एजेन्सी - भारत सरकारले इरानमा बढ्दो तनावबीच आफ्ना नागरिकलाई तत्काल बाहिरिन औपचारिक सल्लाह दिएको छ। तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशंकापछि विदेश मन्त्रालयले सतर्कता अपनाउन र उपलब्ध उडानमार्फत स्वदेश फर्किन आग्रह गरेको हो।
तेहरानस्थित भारतीय दूतावासले सामाजिक सञ्जालमार्फत जारी सूचनामा इरानमा विकसित अवस्थालाई ध्यानमा राख्दै त्यहाँ रहेका भारतीय नागरिकलाई व्यापारिक उडानसहित उपलब्ध यातायातका माध्यम प्रयोग गरी देश छोड्न सुझाव दिएको जनाएको छ। साथै विरोध–प्रदर्शन हुने क्षेत्रबाट टाढा रहन, दूतावाससँग सम्पर्कमा रहन र स्थानीय सञ्चारमाध्यमबाट अद्यावधिक जानकारी लिन पनि आग्रह गरिएको छ।
भारतीय विदेश मन्त्रालयका अनुसार इरानमा सामान्यतया करिब १० हजार भारतीय नागरिक बसोबास गर्दै आएका छन्। वर्तमान अस्थिर अवस्थाले उनीहरूको सुरक्षालाई प्राथमिकता दिनुपर्ने अवस्था सिर्जना भएको सरकारी धारणा छ।

