बाँके - नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पाँच वर्ष देश चलाउने जिम्मा काँग्रेसलाई दिनुपर्ने बताएका छन् । उनले आगामी चुनावपछि काम गरेर देश अघि बढाउनुपर्ने बताए ।
बाँकेको जानकी गाउँपालिका–३ मा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले मतदातालाई घरघरमा गएर रुखमा मतदानका लागि अनुरोध गरेका छन् । बाँकेका मतदातालाई सम्बोधन गर्दै थापाले स्व सुशील कोइरालाले बनाएको संविधानको राजमार्गमा काँग्रेसको गाडी रफ्तारमा दौडाउने उल्लेख गरे ।
सुशासनका लागि आगामी ५ वर्षका लागि काँग्रेसले ‘एक्स्ट्रा अर्डिनरी’ तरिकाले काम गर्नुपर्ने उनको भनाइ थियो । विसं २०४६ पछिका भ्रष्टाचारका मुद्दा छानबिन गर्ने भन्दै सभापति थापाले हिजो गरेका गल्ती सच्याउनुपर्ने र हिजोको फोहर सफा गरिने बताए । पेटमा भोक छ, आँखामा सपना छ अनि सङ्कल्पसहित अघि बढ्ने योजना रहेको उल्लेख गर्दै सभापति थापाले पार्टी एक ढिक्का रहेको र कुनै समस्या नभएको बताए ।

