काठमाडौं- निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ।
मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकका आधारमा मतदान गर्न पाइने आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।
मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन अधिकृतको कार्यालयले प्रशिक्षण दिएपछि केन्द्रमा खटिने अन्य कर्मचारीलाई मतदान अधिकृतले प्रशिक्षण दिएर खटाइएको आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल दुई लाख २१ हजार कर्मचारी खटिएका छन्। सत्तरी जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकतर्फ मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए। उनका अनुसार ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ कर्मचारी खटाउने व्यवस्था मिलाइएको छ।
जिल्ला आचारसंहिता अनुगमन समितिले आवश्यक व्यक्ति तथा संयन्त्र परिचालन गरी निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र १८ बमोजिम निषेध गरिएका कार्य हुन नदिने र कहीँकतै भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम तत्काल कारबाही गरी आयोगमा जानकारी गराउन आयोगले भनेको छ।
मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउन आयोगले निर्देशन दिएको छ। मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने सवारीसाधन), कूटनीतिक निकायका सवारीसाधन र निर्वाचनका लागि पास प्राप्त सवारीसाधनबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधन फागुन २० गते राति १२ः०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्म सञ्चालनमा रोक लगाइने भएको छ।
मतदानको दिन अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई उडान यथावत् सञ्चालन हुने व्यवस्था मिलाइएको छ। अन्तरराष्ट्रिय र आन्तरिक उडानका लागि टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर वा बसोबास गर्ने होटलसम्म र त्यहाँबाट विमानस्थलसम्म यात्रा गर्दा निजी वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था गरिएको छ।

