Harsamaya
निर्वाचन नजिकिँदा देउवा दम्पती विदेशमा
निवर्तमान सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजु राणा देउवा ।

काठमाडौं - प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र शीर्ष नेताहरूको गतिविधि फेरि चर्चामा आएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा स्वास्थ्योपचारका लागि सिंगापुर गएका छन् भने उनकी पत्नी कांग्रेस नेतृ डा. आरजु राणा देउवा भारत भ्रमणमा रहेकी छन्।

देउवा बुधबार राति स्वास्थ्योपचारको फलोअपका लागि सिंगापुर प्रस्थान गरेका हुन्। गत भदौमा भएको आन्दोलनका क्रममा घाइते भएपछि उनी कात्तिकमा पनि उपचारका लागि सिंगापुर गएका थिए र १८ दिनपछि स्वदेश फर्किएका थिए। अहिले पुनः स्वास्थ्य परीक्षणका लागि विदेश गएको उनी निकट स्रोतले जनाएको छ।

यता आरजु राणा विगत पाँच दिनदेखि भारतका विभिन्न धार्मिक स्थलको भ्रमणमा छिन्। भारतको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा दर्शन गरेको उनका तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। स्रोतका अनुसार उनी अझै केही दिन भारतमै रहनेछिन्।

चुनावी माहोल तातिरहेका बेला कांग्रेसका प्रभावशाली नेता विदेशमा रहनुले राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी पनि सुरु भएको छ। विशेषगरी पार्टीभित्रको विवादसँगै देउवा समूह चुनावी अभियानमा सक्रिय नदेखिएको विषयलाई लिएर चर्चा बढेको छ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँमा भएको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। उक्त महाधिवेशनलाई देउवा पक्षले अस्वीकार गरेका छन्। सो विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।

यद्यपि देउवानिकट स्रोतले भने स्वास्थ्योपचारका लागि मात्र विदेश गएको र निर्वाचनअघि नै स्वदेश फर्कने तयारी रहेको जनाएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update