ला घटनाक्रमप्रति चिन्ता व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले कतारमा रहेका ३ लाख ६० हजार नेपाली नागरिक सुरक्षा तथा संरक्षण उपलब्ध गराएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरिन् ।
उनले भनिन्, “हाल करिब ३ लाख ६० हजार नेपाली नागरिकहरू कतार राज्यमा बसोबास गर्दै काम गरिरहेका छन् । उनीहरू सुरक्षित छन् र राम्रोसँग हेरचाह गरिएको छ भन्ने कुरा सुन्दा मलाई अत्यन्त खुसी लागेको छ। हाम्रो जनताको हेरचाह गर्नुभएकोमा हामी तपाईँ तथा तपाईँको सरकारप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ।”

