Harsamaya
सर्लाहीमा ६ महिनामा २९ जनाको दुर्घटनामा मृत्यु, १९० घाइते
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

सर्लाही - सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा २९ जनाको मृत्यु भएको छभने १९० जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार यस अवधिमा सानाठूला चारपाङ्ग्रे सवारी र मोटरसाइकल गरी ६४१ वटा दुर्घटना भएको छ । 

दुर्घटनामा ज्यान गुमाउनेमध्य अधिकांश मोटरसाइकल चालक र सवार व्यक्ति छन् । जिल्लाका भित्री सडकखण्डमा दुर्घटना धेरै हुने गरेको पाइएको उहाँले जानकारी दिए ।

सवारीचालक तथा पैदलयात्रीले ट्राफिक नियम उल्लंघन गर्दा दुर्घटनामा धेरै हुने गरेको भन्दै विद्यालयका बालबालिका, स्थानीय, पैदलयात्रीलाई सहभागी गराएर कार्यालयले दर्जनौँपटक ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम पनि सञ्चालन गरेको छ । 

त्यसैगरी, सोही अवधिमा ट्राफिक नियम उल्लंघन गरी चलाएका सवारी कारबाहीबाट रु ४८ लाख २८ हजार ५०२ राजस्व सङ्कलन भएको छ ।

चालक अनुमतिपत्र नभएका, हेलमेट नलगाएका मोटरसाइकल चालक, यात्रा अनुमतिपत्र नभएका, क्षमताभन्दा धेरै सामान बोकेका ट्रकलगायतलाई कारबाही गरिएको प्रहरी निरीक्षक साहले बताए ।

पूर्वपश्चिम राजमार्ग तथा भित्री सडकखण्डमा समेत विभिन्न समयमा जाँच गरी ट्राफिक नियम उल्लंघन गरेर चलाएका सवारीलाई कारबाही गरिएको थियो ।

प्रहरीले लामो दूरीका यात्रुवाहक बसमा दुई जना चालक अनिवार्य गरिएको विषयमा कडाइका साथ जाँच गर्ने गरेको छ ।

चालु आवको ६ महिनामा सात हजार २७ वटा लामो दूरीको यात्रुवाहक बस जाँचका क्रममा २२ वटाले नियम उल्लंघन गरेको पाइएपछि कारबाही गरिएको उनको भनाइ छ । 
 

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update