Harsamaya
अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं – पछिल्लो समय थाइल्याण्ड, लाओस, म्यान्मा र कम्बोडियाका सीमा क्षेत्रमा सञ्चालन हुने अनलाइन ठगी (स्क्यामिङ) केन्द्रहरूमा नेपाली नागरिक बन्धक बनाइने घटना बढ्दै गएको छ। आकर्षक तलब र रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई त्यस्ता केन्द्रहरूमा लैजाने गरिएको पाइएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार सन् २०२२ देखि हालसम्म थाइल्याण्ड र म्यान्मामा रहेका नेपाली दूतावासले स्थानीय सरकारको सहयोगमा विभिन्न मितिमा गरी ३९२ नेपाली नागरिकलाई उद्धार गरेका छन्। हाल ३०९ नेपाली नागरिक उद्धार प्रक्रियामा रहेका छन्।

म्यान्मामा गैरकानुनी रूपमा प्रवेश गरेको आरोपमा अदालतले १८ जना नेपालीलाई एक वर्ष कैद सजाय सुनाएको छ। यस विषयमा याङ्गुनस्थित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले म्यान्माका सरकारी पदाधिकारीहरूसँग छलफल गरेका छन्।

मन्त्रालयका अनुसार ती स्क्यामिङ केन्द्रहरूमा हजारौँ नेपाली हुन सक्ने अनुमान गरिएको छ। त्यहाँ पुगेका व्यक्तिहरूलाई सुरक्षा गार्ड, अनलाइन डेटिङ, अनलाइन क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगी जस्ता गतिविधिमा जबर्जस्ती संलग्न गराइने गरेको पाइएको छ।

लक्ष्य पूरा गर्न नसक्दा उनीहरूलाई झुटो आरोप लगाएर आर्थिक र शारीरिक शोषण गर्ने, राहदानी खोस्ने, हिँडडुलमा प्रतिबन्ध लगाउने, ठूलो रकम मागेर बन्धक बनाउने तथा मानसिक यातना दिने घटनासमेत देखिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताएका छन्।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  २१:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update