Harsamaya
रास्वपाले घण्टी बजाउँदै भोट माग्न नपाउने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ।

काठमाडौं - निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसारका क्रममा निर्वाचन चिन्हको भौतिक स्वरूप प्रयोग नगर्न राजनीतिक दल तथा उम्मेदवारलाई निर्देशन दिएको छ।

यस निर्णयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अब घण्टी बजाउँदै मत माग्न नपाउने भएका छन्। यसअघि रास्वपाका उम्मेदवारहरू चुनाव चिह्नका रूपमा रहेको घण्टी बजाउँदै प्रचारमा सहभागी हुँदै आएका थिए।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार केही राजनीतिक दल वा उम्मेदवारले निर्वाचन चिन्हको प्रचार गर्दा भौतिक स्वरूपका सामग्री बोकेर प्रयोग गर्ने र त्यसले जनसमुदायको शान्तिमा प्रतिकूल असर परेको भन्ने सूचना तथा गुनासो प्राप्त भएपछि यस्तो आग्रह गरिएको हो।

आयोगले निर्वाचन आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्न सबै दल तथा उम्मेदवारलाई आग्रह गरेको छ।

यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ।

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update