Harsamaya
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी ।

तेहरान - इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि भएको छ । त्यहाँको सरकारी टेलिभिजनले औपचारिक रूपमा खामेनीको मृत्यु भएको पुष्टि गरेको हो । केही समयअघि मात्रै इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी अब यस संसारमा नरहेको सार्वजनिक गरेको हो।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको दाबी गरेका थिए । अमेरिका र इजरायलले शनिबार संयुक्त रूपमा इरानमाथि हमला गरेका थिए । सो हमला खामेनीको निवासमा समेत भएको थियो । सोही क्रममा उनको निधन भएको समाचारहरूमा जनाइएको छ । 

सन् १९८९ देखि इरानको सर्वोच्च शक्ति उनकै हातमा रहेको थियो । उनी इरानको इतिहासमा शाह मोहम्मद रजा पहलवीपछि सबैभन्दा लामो समयसम्म शासन गर्ने नेता र मध्यपूर्वका सबैभन्दा लामो समयसम्म पदमा रहने राष्ट्रप्रमुख हुन्।

खामेनी इरानका आध्यात्मिक र राजनीतिक नेता आयातोल्लाह खुमेनीका नजिकका चेला थिए। सन् १९७९ को इस्लामिक क्रान्तिमा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए। क्रान्तिअघि शाहको शासनको विरोध गर्दा उनी ६ पटक पक्राउ परेका थिए भने ३ वर्ष निर्वासनमा बिताएका थिए।

उनी एक कट्टरपन्थी र हार्डलाइनर नेता मानिन्थे।

 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update