रौतहट - जिल्ला प्रशासन कार्यालय रौतहटले गौर नगरपालिकाका विभिन्न क्षेत्रमा आज पनि कर्फ्यु आदेश जारी गरेको छ ।अत्यावश्यक कार्यका लागि भने बिहान साढे ६ बजेदेखि साढे ८ बजेसम्म भने कर्फ्यु केही खुकुलो पारिएको छ । साढे ८ बजेपछि भने फेरि अर्को आदेश जारी नभएसम्म पुन: कर्फ्यु जारी रहने छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कर्फ्यु आदेशलाई निरन्तरता दिएका हुन् ।
शनिबार दिउँसो १ बजेदेखि लागू भएको कर्फ्यु आइतबार बिहान साढे ६ बजेसम्म निरन्तर रहनेछ । त्यसपछि अत्यावश्यक कार्यका लागि बिहान साढे ६ बजेपछि साढे ८ बजेसम्म कर्फ्यु खुकुलो पारिएको छ । फेरि बिहान साढे ८ बजेदेखि नै अर्को आदेश जारी नभएसम्म पुन: कर्फ्यु लागू रहने प्रमुख जिल्ला अधिकारी भुसालले जारी गरेको सूचनामा उल्लेख छ ।
शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सिर्जना भएको थियो । उक्त विवाद भड्किएर हिंसात्मक रूप लिँदै झडपमा परिणत भएको थियो ।
प्रदर्शनकारीले ६ वटा मोटरसाइकल र २ जिपमै आगजनी गरेका थिए । पछि प्रशासनले शनिबार दिउँसो १ बजेबाट कर्फ्यु लगाएर सेना परिचालन गरी स्थिति साम्य पारिएको थियो ।
कर्फ्यु लागू भएका क्षेत्रमा पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बसपार्क क्षेत्र र दक्षिणमा गौर भन्सार कार्यालय कायम गरिएको छ ।

