Harsamaya
आईसीसी टी–२० विश्वकप : आज सुपर - ८को पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दै
पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दै ।

काठमाडौं - आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज सुपर–८ का दुई खेल हुँदै छन्। आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड भिड्दै छन् । इंग्ल्यान्ड समूह ‘सी’बाट तीन जित र एक हारको सामना गर्दै सुपर आठ पुगेको हो भने श्रीलंका समूह ‘बी’बाट तीन जित र एक हारसहित सुपर आठमा पुगेको हो ।

दुवै टिम समूह उपविजेता हुन्। यो खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुँदै छ। विश्वकपमा शनिवारबाट सुपर–८ का खेल सुरु भएका हुन् । पहिलो खेल वर्षाले अवरुद्ध हुँदा न्युजिल्याण्ड र पाकिस्तानले अङ्क बाँडेका छन्। २० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।

सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् । दोस्रो खेलमा आइतबार साबिक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबिच प्रतिस्पर्धा हुँदै छ । भारतमा हुने यो भिडन्त साँझ ७ बजेर १५ मिनेटमा सुरु हुँदै छ । भारत समूह ‘ए’को विजेता हो भने दक्षिण अफ्रिका समूह ‘डी’को विजेता हो । यो विश्वकपको समूह चरणमा दुवै टिम अपराजित छन्।

 

 

प्रकाशित मिति: आइतबार, फागुन १०, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update