Harsamaya

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संकल्प पत्र सार्वजनिक गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनावी संकल्प पत्र सार्वजनिक गरेको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीस्थित संकल्प पत्र सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा मुलुक निर्माणको मौलिक मार्गचित्र बोकेर अघि बढीरहेको राष्ट्रवादी प्रजातान्त्रिक दल रहेको दाबी गरे ।

लिङ्देनले राप्रपा मुलुकको आन्तरिक मामलामा कुनैपनि प्रकारको वैदेशिक हस्तक्षेपलाई स्वीकार नगर्ने, मुलुकमै जन्मिएको र मुलुकको सर्वोपरि हितमा समर्पित राष्ट्रवादी चरित्र बोकेको राजनीतिक दल रहेको दाबी गरेका हुन् ।

‘राप्रपा मुलुक निर्माणको मौलिक मार्गचित्र बोकेर अघि बढीरहेको राष्ट्रवादी प्रजातान्त्रिक दल हो । राप्रपाले आफ्नो मौलिकता र वीर पुर्खाले आर्जेको इतिहासमाथि गौरव गर्दै विगतको सकारात्मकताको निरन्तरता सहित समयानुकूल परिवर्तनको पक्षमा उभ्याउदै आइरहेको छ’, उनले उल्लेख गरेका छन्, ‘मुलुक र माटो सुहाउँदो व्यवस्थाको पक्षपाती राप्रपा मुलुकको आन्तरिक मामलामा कुनैपनि प्रकारको वैदेशिक हस्तक्षेपलाई स्वीकार नगर्ने, मुलुकमै जन्मिएको र मुलुकको सर्वोपरि हितमा समर्पित राष्ट्रवादी चरित्र बोकेको एकमात्र राजनीतिक दल हो ।’

अध्यक्ष लिङ्देनले मुलुक राजनीतिक अस्थिरता, सामाजिक द्वन्द्व, आर्थिक सङ्कट, नीतिगत भ्रष्ट्राचार र असन्तुलित वैदेशिक नीतिबाट प्रताडित भइरहेको उल्लेख गरे । विगतको साँढे तीन दशकलाई हेर्ने हो भने मुलुकको राजनीतिक दल र नेताको विकासका लागि भयो तर देश र जनताका विकासका नभएको उनले बताए ।

सार्वजनिक गरिएको संकल्प पत्रमा नेपाल बन्द कहिल्यै नगर्ने घोषणा गरिएको छ । त्यसअवसरमा अध्यक्ष लिङ्देन, पूर्व अध्यक्षत्रय पशुपति शमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनी र कमल थापाले संकल्प पत्र अनावरण गरेका हुन् ।

संकल्प पत्रमा राप्रपाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको एजेन्डा उल्लेख गरेको छैन । जवकि विगतका निर्वाचनहरूमा ’प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय राजसंस्था’ लाई राप्रपाले मुख्य एजेन्डा बनाउँदै आएको थियो ।

राप्रपाले सार्वजनिक गरेको नयाँ शासकीय स्वरूपको खाकामा ‘अभिभावकीय संस्थाको रूपमा राजसंस्था’ रहने उल्लेख गरिएको छ । पार्टीले वर्तमान निर्वाचन प्रणालीलाई खर्चिलो र अस्थिर भन्दै यसमा व्यापक सुधार र परिवर्तनको माग गरे पनि प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेन्डालाई प्राथमिकताका साथ उठाएको छैन ।

पृथ्वीनारायण शाहको दिव्योपदेशलाई मार्गदर्शक सिद्धान्त मान्दै राप्रपाले ‘पृथ्वीपथ’ लाई राष्ट्र निर्माणको मौलिक मार्गचित्रको रूपमा अघि बढाएको छ ।

राप्रपाले धर्मनिरपेक्षतालाई खारेज गरी ‘सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र’ को स्थापनालाई आफ्नो अपरिहार्य एजेन्डाको रूपमा पुनः दोहोर्याएको छ।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको शासकीय स्वरूपको एजेन्डाबाट पछि हटेको छ । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा पार्टीभित्र दुई धार थियो ।

निर्वाचन प्रणालीमा व्यापक परिवर्तन र सुधारको आवश्यकता रहेको राप्रपाले जनाएको छ । पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र हुनुपर्ने राप्रपाको चुनावी एजेण्डा छ ।

प्रकाशित मिति: शनिबार, फागुन २, २०८२  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update