Harsamaya
रौतहटमा कारको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु
ठक्कर दिने कार ।

रौतहट - रौतहटको इशनाथ नगरपालिकामा कारको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बिहीबार दिउँसो भएको उक्त दुर्घटनापछि ठक्कर दिने कारका चालक फरार भएका छन् ।

प्रहरीका अनुसार ईशनाथ नगरपालिका वडा नम्बर ४, मठिया टोलस्थित मस्जिद नजिकै बाटोमा खेलिरहेकी ४ वर्षीया बालिका अल्फा खातुनलाई बा १५ च ४२४४ नम्बरको कारले ठक्कर दिएको थियो । स्थानीय मोहम्मद सगिरकी छोरी अल्फालाई ठक्कर दिएलगत्तै कार चालकले नै उपचारका लागि गौरस्थित सिटी अस्पताल पुर्याएका थिए ।

तर, घाइते बालिकालाई अस्पतालमा छाडेर चालक फरार भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । सिटी अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरी टोलीले बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो । प्रादेशिक अस्पतालमा उपचारकै क्रममा दिउँसो २ः४५ बजे बालिकाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

घटना लगत्तै प्रहरी टोलीले ठक्कर दिने कारलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रौतहटमा राखेको छ। रौतहट–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सगिर आलमको चुनावी प्रचारको गाडी रहेको बुझिएको छ ।

प्रहरीका अनुसार फरार रहेका चालकको खोजी कार्य तिव्र पारिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । मृतक बालिकाको शव अहिले प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०८२  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update