आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ। आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सो को आधारमा प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाअनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्य तालिका छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
महानगर प्रहरीको गस्ती: काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी कारबाही गर्ने भएको छ । थापाथलीस्थित काठमाडौँ महानगरपालिका–११ मा भएको बागमती सफाइ अभियानकर्मीहरुको बैठकमा वडाध्यक्ष हीरालाल तण्डुकारले सो जानकारी दिए।
दोस्रो अभ्यास खेलमा नेपाल विजयी : आइसिसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । दोस्रो अभ्यास खेलमा नेपलले क्यानडालाई ६ विकेटले पराजित गरेको हो ।भारतको चेन्नाइमा भएको अभ्यास खेलमा क्यानडाले नेपाललाई जितका लागि एक सय ६२ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य १८औँ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।
सुनचाँदीको मूल्यमा घट्यो: आज सुनचाँदीको मूल्यमा घटेको छ । बुधबारको तुलनामा सुनचाँदीको मूल्य घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९५ हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार ९८० कायम भएको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख चार हजार ७०० र त्यति नै परिमाणको चाँदीको मूल्य पाँच हजार ६०० कायम भएको थियो ।
कहीँ कतै गठबन्धन हुँदैन : नेपाली कांग्रेसले कुनै पार्टीसँग कहीँ कतै पनि चुनावी गठबन्धन नहुने स्पष्ट पारेको छ।कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनमा कहीँ कतै पनि चुनावी गठबन्धन नहुने स्पष्ट पारेको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीले १६५ निर्वाचन क्षेत्रमा नै आफ्नो उम्मेदवार उठाइसकेको हुँदा कहीँ कतै पनि चुनावी गठबन्धन नहुने स्पष्ट पारे।
प्रधानमन्त्री कार्की: प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तपूर्ण रुपमा एकैसाथ एकै चरणमा निर्वाचन सम्पन्न हुने बताएकी छन् । भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको प्रत्येक्षतर्फको मतपत्र छपाइ कार्यको स्थलगत अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले कुनै पनि जिल्लामा दोस्रो चरणमा मतदान नहुने बताइन्।
आयोगले भन्यो : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ मा गरिएको छ। आचारसंहिताको दफा ३७ मा राजनीतिक दल वा उम्मेदवारले निर्वाचन घोषणापत्र सार्वजनिक गरी सो को आधारमा प्रचारप्रसार गर्नुपर्ने व्यवस्था गरिएको छ । यो व्यवस्थाअनुसार आगामी फागुन ४ गतेदेखि निर्वाचन प्रचारप्रसार हुने कार्य तालिका छ ।

