काठमाडौं - वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, बागलुङ काठेखोला गाउँपालिका–२ की ४३ वर्षीया कोपिला शर्मा, धनकुटा नगरपालिका–२ का ३१ वर्षीय सन्तोष राई तथा काभ्रे चौंरीदेउरीली नगरपालिका–९ की ४८ वर्षीया कुमारी तामाङ छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले अमेरिका, बेलायत, कम्बोडिया र पोर्चुगल पठाइदिने प्रलोभन देखाई पीडितबाट क्रमशः १० लाख, १३ लाख, तीन लाख ७० हजार र १३ लाख ६० हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए।
उजुरीका आधारमा पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

