नेपाल सरकारले मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको उल्लेख गर्दै इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई सावधानीका उपाय अपनाउन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले आज ‘एडभाइजरी’ जारी गर्दै इजरायल र इरानका सम्बन्धित निकायहरूले जारी गरेका सुरक्षासम्बन्धी निर्देशन तथा सूचना कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द: हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् । सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
यी सवारीलाई पर्ने छैन पासको आवश्यक्ता: निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेको छ । आयोगले शनिबार विज्ञप्ति जारी गर्दै आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन (फागुन २१ गते) सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ को दफा ५ को खण्ड ‘त’, दफा ९ र दफा ११ समेतका आधारमा सरकारसँग अनुरोध गरिएको जनाएको हो ।
मध्यरातमा एमाले प्रवेश: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेश कमिटीका एक सदस्य मध्यरातमा एमाले प्रवेश गरेका छन्।रास्वपाको कोशी प्रदेश कमिटीका सदस्य ठगेन्द्र न्यौपानेले सिंगो प्रदेश कमिटी नै एमाले प्रवेश गर्ने चर्चा चलिरहेका बेला एक्लै एमालेमा प्रवेश गरेका हुन् । स्रोतका अनुसार उनी मध्यराततिर आयोजित एक कार्यक्रममार्फत एमालेमा प्रवेश गरेका हुन्।
१४ जनाले दिए सामूहिक राजिनामा: प्रतिनिधि सभा सदस्य उम्मेदवार रहिसकेका प्रणय राणाले राजीनामा दिएपछि काठमाडौं-५ को रास्वपामा पहिरो गएको छ । बेथिति सुधारको साटो उल्टो अनियमितता बढ्दै गएको भन्दै रास्वपाका काठमाडौं ५ का संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाले शुक्रबार सामूहिक राजीनामा दिएका हुन् । उनीहरूले राजीनामा पत्रमा प्रतिनिधि सभा उम्मेदवार छनोटका आवरणमा आर्थिक अनियमितता समेत भएको आरोप नेतृत्वमाथि लगाएका छन् ।
पौने ४१ अर्ब दाबी भुक्तानी: चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म नेपालका बिमा कम्पनीहरूले झन्डै ४१ अर्ब रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको ‘बिमा प्रतिविम्ब’ प्रतिवेदनअनुसार साउनदेखि माघसम्म जीवन र निर्जीवन दुवै क्षेत्रका कम्पनीहरूले कुल ४० अर्ब ७० करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेका हुन् । प्रतिवेदनअनुसार जीवन बिमा कम्पनीहरूले सात महिनामा १ लाख २३ हजारभन्दा बढी दाबी फछ्र्यौट गर्दै २४ अर्ब ८८ करोड ९५ लाख रुपैयाँ भुक्तानी गरेका छन् । गत वर्षको सोही अवधिको तुलनामा दाबी सङ्ख्या १.३१ प्रतिशतले घटेको भए पनि भुक्तानी रकम भने १.२१ प्रतिशतले बढेको देखिएको छ ।

