Harsamaya
फेक रेस्क्यू गरी बिमा रकम ठगी गर्ने पक्राउ
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - नेपाल प्रहरीले झुट्टा उद्धार (फेक रेस्क्यू) प्रकरणमा लाजिम्पाटस्थित सिद्धि अन्तरराष्ट्रिय अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले हिमाली क्षेत्रमा हुने पदयात्रा तथा पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार देखाई बिमा रकम ठगी गरेको अभियोगमा आइतबार तिमिल्सिनालाई पक्राउ गरेको हो।

ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार माउन्टेन रेस्क्यू सर्भिस, एभरेष्ट एक्सपेरियन्स एण्ड असिस्टेन्स र नेपाल चार्टर सर्भिससँगको मिलेमतोमा अस्पतालले नक्कली कागजात तयार गरी बिमा ठगी गरेको आरोप छ।

यस प्रकरणमा यसअघि ती तीन कम्पनीका ६ जना व्यक्ति पक्राउ परिसकेका छन्। उक्त घटनाले अन्तरराष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रलाई गम्भीर क्षति पुगेको सिआइबीले जनाएको छ।

पक्राउ परेका डा. तिमिल्सिनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) तथा अन्य किर्ते सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 
 

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  ०७:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update