काठमाडौं - सामाजिक सञ्जाल टिकटकमार्फत चर्चामा आएकी र तुल्सा कलेक्सन की सञ्चालक तुल्सी अधिकारी अहिले ठगीसम्बन्धी गम्भीर अनुसन्धानमा तानिएकी छन्।
प्रहरीका अनुसार अधिकारीमाथि ठगी, आपराधिक विश्वासघात, जबर्जस्ती (एक्सटर्सन) तथा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले यस विषयमा भ्रामक सूचना नफैलाउन पनि सार्वजनिक रूपमा अनुरोध गरेको छ।
प्रहरी वृत्त सातदोबाटोमा परेको उजुरीका आधारमा सुरु भएको अनुसन्धानमा अधिकारीले ४ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप लगाइएको छ। बैंक खातामा असामान्य आर्थिक कारोबार देखिएपछि प्रहरीले सम्पत्ति शुद्धीकरणको कोणबाट पनि अनुसन्धान अघि बढाएको जनाएको छ।
उजुरी सातदोबाटोस्थित एक व्यवसायीले दिएको बताइएको छ। प्रारम्भिक विवरणअनुसार अधिकारी हाल विदेश (चीन) मा रहेको र त्यहीँबाट सामाजिक सञ्जाल प्रयोग गरी गतिविधि गरिरहेको भन्ने दाबी समेत सार्वजनिक भएको छ।
प्रहरीले अनुसन्धान जारी रहेकाले यसबारे अन्तिम निष्कर्ष अदालत प्रक्रियापछि मात्र स्पष्ट हुने जनाएको छ। साथै अनुसन्धानलाई प्रभावित पार्ने खालका सूचना वा सामग्री सार्वजनिक नगर्न पनि आग्रह गरिएको छ।

