Harsamaya
सर्लाही–४ को बसबरियामा विवादपछि रोकिएको मतदान पुनः सुरु

रौतहट - सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत बसबरिया गाउँपालिका–३, भवानीपुरस्थित जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आज बिहान मतदान सुरु भएको केही समयमै विवाद उत्पन्न भएको छ । विवादका कारण केही बेर मतदान प्रक्रिया अवरुद्ध हुन पुगेको थियो ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको उक्त केन्द्रमा राजनीतिक दलका प्रतिनिधिहरूबिच सामान्य विषयलाई लिएर भनाभन भएपछि स्थिति तनावपूर्ण बनेको थियो । विवाद बढ्दै गएपछि मतदान अधिकृतले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै केही समयका लागि मतदान स्थगित गरेका थिए।

घटनास्थलमा खटिएका सुरक्षाकर्मी र निर्वाचन टोलीको सक्रियता तथा राजनीतिक दलका प्रतिनिधिहरूबिच भएको सहमतिका आधारमा अहिले विवाद साम्य भएको छ ।

केही समयको अन्योलपछि अहिले उक्त केन्द्रमा पुनः मतदान सुचारु भएको छ र मतदाताहरू शान्तिपूर्ण रूपमा लाइनमा बसेर मतदान गरिरहेका छन्। यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । सर्लाही–४ लाई निर्वाचन आयोगले पहिले नै अति संवेदनशील सूचीमा राखेर सुरक्षा व्यवस्था कडा पारेको थियो ।

यो निर्वाचन क्षेत्र सीमावर्तीमा पर्ने भएकाले सबै मतदान स्थलहरूमा विशेष निगरानी राखिएको छ । यस क्षेत्रमा नेपाली काँग्रेसका गगन थापा, रास्वपाका अमरेश कुमार सिंह र जनमत पार्टीका राकेश मिश्रलगायतका उम्मेदवारहरूबिच कडा प्रतिस्पर्धा भइरहेको छ । यस क्षेत्रको निर्वाचनलाई देशभर निकै चासोका साथ हेरिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update