आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरण बनाउन एकीकृत सुरक्षा योजना २०८२ अनुरूप बुधबारदेखि नेपाली सेनाका संयोजनमा चारवटै सुरक्षा निकाय परिचालित हुँदैछन् । निर्वाचनको समयमा शान्ति सुरक्षालाई सुदृढ तुल्याउन सरकार यसअघि नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन: प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुने बताएकी छिन् । कावासोती नगरपालिका-१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउने बताएकी हुन् । कम मतदाता भएका स्थानमा सवारीसाधनको प्रयोग गरेर मतदाता ओसारेरै भए पनि निर्वाचन सम्पन्न गराइने उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले हुनै नसक्ने अवस्था आएमा दोस्रो चरणमा निर्वाचन गराउनेतर्फ सोच्न सकिने बताए ।
सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक: सरकारले सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । उनले भने,‘सामाजिक सञ्जालको संचालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन स्वीकति प्रदान गर्ने निर्णय भएको छ ।’
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन, समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ । आयोगले आज प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन् ।
१० जनाविरुद्ध भ्रष्टाचार मुद्दा: प्रादेशिक अस्पताल सिरहामा बिरामीबाट सङ्कलन भएको रकममध्ये रु ३८ लाख ७७ हजार ७२४ सरकारी खातामा जम्मा नगरी आपसी मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । अस्पतालको ओपिडीलगायत विभिन्न काउन्टरबाट सङ्कलन भएको राजस्व रकम सरकारी ढुकुटीमा दाखिला नगरी कर्मचारीहरूले व्यक्तिगत प्रयोगमा ल्याएको अनुसन्धानबाट पुष्टि भएपछि आयोगले दुई पूर्वअस्पताल प्रमुखसहित १० जनाविरुद्ध मुद्दा चलाएको हो ।
सुनचाँदीको मूल्य बढ्यो: नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य दुई लाख ८६ हजार ६ सय कायम भएको थियो ।
बुढासुब्बा गोल्डकपको सम्पूर्ण तयारी पूरा: धरानमा आयोजना हुन लागेको २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । यही माघ २२ गतेदेखि फागुन २ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सञ्चालन हुन लागेको गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको आयोजक धरान फुटबल क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

