Harsamaya
जसपा अध्यक्ष यादव शम्भुनाथ नगरपालिकामा मत माग्दै घरदैलो
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले घरदैलो कार्यक्रममा ।

सप्तरी - प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । शम्भुनाथ नगरपालिकाको विभिन्न वडा तथा टोलहरुमा मतदाताको घरदैलोमा पुगेर मत माग्ने कार्यलाई निरन्तरता दिएका हुन् ।

पार्टीका केन्द्रीय सचिव एवम् क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहका अनुसार शम्भुनाथ नगरपालिका अन्तर्गतका नरहैया, सखुवा, नरही, सिरकजरी, खोक्सर, कनकपट्टी, कठौना बजारका मतदाताहरूसँग भेटेर मत मागेका छन् ।

घरदैलोका क्रममा बाटोघाटो नबनेको, विद्यालय तथा अस्पतालमा गुणस्तरीय सेवा नभएको, बिटौरी जग्गाको समस्या, क्षेत्रको प्रमुख सडक कठौना–पातो सडक निर्माण नहुँदा सास्ती झेल्नुपरेको, बेरोजगारी, सिँचाइ तथा मल खाद अभाव लगायतका समस्याहरू अधिकांश मतदाताले अध्यक्ष यादवसँग राखेका छन् । यसअघिका जनप्रतिनिधिहरूले जनताको हकहितका सवालहरूमा ध्यान नदिएको भन्दै घरदैलोका क्रममा सर्वसाधारणले गुनासो गरेका छन् ।

संविधान संशोधन गरी बाँकी अधिकार प्राप्तिका साथै विकास र समृद्धिका लागि आफू प्रयासरत रहने अध्यक्ष यादवले विश्वास व्यक्त गरेका छन् । जिल्लाकै पछाडि परेका क्षेत्रको रूपमा रहेको सप्तरी ३ मा धेरै काम गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने ‘एक सरकारकै नीति विभेदकारी छ, मधेशबाट ७० प्रतिशत राजश्व असुल्ने तथा मधेशलाई ११ प्रतिशत मात्र बजेट विनियोजन गरिन्छ, मधेशका जिल्लाहरू अझै. पछाडि छ, माथि उठाउनका लागि पर्याप्त बजेट आवश्यक छ ।’

घरदैलोका क्रममा उम्मेदवार समेत रहेका अध्यक्ष यादवले पूर्व सांसदद्वय दानालाल चौधरी र जगदीश साहसँग भेटघाट गरेका छन् । भेटघाटमा समसामयिक राजनीतिक अवस्था, जनताको हक–अधिकार र क्षेत्रको विकास निर्माण लगायतका विषयमा छलफल भएको छ ।

 सप्तरी क्षेत्र नम्बर ३ मा विष्णुपुर, रुपनी, राजगढ गाउँपालिका र शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका गरी कुल एक लाख ११ हजार ८ सय ७१ मतदाता छन् ।

प्रकाशित मिति: बुधबार, फागुन ६, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update