प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएकी छिन् । उनले आज साँझ सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर जानकारी लिएकी हुन् ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
निर्वाचन : आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । आवश्यक निर्वाचन सामग्रीहरू जिल्लाहरूमा पुर्याइसकिएको छ भने सुरक्षाका लागि १५ हजारभन्दा बढी सुरक्षा व्यवस्था कडाइ गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राम प्रकाश शाहले १० वटै जिल्लामा निर्वाचन सामग्री पुगिसकेको बताए । यता, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रचारप्रसारका क्रममा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको कार्यक्रम अवरोध नगर्न सबैलाई आग्रह गरेको छ। आयोगका अनुसार फागुन २१ गते हुने निर्वाचनको प्रचारप्रसारमा अवरोध भएको गुनासो र उजुरी प्राप्त भएकाले यस्तो आह्वान गरिएको हो। आयोगले चुनावी गतिविधिको विभिन्न माध्यमबाट अनुगमन गरिरहेको जनाएको छ। यस्तै, आसन्न प्रतिनिधिसभा निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ । चितवनका तीन निर्वाचन क्षेत्रमा रहेका ४९४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आजदेखि अभिमुखीकरण सुरु गरिएको हो ।
राजनीति : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टी देशलाई सम्हाल्ने सोच र योजनासहित चुनावमा आएको बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं ४ को बलरा नगरपालिकास्थित मिर्जापुरमा आज आयोजित चुनावी कार्यक्रममा उहाँले पुराना अनुभवलाई प्रयोग गरेर देशलाई जनअपेक्षाअनुसार सुधार गरेर अगाडि बढाउने बताए । यता, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्माण व्यवसायीहरुलाई विज्ञप्ति निकालेर बस्न भन्दापनि रातारात कसरी विकास निर्माण गर्ने भन्नेतिर लाग्न सुझाव दिएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै उनले रास्वपाले आफ्नो कुरा गर्दैगर्दा निर्माण व्यवसायीहरु आत्तिएको प्रतिक्रिया दिए । यस्तै, नेकपा एमालेले सरकारले चुनाव नजिकिँदै गलर्दा तराई–मधेशका विभिन्न जिल्लामा कर्फ्यू र निषेधाज्ञा जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताएको छ । प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जनताको शान्ति सुरक्षाका नाममा कर्फ्यू,निषेधाज्ञा जारी गर्नु सुरक्षा व्यवस्थापनको कमजोरी भएको औंल्याए । यता, बंशलाल तामाङले पाँचपोखरी क्षेत्रको विकट भूभागलाई सुगम र सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार तामाङले दुर्गम बस्तीमा सडक, धार्मिक तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने बताएका हुन्।
समाचार : गोरखामा पोथी चितुवा मृत अवस्थामा फेला परेको छ । गोरखा नगरपालिका–४ फिनामस्थित हिलेखर्कमा आज चितुवा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए । स्थानीयले सोमबार राति चितुवा–चितुवाबीच झगडा परेको जस्तो आवाज सुनेको बताएकाले भाले चितुवासँग झगडा पर्ने क्रममा पोथी चितुवाको मृत्यु भएको हुनसक्ने अनुमान रहेको उनले बताए । यता, पश्चिमी न्यून चापीय प्रणालीका कारण आज मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ । काठमाडौँको जरसिंहपौवासहित, नुवाकोटको ककनीलगायत विभिन्न क्षेत्रमा असिना परेको छ । यस्तै, सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेललाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ।न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै कट्टेललाई गैरकानुनी रूपमा थुनामा राखिएको ठहर गरेको हो। यता, जुम्लाको तिला गाउँपालिकामा लगाइएको ताला खुलेको छ । वडा कार्यालयको भवन निर्माणमा गाउँपालिकाले पायक पर्ने ठाउँभन्दा फरक ठाउँमा ठेक्का आह्वान गरेको भन्दै उक्त गाउँपालिका–६ स्थित रिपि र सुढी गाउँका स्थानीयवासीले तालाबन्दी गरेका थिए । यता, यसैगरी सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भने थप अनुसन्धान गर्नुपर्ने भन्दै हिरासतमै राख्ने आदेश भएको छ । मेडिकल व्यवसायी प्रसाईंले निर्वाचन बिथोल्ने प्रयासमा संलग्न भएको आशङ्कामा प्रहरीले यही फागुन ४ गते पक्राउ गरेको थियो । यस्तै, भारत हिमांचल प्रदेशको कोताखाई भन्ने स्थानमा चार वर्षदेखि बन्धक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ । उनी रुकुम पश्चिमकी स्थायी बासिन्दा हुन् ।
अर्थ : चालु आर्थिक वर्ष २०८२/८३ का लागि तय गरिएको मौद्रिक नीतिको कार्यान्वयन सन्तोषजनक देखिएको छ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रणमा रहनुका साथै विदेशी विनिमय सञ्चिति लक्ष्यभन्दा धेरै उच्चस्तरमा रहेको जनाएको छ । यता, मन्त्रिपरिषद्को आजको बैठकले न्याय परिषद्को सिफारिसबमोजिम डा दिवाकर भट्टलाई उपभोक्ता अदालतको अध्यक्षमा नियुक्ति गरेको छ । गृहमन्त्री एवं सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार काठमाडौँ जिल्ला न्यायाधीश भट्टलाई सो अदालतको अध्यक्षमा नियुक्त गरिएको हो । यस्तै, तनहुँको आँबुखैरेनीमा रहेको मस्याङदी जलविद्युत् केन्द्रको बाँध, सुरुङ, पावरहाउसलगायतका संरचना मर्मतसम्भार कार्य धमाधम भइरहेको छ । उनान्सत्तरी मेगावाट क्षमताको सो जलविद्युत् केन्द्रबाट अहिले विद्युत् उत्पादन ठप्प भएको सो केन्द्रले जनाएको छ । यता, साताको तेस्रो कारोबार दिन मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) परिसूचक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार सामान्य अंकले बढेको बजारले मंगलबार पनि सोही लयलाई निरन्तरता दिएको हो ।
खेलकुद : राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि प्राप्त सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै अब सहयोग रकम रोक्न आग्रह गरेकी छन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले पछिल्लो २४ घण्टामा आफूले पाएको साथ, विश्वास र मायाले आफूलाई थप बलियो बनाएको उल्लेख गरिन् । आर्थिक सहयोग मात्र नभई अन्य साथ र समर्थनले आफूलाई शल्यक्रिया तथा पुनस्र्थापनाका लागि ऊर्जा दिएको उनको भनाइ छ । यता, महिलाहरूको स्वास्थ्य, ‘फिटनेस’ तथा आत्मसचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित यही फागुन ३० गते ‘काठमाडौँ पिंक केयरएथन’ आयोजना हुने भएको छ । महिलालाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने लक्ष्यसहित सञ्चालन हुने उक्त दौड प्रतियोगितामा जुनसुकै उमेर समूहका महिलाले सहभागिता जनाउन सक्ने आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले जानकारी दिए ।
विश्व: ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा भारी वर्षाका कारण कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य बेपत्ता हुनुका साथै ४०० भन्दा बढी विस्थापित भएका मिनास गेराइस राज्यका अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।जुइज डे फोरा नगर प्रमुखको कार्यालयले हताहत हुनेको सङ्ख्या उल्लेख नगरिकन सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार बाढी, पहिरो र नदीको बहाव बढेपछि केही व्यक्ति हताहत भएको जनाएको छ । यस्तै, सुरक्षा खतराको आशंकापछि निवासबाट बाहिर निकालिएका अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज तीन घण्टापछि पुनः आफ्नो सरकारी निवास द लजमा फर्किएका छन् । अष्ट्रेलियाली संघीय प्रहरी (एएफपी)ले साँझ ६ बजे ‘कथित सुरक्षा घटना’बारे प्रतिक्रिया जनाउँदै प्रधानमन्त्री निवासमा गहन खानतलासी गरिएको जनाएको छ। यता, पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको मङ्गलबार इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (पिम्स) मा आँखाको उपचार गरिएको अस्पतालले जनाएको छ । उनलाई आँखा इन्जेक्सनको दोस्रो मात्रा दिन लगिएको र स्वास्थ्य अवस्था चिकित्सकीय रूपमा स्थिर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस्तै, भारतको झारखण्ड स्थिति सिमरिया नजिक एयर एम्बुलेन्स दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार रेडबर्ड एयरवेजको एयर एम्बुलेन्स दुर्घटना भएको सशस्त्र सीमा बलका दोस्रो कमाण्डर रमेश कुमारले एएनआईलाई जानकारी दिएका हुन् ।

