Harsamaya
दोस्रो अभ्यास खेलमा नेपाल विजयी‚ क्यानडा ६ विकेटले पराजित
नेपाली व्याटर

काठमाडौं- आइसिसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले आज दोस्रो अभ्यास खेलमा पनि विजयी भएको छ । दोस्रो अभ्यास खेलमा नेपलले क्यानडालाई ६ विकेटले पराजित गरेको हो ।

भारतको चेन्नाइमा भएको अभ्यास खेलमा क्यानडाले नेपाललाई जितका लागि एक सय ६२ रनको लक्ष्य दिएको थियो । नेपालले उक्त लक्ष्य 
१८औँ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो । 

नेपालका लागि प्रारम्भिक ब्याटर आशिफ शेखले अद्र्धशतकीय पारी खेले । उनले २९ बलमा  ६ चौका र तीन छक्काको मद्दतमा ५८ रनको योगदान दिए ।

त्यसैगरी सन्दिप जोराले ४४, गुल्शन झाले ३१, कुशल भुर्तेलले १२ तथा दीपेन्द्रसिंह ऐरीले ९ रन बनाए । बलिङतर्फ क्यानडाका जसकरण सिहं र अजयवीर हुँडालले एक/एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ६१ रनको योगफल बनाएको थियो ।

क्यानडाका लागि ओपनर नवनीत धलिवालले सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३६ बलमा एक चौका र तीन छक्का हाने । त्यस्तै श्रेयस मोभाले १९ बलमा दुई चौका र तीन छक्कासहित ३८, कनवारपुल ताथगुरले २५ तथा जसकरण सिंहले २१ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले दुई/दुई  तथा सोमपाल कामी र नन्दन यादवले एक/एक विकेट लिए । यसअघि पहिलो अभ्यास खेलमा पनि नेपालले युएईलाई सात विकेटले पराजित गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update