सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जेनजी आन्दोलनका क्रममा छुट भएका घाइतेको विवरण उपचारमा संलग्न सबै स्वास्थ्य संस्थालाई तत्काल स्वास्थ्य मन्त्रालयमा उपलब्ध गराउन निर्देशन दिइएको बताए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
निर्वाचन : निर्वाचन आयोग, नेपालले स्थानीय कार्यपालिकाका पदाधिकारीलाई निर्वाचन आचारसंहिता विपरीत हुने गरी चुनाव प्रचार–प्रसारमा सहभागी नहुन चेतावनी दिएको छ। आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता, २०८२ लागू गरिएको र यसको पूर्ण पालना गर्न सबै पक्षलाई निर्देशन दिएको जनाएको छ। यता, निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ। यस निर्णयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अब घण्टी बजाउँदै मत माग्न नपाउने भएका छन्। यसअघि रास्वपाका उम्मेदवारहरू चुनाव चिह्नका रूपमा रहेको घण्टी बजाउँदै प्रचारमा सहभागी हुँदै आएका थिए।
राजनीति : नेपाली कांग्रेसले भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार पार्टी कार्यालय सानेपमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले अझै पनि निर्वाचन बिथोल्ने प्रयास भइरहेको भन्दै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराएका हुन् । यता, हेलम्बु गाउँपालिका मा नेकपा एमालेभित्र पहिरो गएको छ। गाउँपालिकाको वडा नम्बर ६ र ७ का एमालेमा आस्थावान १८ जना भन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रतिनिधि सभा क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार बंशलाल तामाङको सक्रियता र बढ्दो लोकप्रियताका कारण आफूहरू एमाले परित्याग गरी कांग्रेस रोजेको नवप्रवेशीहरूले बताएका छन्। यस्तै, उपेन्द्र यादवले मुलुकमा संघीय प्रणालीको रक्षा मधेशको बलियो उपस्थिति र खबरदारीमा निर्भर रहेको बताएका छन् । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष यादवले सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित पथरगाडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै संघीयताको जननी नै मधेश प्रदेश भएको उल्लेख गरे । यता, नेकपा एमालेले आफ्ना सङ्गठित सदस्यलाई प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गर्दै जनतासँग प्रत्यक्ष भेटघाट गर्न निर्देशन दिएको छ। निर्वाचन नजिकिँदै गर्दा चुनावी अभियानलाई प्रभावकारी बनाउन पार्टीले करिब ६ लाख ६२ हजार सङ्गठित सदस्यलाई घरदैलो अभियानमार्फत मतदातासँग प्रत्यक्ष संवाद गर्न आग्रह गरेको हो। यस्तै, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्ट एकता एमालेसहितको बृहत् एकतामा पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले रमेश महर्जन (कीर्तिपुर नगरपालिकाका पूर्व प्रमुख) र वडा नं ६ का पूर्ववडाअध्यक्ष नुच्छे महर्जनलाई नेकपामा स्वागत गरे ।
समाचार : काठमाडौंको तारकेश्वर नगरपालिका–१० मनमैजुस्थित घरभित्र पसेको चितुवाको उद्धार गरिएको छ । काठमाडौँ डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको प्रहरीले जनाएको छ । आज अपराह्न मनमैजु मन्दिर नजिकै घरमा पसेर दुई जनालाई घाइते बनाएको चितुवाको उद्धार गरिएको थियो । यस्तै, बरण्डाभार वन क्षेत्र डढेलोको उच्च जोखिममा परेको छ। डिभिजन वन कार्यालय चितवनका अनुसार गर्मी बढेसँगै जोखिम बढेको छ। फागुनदेखि जेठसम्म वन डढेलोको जोखिम बढी रहन्छ । यता, धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ मिटर कायम गर्ने निर्णय गरेको छ । नगरसभाको आज बसेको बैठकले जग्गा ‘प्लटिङ’ सम्बन्धी यसअघिको कार्यविधि संशोधन गर्दै सडक क्षेत्राधिकार आठ मिटर कायम गर्ने प्रस्ताव पारित गरेको हो ।
खेलकुद : आयोजक काष्ठमण्डपको ‘ए’ र ‘बी’ टोली काष्ठमण्डप छात्र फुटसल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । काष्ठमण्डप ‘ए’ समूह ‘ए’ को उपविजेता तथा काष्ठमण्डप ‘बी’ समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । यस्तै, नेपाली राष्ट्रिय टोलीका लेगस्पीनर सन्दीप लामिछानेले इंग्ल्यान्डमा हुने प्रतिष्ठित क्रिकेट प्रतियोगिता ‘द हन्ड्रेड’ क्रिकेटको अक्सनका लागि आफ्नो नाम दर्ता गराएका छन् । प्रतियोगिता आयोजकले सार्वजनिक गरेको सूचीअनुसार सन्दीपले विदेशी खेलाडी (अन्य) क्याटेगोरीमा ३१ हजार पाउन्ड बेस मूल्यमा नाम दर्ता गराएका हुन् ।
विश्व : हङ्गेरीले युरोपेली संघ (इयू) ले रूसविरुद्ध प्रस्ताव गरेको पछिल्लो प्रतिबन्धको प्याकेज रोक्ने चेतावनी दिएको छ। हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले आइतबार सामाजिक सञ्जाल एक्समार्फत युक्रेनले हङ्गेरीतर्फ पेट्रोलियम आपूर्ति गर्ने प्रमुख पाइपलाइन पुनः सञ्चालन नगरेसम्म इयूको नयाँ प्रतिबन्धलाई समर्थन नगर्ने बताए । यस्तै, चीनको परम्परागत स्प्रिङ फेस्टिभल (चन्द्र नववर्ष) यात्राको चाप बढेसँगै ‘एयर ट्याक्सी’ सेवाको माग उल्लेख्य रूपमा बढेको छ । विशेषगरी साङघाइ र वरपरका तटीय गन्तव्यबीच हेलिकोप्टरमार्फत हुने छोटो दूरीका उडानहरू लोकप्रिय बन्दै गएका छन् । यता, इजरायलले पूर्वी लेबनानमा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै करिब ५० जना घाइते भएका छन् । लेबनानी अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इजरायल ले जनाएको छ कि आक्रमण इजरायली रक्षा बलले हिजबुल्लाहका कमाण्ड केन्द्रलाई लक्षित गरी गरेको हो ।



