नवलपरासी - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का अनुसार कावासोती नगरपालिका–१४ अग्यौलीस्थित भित्री सडकखण्डमा गएराति ग प्र ०४–००१ प ८५९२, प्रदेश ०३–०३ प २५२१ र ग प्र ०४–००२ प १८४७ नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा ग प्र ०४–००१ प ८५९२ नम्बरको मोटरसाइकल चालक देवचुली नगरपालिका–१७ का २८ वर्षीय ओमप्रकाश खोजवारको मृत्यु भएको प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । गम्भीर घाइते भएका खोजवारको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा मृत्यु भएको हो।
दुर्घटनामा प्रदेश ०३–०३ प २५२१ नम्बरको मोटरसाइकलको पछाडि सवार कावासोती नगरपालिका–१७ गोछाडाकी ४४ वर्षीया प्रमेश्वरी महतो र उहाँका चार वर्षीय छोरा जेसन महतो घाइते भएका छन्।
प्रहरीले दुर्घटनामा संलग्न तीनवटै मोटरसाइकल नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

