यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ । काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ । काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्याइने छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
निर्वाचन : देशको संघीय राजधानी रहेको जिल्ला काठमाडौँका २५० उम्मेदवारमध्ये आजसम्म २१९ ले बैंक खाता खोलेका छन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरी चुनाव प्रचारप्रसारमा सक्रिय छन् । त्यसमध्ये अहिलेसम्म २१९ जनाले निर्वाचनको खर्च गर्न बैंक खाता खोलेका छन् । यस्तै, नेपाली सेनाले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात् गरी तीन चरणमा सुरक्षा व्यवस्थापनको भरपर्दो प्रबन्ध गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय तथा राष्ट्रपतिबाट स्वीकृति प्राप्त भएपछि निर्वाचन सुरक्षाका लागि परिचालन भएको नेपाली सेनाले विगतमा जस्तै यसपटक पनि सुरक्षा व्यवस्थाको योजना बनाएको छ । यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमनका लागि कम्तीमा दुई दिनअघि अनुमति लिई पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ मा निर्वाचनका दिन कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय हवाइ उडान नरोकिने भएकाले पर्यटकका सवारी साधन सञ्चालनका लागि अनुमतिको व्यवस्था गरिएको हो । यता, फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रामेछाप जिल्लालाई ‘हाइ अलर्ट’मा राखिएको छ । जिल्लाका ९६ मतदान स्थलमध्ये ४१ वटा अति संवेदनशील सूचीमा परेपछि सुरक्षा संयन्त्रले संयुक्त रणनीति लागू गरेको जनाएको छ । दुई नगरपालिका र ६ गाउँपालिका गरी ६४ वडा रहेको एकमात्र निर्वाचन क्षेत्र रामेछापमा कुल ९६ मतदान स्थल र २ सय २८ मतदान केन्द्र रहेका छन् ।
राजनीति : पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ७ भोटेनाम्लाङमा आयोजित कोणसभामा विभिन्न पार्टी परित्याग गरी एक दर्जनभन्दा बढी व्यक्तिहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसमा प्रवेश गर्नेहरू यसअघि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध रहेका थिए । उनीहरूले ती पार्टीहरू परित्याग गरी कांग्रेसको नीति, विचार र विकासप्रतिको प्रतिबद्धताप्रति विश्वास व्यक्त गर्दै प्रवेश गरेको बताएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको शासन व्यवस्थामा नै समस्या रहेकाले व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । पोखरामा आज राप्रपाको चुनावी कोणसभामा उनले अहिलेकै व्यवस्था कायम राखेर देश विकास नहुने भएकाले राप्रपाले विकल्प खोजेको उल्लेख गरे । यस्तै, विभिन्न माग राखी आमरण अनशनरत घाइते जेनजी युवाहरुको अनशन गृहमन्त्री ओमप्रकाश अर्यालले तोडाएका छन् । माइतीघर मण्डलामा विभिन्न माग राखी विजय अधिकारीको संयोजकत्वमा पाँच दिनदेखि अनशनरत लोकराज उपाध्याय, स्मृति राई र अशोक घोरासैनीलाई आज साँझ जुस पिलाएर गृहमन्त्री अर्यालले अनशन तोडाएका हुन् । यता, नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज वाम बुद्धिजीवीसँगको छलफलमा उनले ६५ देखि ७० सिटसम्म प्रत्यक्षमै निर्वाचित हुने एक अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको बताएका हुन् ।
समाचार : प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक जना स्वीडिस नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर एए ३८४६४९१ की ५१ वर्षीया स्वीडिस नागरिक कुन्चोक खान्ड्रो रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुन्डीराज नेउपानेले जानकारी दिए । यस्तै, पछिल्लो समय थाइल्याण्ड, लाओस, म्यान्मा र कम्बोडियाका सीमा क्षेत्रमा सञ्चालन हुने अनलाइन ठगी (स्क्यामिङ) केन्द्रहरूमा नेपाली नागरिक बन्धक बनाइने घटना बढ्दै गएको छ। आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई त्यस्ता केन्द्रहरूमा लैजाने गरिएको पाइएको छ।परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२२ देखि हालसम्म थाइल्याण्ड र म्यान्मामा रहेका नेपाली दूतावासले स्थानीय सरकारको सहयोगमा विभिन्न मितिमा गरी ३९२ नेपाली नागरिकलाई उद्धार गरेका छन्। हाल ३०९ नेपाली नागरिक उद्धार प्रक्रियामा रहेका छन्। यता, पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक पुष्कर बोगटीका अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना४३प २२१ नम्बरको मोटरसाइकलाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक मकवानपुर राक्सिराङ गाउँपालिका– १ का २२ बर्षीय सन्जित स्याङतान र त्यसमा सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको हो ।
अर्थ : धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा विमानस्थल निर्माण गर्ने भन्दै दुई वर्षदेखि रोक्का गरिएको जग्गा फुकुवा गरिएको छ । धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २०८० भदौ ११ गते विमानस्थल निर्माण गर्ने भन्दै सो क्षेत्रको जग्गा बिक्री वितरण सिफारिस रोक्ने निर्णय गरेका थिए । उक्त निर्णयका कारण धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा करिब एक हजार बढी घरपरिवारको जग्गा रोक्का गरिएको थियो । यता, निर्माणाधीन ‘एसियन हाइवे’को काँकडभिट्टा–लौकही सडकखण्ड अन्तर्गत विभिन्न स्थानमा आठ किलोमिटर सडकमा पहिलो तहको कालोपत्र गरिएको छ । काँकडभिट्टादेखि केरखासम्मको ४५ किलोमिटर क्षेत्रमा सडकको दुवैतर्फ कालोपत्र भइरहेको काँकडभिट्टा–लौकही सडक योजना कार्यालयले जनाएको छ । पूर्वी खण्ड दमक कार्यालयका आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार हालसम्म चार हजार ५९५ मिटर सडक कालोपत्र भइसकेको छ । यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १० दशमलव ३० अंकले बढेर दुई हजार ६४८ दशमलव ९० विन्दुमा कायम भएको छ । आज ३३३ कम्पनीको एक करोड चार लाख ५६ हजार ९८० कित्ता शेयर ४८ हजार ६४० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० बराबरको कारोबार भएको छ । यता, सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीलाई जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले लिएको ऋण तत्काल तिर्न अनुरोध गरेको छ । बनेपा–७ स्थित मुकुल बचत तथा ऋण सहकारी संस्था र बनेपा–१० को पशुपति बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिएर नतिर्ने तथा सम्पर्कमा नआउने ऋणीलाई कारबाहीको दायरामा ल्याउने प्रशासनले चेतावनी दिएको हो ।
खेलकुद : एन्फा पुरुष राष्ट्रिय लिग फुटबल प्रतियोगितामा भगवती क्लब र सातदोबाटो युवा क्लबबीचको खेल बराबरिमा सकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । बराबरीसँगै दुवै टोलीले समान एक/एक अंक बाँडेका छन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् । यता, संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता र सामाजिक सद्भाव सुदृढ गर्ने उद्देश्यले दोस्रो जीसीडी कप आगामी शनिबार फेब्रुअरी २८ देखि दुबईको अल क्वोजस्थित डुल्स्को स्पोट्र्स कम्प्लेक्समा सुरु हुँदैछ । प्रतियोगिता यूएईमा नेपाली समुदायबीच हुँदै आएका फुटबल प्रतियोगितामध्ये सर्वाधिक पुरस्कार राशियुक्त रहेको छ । आयोजकका अनुसार विजेता टोलीले १० हजार दिराम (करिब चार लाख नेपाली रुपैयाँ) नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ५ हजार दिराम हात पार्नेछन् ।
विश्व : संयुक्त राज्य अमेरिकाको मिसौरी राज्यको काउन्टीमा भएको गोली हानाहानमा दुई जना प्रहरी अधिकारीको मृत्यु भएको जनाइएको छ । क्रिश्चियन काउन्टी शेरिफ ब्राड कोलले विज्ञप्ति मार्फत घटना दक्षिण–पश्चिम मिसौरीको हाइल्याण्ड भिलको दक्षिणमा भएको जनाएको छ । संदिग्धलाई रिड्स स्प्रिङ सहर नजिकै फेला परेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ । यता, गत हप्ता ग्रीसको क्रेट टापुमा आप्रवासीहरूलाई बोकेको एक डुङ्गा दुर्घटनामा वेपत्ता भएका आफ्ना १८ नागरिक अझै हराइरहेका इजिप्टले बुधबार जानकारी गराएको छ। काठको उक्त डुङ्गामा चार नाबालकसहित ५० जना सवार थिए । यस्तै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी रणनीतिक, व्यापारिक र रक्षा सहकार्यलाई अझ सुदृढ बनाउने लक्ष्यसहित बुधबार दुई दिने भ्रमणका लागि इजरायल पुगेका छन् । मध्यपूर्वमा बदलिँदो भूराजनीतिक सन्तुलनबीच उनको यो भ्रमणलाई द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने प्रयासका रूपमा हेरिएको छ ।


