Harsamaya
चुनावी दौडधुपले दमक अस्तव्यस्त : ओली–बालेनप्रति समर्थनसँगै आक्रोश बढ्दो
झापा-५ का उम्मेदवारहरू केपी शर्मा ओली र बालेन साह ।

दमक - प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको चुनावी गतिविधि तीव्र बन्दै गएको छ । निर्वाचन आयोगले आगामी १८ गतेसम्म आचारसंहिता पालना गर्दै प्रचार–प्रसार गर्न समयसीमा तोकेको भएपनि झापा क्षेत्र नम्बर–५ मा भने आचारसंहिता उल्लंघनको आरोपसहित विवाद चर्किएको छ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहानदेखि झापा–५ क्षेत्रमा मतदाता भेटघाटमा सक्रिय रहेका थिए । सोही क्रममा उनी कार्यकर्तासहित दमक अस्पताल पुगेपछि अस्पतालको नियमित सेवा प्रभावित भएको भन्दै सेवाग्राहीहरूले गुनासो गरेका छन् ।

सोमबार बिहानदेखि नै दमक अस्पताल बिरामीले भरिभराउ थियो । लगातार दुई दिन सार्वजनिक बिदा परेकाले बिरामीको चाप असाध्यै बढेको अस्पताल स्रोतले जनाएको छ । बिहान करिब ११ बजेदेखि एमाले निकट युवा संघका कार्यकर्ताहरू अस्पताल गेटमा झण्डा–ब्यानरसहित नाराजुलश गर्दै भेला भएका थिए ।

प्रत्यक्षदर्शीका अनुसार दिउँसो करिब १ बजेर ५० मिनेटमा ओली अस्पताल परिसर प्रवेश गरेलगत्तै ‘माथिको निर्देशन’ भन्दै काउन्टर, वार्ड तथा इमरजेन्सी सेवासमेत केही समयका लागि रोकिएको थियो । औषधि लिन लामो समयदेखि लाइनमा बसेका सेवाग्राहीहरू फार्मेसी सेवा बन्द भएपछि थप समस्यामा परेका थिए ।

एक सेवाग्राहीले नाम नबताउने सर्तमा आक्रोश व्यक्त गर्दै भने, ‘हामी बिहानैदेखि लाइनमा बसेका थियौं । अचानक सेवा बन्द भयो । बिरामी लिएर आएका छौं, तर कसैले सुनुवाइ गरेन । चुनाव प्रचारका लागि अस्पताल जस्तो संवेदनशील स्थान किन प्रयोग गर्ने ?
अर्का सेवाग्राहीले अस्पतालमा दलबलसहित प्रवेश गरी सेवा प्रभावित पार्नु अनुचित भएको टिप्पणी गरे । बिहान ७ बजेदेखि लाइनमा बसेका रन्जन राईले भने,‘घण्टौँ पर्खिँदा पनि डाक्टर भेट्न पाइएन । नेताले जे गरे पनि हुने हो र ?’

निर्वाचन आचारसंहिता, २०८२ अनुसार अस्पताल, विद्यालय तथा अन्य संवेदनशील सार्वजनिक स्थलमा राजनीतिक भेला, प्रचार–प्रसार वा भीडभाड गर्न निषेध गरिएको छ । दफा ४ (ग) मा सरकारी तथा सार्वजनिक संस्थाको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी कार्यक्रम गर्न नपाइने स्पष्ट उल्लेख छ भने दफा ४ (झ) मा सार्वजनिक सेवा तथा आवागमन अवरुद्ध हुने गतिविधि गर्न रोक लगाइएको छ ।

झापा निर्वाचन कार्यालयका निर्वाचन अधिकृत तुलसी नेपालले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा प्रचार गतिविधि गर्न नपाइने स्पष्ट पार्दै सेवा प्रभावित भएको प्रमाणित भए आवश्यक प्रक्रिया अघि बढाइने बताए । यता दमक अस्पताल प्रशासनले भने सेवा लामो समय अवरुद्ध नभएको दाबी गरेको छ । अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेले कार्यक्रम अस्पताल बाहिर केन्द्रित रहेको र केही समय मात्र प्रभाव परेको बताए । उनका अनुसार पूर्वप्रधानमन्त्री आउने जानकारी पहिले नै भएपनि निर्धारित समय ढिलो हुँदा अवस्था असहज बनेको थियो ।

चिकित्सक तथा नर्स स्वागतमा गएको विषयमा उनले ‘रेस्ट टाइम’ रहेको स्पष्टीकरण दिए । तर प्रत्यक्षदर्शीका अनुसार सो समयमा पनि सेवाग्राहीहरू उपचारको प्रतीक्षामा थिए । ओली करिब २ बजेर ३० मिनेटसम्म अस्पताल परिसरमा रहेका थिए । त्यस अवधिमा केही सेवाग्राही र कार्यकर्ताबीच विवादसमेत भएको थियो । एक महिलाले उपचार नपाएको भन्दै रोईकराई गर्दा प्रहरीले सम्झाइरहेको दृश्यले वातावरण थप तनावपूर्ण बनेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

एमाले झापा–५ निर्वाचन परिचालन समिति संयोजक देबेन्द्र दाहालले भने ओली चुनाव प्रचारका लागि नभई अस्पताल निरीक्षण गर्न पुगेको दाबी गरे । उनका अनुसार अस्पतालको स्तरोन्नतिमा ओलीको योगदान रहेकाले सोको अवस्थाबारे बुझ्न मात्र भ्रमण गरिएको थियो र सेवा प्रभावित पार्ने उद्देश्य नरहेको बताए ।

यद्यपि, ओलीको भ्रमणलाई लिएर आचारसंहिता उल्लंघनको आरोप भने पहिलो पटक होइन । आइतबार पनि दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयमा राजनीतिक कार्यक्रम गरिएको भन्दै आलोचना भएको थियो, जबकि निर्वाचन आचारसंहिताले विद्यालय तथा शैक्षिक संस्थामा राजनीतिक गतिविधि गर्न स्पष्ट रूपमा रोक लगाएको छ ।

चुनावी माहोल तातेसँगै सार्वजनिक सेवा प्रभावित हुने घटनाले मतदातामाझ राजनीतिक दलहरूको जिम्मेवारीबारे प्रश्न उठ्न थालेको छ । यता, रास्वपाका उम्मेदवार वालेन्द्रसाह(बालेन)ले भीड जम्मा गरेर सडकमा असहज अवस्था सिर्जना गरेको आरोप पनि लागेको छ । सवारी साधन आवातजावत मै समस्या हुँदा यात्रुहरुले हैरानी व्यहोरिरहेको गुनासो आउन थालेको छ ।
- तेजन खड्का

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update