Harsamaya
सिन्धुलीमा टाटासुमको ठक्करबाट बालकको मृत्यु
सिन्धुलीमा दुर्घटनाबाट बालकको मृत्युपछि सडक अवरुद्ध ।

रामेछाप - सोलुबाट काठमाडौंतर्फ जाँदै गरेको टाटा सुमोले सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ लामसोतीस्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा आइतबार ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

आइतबार दिउँसो सोलुखुम्बुबाट काठमाडौँतर्फ जाँदै गरेको ना. १ ज ४६२३ नम्बरको सुमोले पैदल यात्री बालकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए ।

उनलाई गोलञ्जोर अस्पतालमा उपचारको लागि पठाएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । मृतक गोलञ्जोर गाउँपालिका–२ निवासी ठाकुर बयलकोटीका करिब ९ वर्षीय छोरा अषिक बयलकोटी भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि आक्रोशित स्थानीयवासीले ग्वाल्टारस्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ ।

दुर्घटनाको खबर पाए लगत्तै प्रहरी चौकी ग्वालटार र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले सुमो र चालक दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय खुर्कोटमा राखेको छ ।

प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको आशंका गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक सोलुखुम्बुको नेचसल्यान गाउँपालिका–२ का २७ वर्षीय गोपाल भुजेल भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update