रौतहट - प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गराउन रौतहट जिल्लाभर सम्पूर्ण सुरक्षा तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार समानुपातिक तर्फको मत खसाल्न जिल्लाका तीन स्थानमा विशेष मतमेटिकाको व्यवस्था मिलाइएको छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार गौरस्थित जिल्ला अदालतको चौरमा कर्मचारी र सुरक्षाकर्मीका लागि, इलाका प्रहरी कार्यालय गौरको ब्यारेक मैदानमा सुरक्षाकर्मीका लागि र गौर कारागारमा कैदीबन्दीहरूका लागि मतदानको व्यवस्था गरिएको छ ।
निर्वाचनका लागि सुरक्षाको कडा प्रबन्ध मिलाइएको छ । मतदान स्थलको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी रहनेछन् भने बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिनेछन्। संयुक्त सुरक्षा टोलीले जिल्लाभर गस्ती र पेट्रोलिङलाई समेत तीव्र पारेको प्रजिअ भुसालले बताए ।
प्रमुख जिल्ला अधिकारी भुसालले कुनै पनि भय वा त्रास नमानी निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न आम मतदातालाई आग्रह गरेका छन ।

