काठमाडौं - अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा मिसाइल आक्रमण जारी राखिरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल, बहराइन र संयुक्त अरब इमिरेट्स (युएई) का नेताहरूसँग टेलिफोन वार्ता गरेका छन् ।
ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिँदै राष्ट्रपति ट्रम्पले इजरायल, बहराइन र युएईका नेताहरूसँग कुराकानी गरेको र टेक्सासको अष्टिन सहरमा भएको गोली काण्डबारे पनि जानकारी लिएको बताइन् । पश्चिम एसियामा बढ्दो तनावका बिच अमेरिका र इजरायलले ‘अपरेसन रोअरिङ लायन÷अपरेसन एपिक फ्युरी’ नाम दिइएको संयुक्त मिसाइल आक्रमण इरानमाथि गरेका छन् । आक्रमणपछि तेहरानसहित विभिन्न प्रमुख सहरहरूमा विस्फोटका घटनाहरू भएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्प र इरानी सरकारी सञ्चारमाध्यमहरूले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी आक्रमणमा मारिएको दाबी गरेका छन् । उनीसँगै उनकी छोरी, नाति÷नातिनी, बुहारी र ज्वाइँ पनि मारिएको उल्लेख गरिएको छ ।
इरानले प्रतिकार स्वरूप बहराइन, युएई तथा अन्य खाडी मुलुकहरूमा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ । यसैबिच युएई रक्षा मन्त्रालयले फेब्रुअरी २८ देखि सुरु भएको ठुलो इरानी आक्रमणपछि आफ्ना वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले उल्लेख्य सङ्ख्यामा हवाई खतरा निष्क्रिय पारेको जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १६५ वटा ब्यालिस्टिक मिसाइल, दुई वटा क्रुज मिसाइल र ५४१ वटा इरानी ड्रोनलाई निष्क्रिय पारिएको छ । उक्त जानकारी भारतीय दूतावास अबुधाबीले समेत पुनःसाझा गरेको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा खामेनीको मृत्यु ‘इरानी जनताका लागि न्याय’ भएको उल्लेख गर्दै लक्ष्य प्राप्त नभएसम्म ‘सटीक बमबारी’ निरन्तर जारी रहने चेतावनी दिएका छन् ।
यसैबिच, टेक्सासको अष्टिनस्थित एक चर्चित बारमा भएको सामूहिक गोली काण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको र १४ जना घाइते भएको सिबिएस न्युजले जनाएको छ । आक्रमणकारी पनि प्रहरी कारबाहीमा मारिएको बताइएको छ । मध्यपूर्वमा चुलिँदो सैन्य तनावले अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर चिन्तामा पारेको छ ।

