Harsamaya
फागुन ११: दुर्घटनामा २० जनाको मृत्युदेखि वीरगन्जमा कर्फ्यू हट्यो निषेधाज्ञा कायमैसम्म
ग्राफिक्स: हर समय/Har Samaya

काठमाडौं - देशरभ भएको सावारी दुर्घटनामा २० जनाको मृत्यु भएको छ भने ४८ जना घाइते भएका छन् । धादिङ,दाङ, उदयपुर र धनुषामा भएको सवारी दुर्घटनामा २० जनाको मृत्यु भएको हो । 

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति : नेपाली कांग्रेसका वरिष्ठ नेता एवं मोरंङ क्षेत्र न. ६ का प्रतिनिधि सभाका उमेदवार डा. शेखर कोइरालाले कांग्रेसले जिते मात्रै धर्म संस्कृति जोगिने बताएका छन् । कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचे मात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताए । यता,  राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ललितपुरकी महालक्ष्मी नगर कमिटी उपाध्यक्ष पुजा वस्नेत विश्वकर्माले भक्तपुर क्षेत्र नम्बर २ नेपाली काङ्ग्रेसका उम्मेदवार कविर राणालाई जिताउने उद्घोष गरेकी छिन् । सोमबार बालकोटमा आयोजना गरिएको चुनावी सभामा पुगेकी विश्वकर्माले रास्वपाभित्र अवसरवादीहरुको हाबी भएको भन्दै राणालाई विजयी गराउन आब्हान पनि गरिन् । यस्तै नेपाली कांग्रेस भक्तपुर–२ का उम्मेदवार कविर राणाले आसन्न निर्वाचनलाई बालकोटको प्रतिष्ठासँग जोड्दै मतदातासँग समर्थनको अपिल गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्दै राणाले आफू व्यक्तिगत रूपमा मात्र नभई समग्र बालकोट क्षेत्रको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएको बताए । यता, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी देशको विकास हुन नसक्ने बताएका छन् । देश गफले नभई कामले बन्ने अध्यक्ष साम्पाङ भनाइ छ । यहाँको हतुवागढी र आमचोक गाउँपालिकामा आज भएको चुनावी सभा तथा भेटघाटका क्रममा अध्यक्ष साम्पाङले अन्य पार्टीहरुले काम गर्ने क्षमता नदेखाएको बताए । 

समाचार : गृहमन्त्री ओमप्रकाश अर्याल धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगेका छन् । गृहमन्त्री अर्यालले सोमबार अपरान्ह कलंकीस्थति नेपाल नेशनल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत घाइतेलाई भेटी स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो, भने २५ जना घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर अहिले कलंकीस्थति नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङ्गस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यता,  आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ ।   यता, सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सक्कल फाइल झिकाउने आदेश गरेको छ ।  न्यायाधीशद्वय डा नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले आज महान्यायाधिवक्ताको कार्यालयबाट फाइल झिकाउन आदेश दिएको हो । यस्तै, पर्साको वीरगन्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यू आदेश प्रशासनले हटाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले शान्ति सुरक्षाको अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै आज (सोमबार) साँझ ४:३० बजेदेखि कर्फ्यू हटाउने निर्णय गरेको हो ।

अपराध : सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा आएकी र तुल्सा कलेक्सन की सञ्चालक तुल्सी अधिकारी अहिले ठगीसम्बन्धी गम्भीर अनुसन्धानमा तानिएकी छन्। प्रहरीका अनुसार अधिकारीमाथि ठगी, आपराधिक विश्वासघात, जबर्जस्ती (एक्सटर्सन) तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। यता, रौतहटको गौर नगरपालिका–६ सबगढामा सद्भाव भड्काउने अभियोगमा २२ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।  गत बिहीबार एउटा विवाहमा भएको दुई समुदायबीचको विवादमा सद्भाव भड्काउने गरी भएको तोडफोडमा संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरी आपराधिक उपद्रोह तथा आगजनी कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको हो । यस्तै, जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा भएको आगजनी प्रकरणमा अभिव्यक्ति दिएका युवकविरुद्ध मुद्दा नचलाउने निर्णय भएपछि कानुनी प्रक्रिया, प्रमाण संकलन र राज्यको जवाफदेहिताबारे बहस सुरु भएको छ। चितवन खैरहनी–९ घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतमलाई प्रहरीले आपराधिक उपद्रव कसुरमा अनुसन्धानका लागि पक्राउ गरेको थियो। तर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पर्याप्त प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेपछि विवाद बढेको हो।

अर्थ : साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य सुधारसहित बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको बजार यस दिन भने २.४१ अंकले बढेर २६१६.९७ विन्दुमा पुगेको हो। यता, नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ हजार २ सय रुपैयाँले बढेर ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघको आगामी नयाँ कार्यसमितिका लागि उम्मेद्वारी घोषणा गर्नेक्रम सुरु भएको छ । महासंघको ६० औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलबाट उम्मेदवारी घोषणा सुरु भएको हो । यता, नेपाल निर्माण व्यवसायी महासंघले स्रोत सुनिश्चित नहुँदा देशभर ३० हजारभन्दा बढी आयोजना अलपत्र परेको जनाएको छ। महासंघले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा आर्थिक वर्ष २०७३/७४ पछि करिब १९ खर्ब बराबरका झन्डै एक लाख आयोजना बनाउने निर्णय भए पनि सरकारको अव्यवहारिक नीतिनियम र विभिन्न समस्याका कारण ठूलो सङ्ख्यामा आयोजना रोकिएको जानकारी दिएको हो।

खेलकुद : नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गम्भीर चोटको उपचारका लागि अपेक्षित सहयोग नपाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा)प्रति असन्तुष्टि व्यक्त गरेकी छन्। अस्ट्रेलियामा भइरहेको निन्जा ए-लिग खेल्ने क्रममा घाइते भएकी साम्बाले उपचारका लागि समर्थकसँग सहयोगको अपिलसमेत गरेकी हुन्। न्युजिल्यान्डको क्लब वेलिङ्टन फोनिक्सबाट खेलिरहेकी स्ट्राइकर साम्बा गत पुस तेस्रो साता ब्रिस्बेन रोअरविरुद्धको खेलमा विपक्षी गोलकिपरसँग ठोक्किँदा घाइते भएकी थिइन्। यता काठमाडौँ मेडिकल कलेज (केएमसी)ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को निःशुल्क उपचार गर्ने घोषणा गरेको छ। घुँडाको गम्भीर चोटका कारण पछिल्लो सात हप्तादेखि मैदानबाहिर रहेकी साम्बाले सामाजिक सञ्जालमार्फत उपचारका लागि सहयोग मागेपछि केएमसीले यस्तो निर्णय गरेको हो। 

विश्व : भारत सरकारले इरानमा बढ्दो तनावबीच आफ्ना नागरिकलाई तत्काल बाहिरिन औपचारिक सल्लाह दिएको छ। तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशंकापछि विदेश मन्त्रालयले सतर्कता अपनाउन र उपलब्ध उडानमार्फत स्वदेश फर्किन आग्रह गरेको हो। यस्तै, अफगानिस्तानका नङ्गरहार, पक्तिका र खोस्त प्रान्तका सात स्थानमा पाकिस्तानले गरेको हवाई आक्रमणमा ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको बताइएको छ। यता, अमेरिकी आक्रमणपछि अमेरिकी नियन्त्रणमा रहनुभएका भेनेजुयलाका पूर्वराष्ट्रपति निकोलस मदुरोलाई तत्काल रिहा गर्न विदेशमन्त्री यभान गिल पिन्टोले सोमबार माग गरेका छन् । जेनेभामा संयुक्त राष्ट्र मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै गिलले भेनेजुएलाका तत्कालिन संवैधानिक राष्ट्रपति निकोलस मदुरो मोरोस र उहाँकी पत्नी सिलिया फ्लोरेसलाई संयुक्त राज्य अमेरिका सरकारले तत्काल रिहा गर्न माग गरेका हुन् ।  

प्रकाशित मिति: सोमबार, फागुन ११, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update