Harsamaya
मनाङमा कर्मचारी र सुरक्षाकर्मी अति संवेदनशील क्षेत्रमा
फाइल तस्वीरः हर समय/harsamaya

मनाङ- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्मचारी र सुरक्षाकर्मी अति संवेदनशील मतदान केन्द्रतर्फ प्रस्थान गरेका छन् । उनीहरु निर्वाचन सामग्रीसहित आ–आफ्नो क्षेत्रमा गएका हुन् । 

हालसम्म सडक सञ्जालको पहुँचमा नपुगेको नार्पाभूमि क्षेत्रका मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी निर्वाचनका सामग्रीसहित त्यसतर्फ निस्किएका मुख्य निर्वाचन अधिृकत रामप्रसाद पौडेलले जानकारी दिए। नार्पाभूमि क्षेत्रमा जाने बाटोको हिउँ पन्छाएपछि मात्र सामग्रीसहित त्यसतर्फ पठाइएको उनले बताए। 

“नार्पाभूमि क्षेत्र अति जोखिम र संवेदनशील छ । उक्त क्षेत्र चीनको सिमानासँग जोडिएको छ । त्यसमाथि मौसम प्रतिकूल रहने गर्छ”, मुख्य निर्वाचन अधिृकत पौडेलले भने । उक्त क्षेत्रमा पाँच अति संवेदनशील मतदान केन्द्र रहेका छन् । सदरमुकाम चामेबाट नार्पाभूमिका मतदान केन्द्रमा पुग्न तीन दिन लाग्छ । सो क्षेत्रमा सडक सञ्जालको पहुँच नहुँदा पैदल नै सामाग्रीसहित पुग्नुपर्ने बाध्यता छ । 

यहाँ प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदानका लागि प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी १८ हजार मतपत्र जिल्ला पुगिसकेको प्रमुख निर्वाचन अधिकारी जीवन कुँवरले बताए। मनाङमा एक अस्थायीसहित २८ मतदान केन्द्र रहेका छन् । 

निर्वाचनमा नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बाट यशोदा सुवेदी गुरुङ र मङ्गोल नेशनल अर्गनाइजेसनबाट रामबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् । यहाँ महिला तीन हजार ६२३ र पुरुष तीन हजार ३७७ मतदाताले २९ मतदान केन्द्रमार्फत मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update