काठमाडौं - श्री स्वस्थानी व्रत सुरु भएको आज ३१औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
यस अध्यायमा अगस्त्य मुनिले यस्तो कथा माग्छन्, जहाँ कुनै देवताको प्रत्यक्ष अनुग्रह, पूर्वजन्मको अधूरो तपस्या वा मृत्यु पछिको फल नभई, यसै लोकमा स्वस्थानी व्रत र त्रिवेणीको मकरस्नानको प्रभाव तुरुन्त देखियोस् । त्यसको उत्तरमा कुमारजीले काम्पिल्य नगरका अत्यन्त दरिद्र ब्राह्मण सुमेधा र उनकी पतिव्रता पत्नी पवित्राको कथा सुनाउँछन्, जो पूर्वजन्मका कर्मका कारण धन–धान्यविहीन जीवन बिताइरहेका थिए तर धर्म, संयम र पतिव्रतामा अडिग थिए ।
एक दिन कौडिन्य मुनिको उपदेशबाट प्रेरित भई पवित्रा–सुमेधा दम्पतीले प्रयागको त्रिवेणीमा गएर माघ महिनाभरि मकरस्नान, श्रीस्वस्थानी व्रत–पूजा र तीन वर्षे नियमपूर्वक पञ्चरात्र व्रत सम्पन्न गरे। मुनिले माघ महिनाको, विशेषतः त्रिवेणी स्नानको अद्वितीय महिमा, पाप नाश र पुण्य वृद्धिको दार्शनिक तथा धार्मिक महत्व विस्तारमा बताउँछन् र श्रद्धा–नियमपूर्वक गरिएको व्रतले यसै लोकमा सुख–सम्पत्ति र परलोकमा मोक्ष दिलाउने उपदेश दिन्छन् ।
व्रत सम्पन्न भइरहेकै बेला सबैका सामु राजकुमारको कृपाले सुमेधा दम्पतीले घर, जमिन र समृद्ध जीवन प्राप्त गर्छन् । यसरी उनीहरूले यसै लोकमा सुख–सम्पत्ति भोगे र अन्ततः वैकुण्ठ प्राप्त गरे । अध्यायको मूल सन्देश भनेको शुद्ध आचरण, श्रद्धा, श्रीस्वस्थानी व्रत र प्रयागको त्रिवेणीमा गरिएको मकरस्नानले कुनै बाह्य अनुग्रहबिना पनि मानव जीवनलाई दरिद्रताबाट समृद्धि र अन्ततः मोक्षतर्फ लैजान सक्छ भन्ने हो ।
अथ एकत्रिंशोऽध्यायः
अगस्त्य मुनि सोध्नुहुन्छ - हे कुमारजी ! गोमा- लाई त स्वयं शिवको, पार्वतीको, सप्तर्षिको कृपा थियो र स्वस्थानीको व्रतलाई निमित्त मात्र तुल्याएर तिनलाई उनैले राजमाता बनाएको हुन सक्छ। सुलोचनाको पूर्वजन्मको अधूरो तपस्या थियो होला र यस जन्ममा पूरा गरेर सूर्यलोकमा चिरस्थायी वास पाइन् होली । काञ्चनमालिनीको कथा मात्र श्रोताहरूले सुन्न पाए, उसको पुण्य- फलबाट उसलाई प्राप्त भएको उसको अवस्थालाई राक्षसबाहेक कुनै अरू जनताले प्रत्यक्ष देख्न पाएनन् । तसर्थ, अब यस्तो कथा सुनाइबक्सियोस्, जसले कुनै देवताको अनुग्रह नपाईकन, पूर्वजन्मको अधूरो तपस्याले नधक्क्याईकन, मरेपछि मात्रै पुण्यफल नपाईकन, सच्चरित्रतापूर्वक दुःखी जीवन बिताइरहेको वेलामा कसैको उपदेशको भरमा स्वस्थानीको व्रत-पूजा र त्रिवेणीको मकरस्नान गरेर मात्र त्यस पुण्यका प्रभावले तुरुन्तै यसै लोकमा मकरस्नानको र स्वस्थानीको उद्यापन पूजा गर्दागर्दै त्यसै ठाउँमा, सबका सामु, सबैले देख्ने गरी औलादौला सम्पत्ति पाएर यसै लोकमा गर्नासम्म सुखसयल गरेका कोही छन् कि छैनन् ? छन् भने त्यस्ताको पनि यौटा कथा सुनाइबक्सियोस् भन्दा कुमारजी आज्ञा गर्नुहुन्छ -हे अगस्त्य मुनि ! आज म प्रयागको त्रिवेणीको मकरस्नान, साथै स्वस्थानीको व्रत-पूजा, मकरमा गरिने पञ्चरात्र व्रतको विषयमा उहिले यसै कल्पको सत्ताईसौं चौघडीको तेस्रो युगको दोस्रो चरणमा काम्पिल्य नगरमा घटेको र मैले पनि मुनिहरूका मुखबाट सुनेको यो अति राम्रो कथा तिमीलाई । बताउँछु, ध्यानपूर्वक सुन - अघि कुनै समयमा त्यस काम्पिल्य नगरमा सुमेधा नाम गरेका धर्मात्मा विद्वान् ब्राह्मण थिए, अनि पतिव्रता धर्ममा रहने तिनकी 'पवित्रा' नाम गरेकी पत्नी थिइन् । पूर्वजन्मका कुनै दुष्कर्मले ती बाहुन यस जन्ममा धन-धान्यले रहित भएका गरीब थिए । धेरै मानिसहरूसित माँग्दा पनि कहीँ पनि क्यै पनि भिक्षा पाउन्नथे । न कतै त्यस्तो खानेकुरा पाउँथे, न त कतै राम्रो वस्त्र नै पाउँथे । रूप र यौवनले मनमोहक रूप भएको उस पतिलाई उनकी पतिव्रता पत्नी पवित्रा सधैँ तनमनले सेवा गर्थी । कहिल्यै अतिथिको पूजा यानि भोजनले सत्कार गर्नुपर्यो भने तब त्यो नारी त्यो दिन भोकै रहन्थी र पनि विशालाक्षी अर्थात् बड़ा बड़ा आँखा हुने त्यो सुन्दरी स्त्री मलिन मुख भएकी हुन्नथी । त्यस्ती अति सुन्दर दाँतवाली यानि हँसिली अनि आफ्नू शरीरलाई सुकाउँदै अर्थात् दुब्लाउँदै गएकी तथापि पतिलाई कहिल्यै पनि घरमा खान छैन भनी नझिझ्याउने आफ्नी पत्नीलाई देखेपछि एकदिन ती सुमेधा ब्राह्मणले आफ्नी भार्याको आफूमा भएको प्रेमबन्धनकन आफ्नू चित्तमा विचारेर अनि ती ब्राह्मणले आफ्नू भाग्यलाई धिक्कार्दै ती आफ्नी प्रियभाषिणी पत्नीलाई भने - 'हे सुन्दरी ! म के गरूँ ? के काम गरूँ ? क्यै गर्दा पनि मैले धन पाउन सकिनँ । ठूला-ठूला, भव्य- भव्य, बेस- बेस मान्छेसँग पनि माँग्दछु, तर ती पनि मलाई क्यै धन दिदैनन् । हे सुन्दरी ! म के गरूँ ? कहाँ जाऊँ ? तिमी नै मलाई क्यै उपाय भन । हे प्रिये ! विना-धनले त गृहस्थ्याइँ चल्दैन । अब तिमी मलाई धन कमाउनका निम्ति परदेश जानका लागि आज्ञा देऊ, धन कमाउनका लागि म परदेश जान्छु । त्यस देशमा पनि जो होनहार हुनु छ, उही नै मिल्दछ । तर उद्यम त गर्नैपर्दछ, उद्यम नगरीकन कुनै पनि कामको पनि सिद्धि हुँदैन । त्यसैकारण, बुद्धिमान्हरू सधैँभरि कल्याणकारी राम्रो उद्यमको प्रशंसा गर्दछन् ।'
आफ्ना पतिको त्यस्तो कुरो सुनेर, आँखाभरि आँसु डबडबाएर, विनयले गर्धन क्यै झुकाएर त्यो बुद्धिमती नारीले हात जोडेर बोलिन् - 'तपाईं - भन्दा जानकार यता कोही छैन, तपाईंले नै आज्ञा दिइएकी हुनाले अर्थात् सोधिएकी हुनाले म अहिले यहाँ बोलिरहेकी छु । हमेशै आपत्तिमा परेका पनि हितैषी मनुष्यहरूले हितकै कुरो बोल्दछन् । यस पृथ्वीतलमा जहाँ कहीँ गए पनि पहिले दान गरेको नै मिल्दछ । दान नगरीकन त सुनको मेरु पर्वतमा गए पनि क्यै पाइँदैन । पूर्वजन्ममा जो विद्या दान गरेको छ, पूर्वजन्ममा जो धन दान गरेको छ, पूर्वजन्ममा जो भूमि दान दिएको छ; यस जन्ममा त्यही नै प्राप्त हुन्छ । विधाता ब्रह्माले छैटीका दिन निधारमा जो लेखिदिएका छन्, त्यही त्यही नै जहाँ गए पनि मिल्दछ । के, नदिएको वस्तु कहीँ मिल्दछ र ? कहीं गए पनि क्यै मिल्दैन । हे पतिदेव ! पूर्वजन्ममा न मैले, न तपाईंले सत्पात्रहरूको हातमा थोरै वा धेरै कत्ति पनि चोखो धन दान दिएका रहेनछौँ । किनकि यो देशमा यानि यस ठाउँमा वा अर्को ठाउँमा जहाँ गए पनि सबै ठाउँमा पहिले दिएको नै पाइन्छ । विश्वेश अर्थात् विश्वका पालक ईश्वरले अन्न मात्र ता अर्थात् खान मात्र त दान नगरेको भए पनि कुनै प्रकारले दिन्छ यानि पुयाउँछ । त्यसकारण, हे पति ! तपाईंले पनि मैले पनि यहीँ नै बस्नुपर्छ । हे महामान्य स्वामी ! तपाईं नभैकन त म यहाँ एकक्षण मात्र पनि रहन सक्तिनँ । न आमा, न बाबु, न दाजु, न भाइ, न सासू, न ससुरा, न अरू मानिसहरू, न आफ्ना बन्धु- बान्धवहरू, न पुरवासीहरू, न छरछिमेकीहरू ती कोही पनि पति नभएकी नारीलाई सत्कार गर्दैनन् अर्थात् मनपराउँदैनन् । पतिहीन त्यस नारीलाई सबैले 'दुर्भगा' दुष्ट यस्तो ठान्दछन् र नाना प्रकारका निन्दा गर्दछन् । त्यसकारण, यहीँ रहेर जो मिलेको खाई-पिई सुख-सन्तोषपूर्वक विहार गर्नुहोस् । तपाईंको भाग्यअनुसारको प्राप्ति यहीँ नै भइहाल्छ ।
ती पत्नीको यस्तो कुरो सुनेर अनि ती विद्वान् व्यक्ति पनि त्यहीँ नै रहे, कतै गएनन् । यत्तिकैमा रहँदा बस्ता त्यहाँ कुनै दिन मुनिहरूमा श्रेष्ठ कौडिन्य मुनि घुम्दै फिर्दै टुप्लुक्क आइपुगे । ती ऋषिलाई आएको देखेर अत्यन्त खुशी भएका ती ब्राह्मण- हरूमा श्रेष्ठ सुमेधाले पत्नीसहित जऱ्याकजुरुक उठेर, शिर झुकाएर बारम्बार नमस्कार ढोग गर्दा भए र भने - 'म धन्य छु, भाग्यमानी छु, कृपा गरिएकोले कृतार्थ छु, आजै मेरो जीवन सफल भयो, मेरा अहोभाग्यले प्रभु देखिनुभएको छ अर्थात् तपाईंको दर्शन पाएँ' भनी ती मुनीश्वर कौडिन्यलाई ती सुमेधाले भने र अनि उनलाई सुन्दर आसनमा बसालेर ती कौडिन्य ब्राह्मणलाई अर्ध्यादिले पूजा गरे । तब ती ऋषिलाई विधिपूर्वक बसाली यथेष्ट भोजन गराउँदै क्यै झुकी झूल काडी नगीचै उभिएकी ती स्त्रीहरूमा अति उत्तम पवित्रा ब्राह्मणीले विनयपूर्वक 'हे विद्वान् ! त्रिकालदर्शी मुनि ! कुन प्रकारले हाम्रो दरिद्रताको नाश होला ?' भनेर ती दयालु ऋषिलाई सोधिन् र फेरि भनिन्- 'हे दयालु ऋषि ! पूर्वजन्ममा दान नदिईकन यस जन्ममा कसरी धन, विद्या र असल गृहिणी पाइन्छन् र ! तैपनि मेरा पति मलाई छाडेर अर्कै देशतिर पराया नगरमा नचिनेका मान्छेसित भिक्षा माँग्नका लागि जाने इच्छा गरिरहनु- भएको छ । हे विद्वान् मुनि ! मैले उहाँलाई कैयन् ठूला-ठूला कारणहरूले घेरेर रोकेकी छु । मैले उहाँलाई- 'पूर्वजन्ममा नदिएको कुनै पनि वस्तु अलिकति पनि यस जन्ममा कतै पाइन्न' यस्तो भनेर रोकेकी छु । मेरो अहोभाग्यले हे मुनि- श्रेष्ठ ! आज तपाईं यहीँ नै आइपुग्नुभो, जो सकेको सेवा सत्कार गर्न पाएँ । तपाईंको कृपा भयो भने मेरो दरिद्रता चाँडै नै नाश हुनेछ, यस कुरामा मलाई कत्ति पनि संशय छैन । हे ऋषि- वर ! कुन उपायले मेरो दरिद्रता निश्चयै नाश हुन्छ ? हे कृपाका सागर मुनीश्वर ! यस बारेमा व्रत- तीर्थ-तपस्या- अनुष्ठान-नियम जे गर्नुपर्ने हो मलाई बताइबक्सियोस्' भन्ने यस्तो ती सुशीला सती साध्वीले कहेको कुरो सुनेर तब ती मुनिश्रेष्ठ कौडिन्यले मनमनै क्यै बेर घोरिएर विचारी अनि सारा पाप-समूहलाई शान्त पार्ने, समस्त दुःख दरिद्रता लघार्ने, अत्यन्त श्रेष्ठ, अति उत्तम, यस लोकमा सम्पत्ति-सुख-ऐश्वर्य प्राप्त हुने व्रतको बारेमा बताउन लागे - 'हे पवित्र मन भएकी पवित्रा देवी ! यसका लागि तिमीले तीन वर्षसम्म संयमपूर्वकको नियम पालना गर्नुपर्छ' भनी अनि प्रयागराजको त्रिवेणीको र त्यस त्रिवेणीमा गरेको माघस्नानको महिमा उनलाई सुनाउन थाल्नुभयो- 'हे पवित्रा ! जस्ता प्रकारले रातभरि चिसिएको स्थलमा प्रत्येक दिन उदाउन लागेका सूर्यको तातो मिसिएको चिसो-तातोको सङ्गम समय अति आरोग्यकारी र अति पुण्यदायी हुन्छ, त्यस्तै प्रकारले सूर्यको दक्षिणायन सकिएर उत्तरायण आरम्भ हुँदा चिसोमा तातो बढ्दै बढ्दै गएको चिसो-तातोका सङ्गम महीना माघ महीना पनि अति पुण्यदायी हुन्छ । यसैले पौषशुक्ल पूर्णिमाका दिन स्वयं स्वस्थानी देवी पनि पृथ्वीमा ओर्लिएर शालीनदी अर्थात् गण्डकीको किनारमा एक महीनासम्म निवास गर्ने गर्नुहुन्छ। त्यही मौका छोपी स्वर्गका अप्सरा पनि शालीनदीमा वाहेर स्वस्थानी देवीको पूजा गर्न त्यहाँ आउने गर्दछन् र उनीहरू त्यस महीनालाई नै स्वस्थानी महीना पनि भन्दछन् । ती देवी नारी जातिकी हुनाले त्यतिखेर मात्रै त्यहीँ गएर वा घरमै रहेर वा प्रयागको त्रिवेणीको किनारमा बसेर भए पनि श्रद्धा-भक्तिका साथ नियम पालन गरेर उहाँको पूजा-आजा गर्ने आफ्ना भक्तजनहरूलाई विशेष गरी नारी जातिलाई आफू वैकुण्ठ फर्किने दिन सौभाग्य दिने र सौभाग्य स्थायी रहने वर दिनुहुन्छ र वैकुण्ठ जानुहुन्छ । जसरी प्रत्येक राशिमा सूर्य सर्दा त्यो महीनाभरि पृथ्वीका प्राकृतिक वस्तुहरूमा पर्ने सूर्यको शक्ति भिन्नाभिन्नै हुन्छ । जस्तै; उही रूख, उही बोट, उही पोथ्रा, उही बूटा भए पनि तुलाराशिमा सूर्य रहँदा कात्तिकमा ढकमक्क भएर फुल्ने फूलहरू मीनराशिमा सूर्य रहँदा चैत्र महीनामा फुल्दैनन् र चैत्रमा फुल्ने फूलहरू कात्तिकमा फुल्दैनन् । प्रत्येक महीनामा घट्ने भिन्न-भिन्न घटनाहरू ती- ती महीनामा मात्रै घट्तछन् । त्यसै गरी उही नदी, उही पोखरी, उही ताल, उही त्रिवेणी भए पनि मकरमा सूर्य रहँदा माघ महीनामा मात्रै नदीहरूमा र विशेष गरी त्रिवेणी नदीहरूमा सूर्यको पुण्यदायी शक्ति रहेको हुन्छ । त्यसैले माघमा नदी वा त्रिवेणीहरूमा गरेको स्नानले पाप नाश्छ र पुण्य बढाउँछ ।
हे पवित्र मन भएकी पवित्रा ! उसै त पानी स्वभावैले पवित्र निर्मल स्वच्छ सेतो अनि मैला सफा पार्ने, दाह नाश्ने, शान्ति दिने हुन्छ । जुन पानी सारा प्राणीहरूलाई उद्धार गर्ने, पोषण गर्ने, जीवन दिने यानि बचाउने हुन्छ । यसैउसले सारा वेदमा पानी नै नारायण देवता हुनुहुन्छ भनिन्छ । त्यस्तो नारायणरूप पानीमा विशेष गरेर बगिरहने नदी र अझ त्रिवेणीका जलमा ती सूर्यमा रहेका भएभरका पुण्यदायी शक्तिहरू माघ महीनामा नदीका जलमा रहने भएकोले; जस्तो ग्रहहरूमा सूर्य प्रधान छन्, जस्तो नक्षत्रहरूमा चन्द्रमा प्रधान छन्, त्यस्तै सम्पूर्ण शुभकर्म गर्नका लागि महीनाहरूमा माघ महीना अति श्रेष्ठ छ ।
मकरराशिमा सूर्य भएको माघ महीनामा छिपछिपे पनि निर्मल जलमा प्रातः कालमा गरिएको स्नानले महापापीहरूलाई पनि स्वर्ग दिलाउँछ । हे पवित्रा ! चर-अचरले भरिएको तीनै लोकमा यस्तो योग दुर्लभ छ । अशक्त जन पनि यस योगमा केवल तीनै दिन भए पनि बहँदो नदीमा न्वाहोस् । अशक्त जनले पनि दरिद्रता दूर गर्ने इच्छाले क्यै न क्यै दान गरोस् । माघ महीनामा तीनै दिन पनि तीर्थमा स्नान गर्नाले धनी जनहरू धेरै बाँच्ने हुन्छन् । मकरराशिमा सूर्य रहेको पुण्य समयमा पाँच वा सात वा दुवै दिन भए पनि गरिएको माघस्नान शुक्लपक्षको चन्द्रमा बढ्दै गए- झैँ फल बढ्दै जाने हुन्छ, किनकि अतिपुण्य माघमास मनुष्य- हरूलाई पुण्य दिने हुन्छ । स्नान-दानादि कर्मले माघका सबै तिथिहरू असल कार्य गर्नका लागि योग्य छन् । किनकि ती कार्य गर्नेहरूलाई तिनले अक्षय स्थान दिलाउँछन् । त्यसकारण, आफ्नू कल्याण चाहने व्यक्तिले माघ महीनामा बस्ती- बाहिर बहेको जलमा न्वाहुने गर्नू । अब म तिमीलाई माघस्नान गर्ने विधि बताउँछु श्रेष्ठ मनुष्यहरूले माघमा व्रत बसेर माघस्नान गर्नका लागि केही नियमहरूको पालन पनि गर्नुपर्छ । धेरै फल पाउनका लागि बुद्धिमान्ले कतिपय खानेकुराहरू पनि छोड्नुपर्छ । महीनाभरि नै भूइँमा सुत्ने गर्नुपर्छ, तिल मिलाएको घिउको हवन गर्नुपर्छ, सनातन वासुदेव भगवान्लाई तीनै काल यानि प्रात:- मध्याह्न - सायम् त्रिकाल पूजा गर्ने गर्नुपर्छ । भगवान् माधवको उद्देश्य गरेर अखण्ड दीपको दान पनि गर्नुपर्छ । दाउरा - काम्लो-वस्त्र- जुत्ता- कुम्कुम (केशर) - घिउ-तेल- डस्ना - सिरक- गलैचा-पर्दा र अन्न यी सब वस्तु पनि हे पवित्रा देवी ! यथाशक्ति आफ्नू सावगास- अनुसार माघमा दान गर्नुपर्छ । यस्तै नै गरी माघ महीनामा वेद पढेको ब्राह्मणलाई एकै रत्ती भए पनि सुन दान गर्नुपर्छ । यो दान त समुद्र झैँ कहिल्यै ननाशिने हुन्छ । माघ महीनामा अर्काले बालेको आगो व्रती जनले नताप्नु, वेद नपढेकोले दान नलिनू । माघको अन्तमा सावगास-अनुसार बाहुनहरूलाई भोजन गराउनू । अनि आफ्नू कल्याण चाहने व्यक्तिले तिनलाई दक्षिणा दिनू । एकादशीको व्रतको उद्यापन गरे-झैँ त्यसै गरी माघका व्रतको पनि अन्तमा उद्यापन गर्नू । हे पवित्र हृदय भएकी पवित्रा ! अक्षय स्वर्गवास चाहने श्रद्धालु व्यक्तिले अनन्त पुण्य पाउनका लागि तथा श्रीविष्णु भगवान्लाई प्रसन्न पार्नका निमित्त अघि कहिएका कुराहरू अवश्य गर्नुपर्छ । “हे गोविन्द ! हे अच्युत ! हे माधव ! मकरमा सूर्य रहेको माघ महीनामा गरिएको यो स्नानले हे भगवन् ! कहे अनुसारको फल प्रदान गर्नुहोस्” यस्तो मन्त्र उच्चारण गरेर चुपचाप न्वाहुने गर्नू, अनि एकाग्रचित्तले बारम्बार वासुदेव हरिकृष्ण माधवलाई स्मरण गर्नू । नजीकपुँडो जलाशय नभए जलपूर्ण गाग्रोलाई राति बाहिर खुला वायुमा राखेर घरैमा वाहे पनि हुन्छ । त्यो त्यस्तो घरको स्नान पनि तीर्थकै स्नान- बराबर समस्त इच्छाहरूलाई पूरा गर्नेवाला हुन्छ । माघमा नियमपूर्वक व्रत गर्नेले भोजनमा चाहिने सबै वस्तु- सहितको सिधा पनि दान गर्नुपर्छ । त्यस्तो स्नानको प्रभावले त्यो मनुष्य नर्कमा जाँदैन । मनुष्यहरूले तातो पानीले जुन स्नान सदा घरैमा गरिन्छ, मकरमा सूर्य रहदा गरिएको त्यो स्नान सदाको भन्दा छः गुना बढी फल दिने हुन्छ । अनि हे पवित्रा ! बस्ती-बाहिर वापी-पनेरा आदिमा गरिएको माघस्नान चाहिँ घरैमा बाह्र वर्ष गरिएको नित्यस्नान-बराबरको हुन्छ । पोखरीमा दुइगुना र सामान्य खोलामा न्वाहेको स्नानफल चारगुना बढी हुन्छ । स्वयं बनेका तालहरूमा गरिएको माघस्नान सदाको स्नानभन्दा सयगुना; त्यस्तै अरू महानदीहरूको सङ्गममा गरिएको माघस्नान चाहिँ सदाको भन्दा चार सय गुना बढी फल दिन्छ । हे पवित्रा ! मकरमा सूर्य रहँदा गङ्गामा गरिएको माघस्नानले मात्रै पनि मनुष्यले माथि कहिएका ती सबै फलको हजारगुना फल प्राप्त गर्दछ माघ महीनामा जो जन गङ्गामा डुब्की मारेर न्वाहुँछन्, ती जन चार हजार युगसम्म स्वर्गबाट फर्कदैनन् । जो मनुष्य माघमा गङ्गामा न्वाहुँछ, उसले प्रतिदिन हजार तोला सुन दान गर्ने गरेको बराबर फल पाउँछ । माघ महीनामा गङ्गास्नान गर्नाले जो फल प्राप्त हुन्छ त्यस्तो त्यो फलभन्दा प्रयागमा गङ्गा-यमुना-सरस्वतीको सङ्गममा गरिएको माघस्नानले गङ्गाका स्नानको सयगुनाको हजार गुना बेसी फल मिल्छ भनी ऋषिहरूले भन्नुभएको छ । हे पवित्रा ! जनताको कल्याण गर्नमा लागि- परेका ब्रह्माजीले नै पृथ्वीवासी जनताहरूले गरेका थुप्राका थुप्रा पापसमूहलाई भस्मीभूत पार्नका लागि प्रयागराज तीर्थ बनाउनुभएको हो । अब त्यस स्थानको बारेमा राम्रोसित यसको वर्णन सुन- निश्चय नै प्रयागको सेतो-कालो मिसिएको जल भएको सङ्गमकन उहिले ब्रह्माजीले पापरूप पापी पशुमनुष्यहरूको पाप नाश्नका लागि नै बनाउनु- भएको थियो । सयकडौँ पाप गरेको पापी व्यक्तिले पनि मकरमा सूर्य रहेको माघ महीनामा त्यो गङ्गा- यमुनाको सेतो-कालो मिश्रित जल भएको प्रयागराजको सङ्गममा न्वाह्यो भने फेरि उसले गर्भवास गर्नुपर्दैन । जुन मनुष्यले पाँचै प्रकारको महापाप गरेको छ, त्यस्तो पञ्चमहापातकीले पनि माघ महीनामा प्रयागको त्रिवेणीमा स्नान गयो भने त्यो त्यस्तो जन पनि परमपदमा प्राप्त हुन्छ ! जहाँ सेतो-कालो जलप्रवाह मिलेको छ, जसका मनिबाट सरस्वती नदी पनि मिसिएकी छन्, त्यस्तो पवित्र त्यो त्रिवेणी-सङ्गमकन स्वयं सृष्टिकर्ता ब्रह्माजीले नै बनाएको हो । त्यस त्रिवेणीमा वाहेर निष्पाप भएका जनहरू तिनको त्यो प्रवाहरूप बाटोबाट सरासर विष्णुलोक जाऊन् भनी निर्माण गरिएको हो ।
हे पवित्रा ! विष्णुको माया पार पाइ नसक्नुको छ । देवताहरूले पनि सहजै जित्न नसकिनेछ । यस्ती बलिई ती वैष्णवी माया पनि माघमा प्रयागमा आइन् भने खाक भएर डढ्दछिन् । माघ महीनामा प्रयागको त्रिवेणीमा डुबुल्की लाएर न्वाह्यो भने ती न्वाहुने व्यक्तिले नै पछि तेजोमय लोकहरूमा अनेकानेक सुखहरू भोगेर अन्तमा भगवान्मा लीन हुन्छन् । जो जन मकरमा सूर्य रहेको माघ महीनामा गङ्गा-यमुनाको सङ्गममा स्पर्श मात्र पनि गर्छ भने त्यसको त्यस पुण्यको बखान गर्न त चित्रगुप्त पनि पूराका पूरा सक्तैनन् । जो मनुष्य मकरराशिमा सूर्य रहेको माघ महीनामा गङ्गा- यमुना-सरस्वतीको सङ्गममा राम्रोसित न्वाहुँछ, त्यसको त्यो पुण्यको महिमा बताउन स्वयं ब्रह्माणी पनि समर्थ हुनुहुन्न । एक सय वर्षभन्दा पनि बेसी वर्ष निराहार बसेको जो फल छ, त्यो फल माघ महीनामा गङ्गा-यमुना- सरस्वतीको सङ्गम प्रयागमा तीन दिन मात्रै माघमा न्वाहुनाले प्राप्त हुन्छ । अनि सूर्यग्रहणमा कुरुक्षेत्रमा एक हजार भरी सुन दान गर्नाले जो पुण्य प्राप्त हुन्छ, त्यो फल माघमा प्रयागको त्रिवेणीमा दिनहुँ माघभरि न्वाहुनाले नै प्राप्त हुन्छ । हे पवित्रा ! पवित्र अन्तस्करणवाली साध्वी ! एक हजार राजसूय यज्ञ गर्दा जो अविनाशी फल प्राप्त हुन्छ, त्यस्तै फल माघभरि गङ्गा- यमुना-सरस्वतीको सङ्गम प्रयागमा दिनहुँ त्रिवेणी- स्नान गर्नेहरूलाई निश्चय नै प्राप्त हुन्छ । अनि पृथिवीमा जति तीर्थहरू छन्, तथा त्यस्तै जो सात पुरीहरू छन्, ती पनि मकरमा सूर्य रहेको माघ महीनामा प्रयागको त्रिवेणीमा स्नान गर्न मनुष्यरूप धारी आउँछन् । पापीहरूले न्वाहुँदा- पनि न्वाहुदाँ, ती पापीहरूको संसर्गको दोषले सबै र्न त तीर्थहरू मैला भएका हुन्छन्, ती तीर्थहरू पनि स्वरूप धारी आएर प्रयागको त्रिवेणीमा माघभरि न्वाहुनाले फेरि स्वच्छ निर्मल वर्णका हुन्छन् अर्थात् शुद्धिन्छन् । हे पवित्र पवित्रा ! सृष्टिको शुरूदेखि प्रत्येक जन्ममा मनुष्यहरूले जो पाप बटुलेका छन् अर्थात् सञ्चित गरेर राखेका छन्, त्यस्ता ती क्रूर हेराइ हेर्ने, रुखो बोलाइ बोल्ने, दयाहीन व्यवहार गर्ने, द्रव्यपिशाच जनका पनि पूर्वजन्मका ती सबै पाप प्रयागको त्रिवेणीमा माघभरि न्वाहुनाले भस्मीभूत हुन्छन् । प्रयागको त्रिवेणीमा माघ महीनामा तीन दिन मात्र न्वाहुने मनुष्यको पनि उसले वाणी- मन- शरीरले जीवनभर गरेको पाप निश्चय नै बिलाउँछ । जो मनुष्य प्रयागमा त्रिवेणीमा माघ महीनामा तीन दिन मात्र पनि न्वाहुँछ, त्यो मनुष्य; सर्पले आफ्नू पुरानो छाला यानि काँचुली त्यागे- झैं; उ पनि आफ्ना सबै पाप त्यागेर स्वर्ग जान्छ । जहाँसुकै पनि बहेकी गङ्गाजी कुरुक्षेत्रको समान मानिएकी छन् अर्थात् गङ्गामा जहाँ न्वाहे पनि कुरुक्षेत्रमा न्वाहेको फल-समान फल मिल्छ । जुन ठाउँमा गङ्गाजी विन्ध्य पर्वतमा ठोकिएकी छन्, त्यहाँ न्वाहुनाले अन्त गङ्गाजीमा न्वाहेको भन्दा दशगुना पुण्यदायी हुन्छिन् । काशीमा उत्तरवाहिनी गङ्गाजी विन्ध्यसङ्गमकी भन्दा सय- गुना पुण्यदायी छन् । काशीकी उत्तरवाहिनी गङ्गाभन्दा गङ्गा-यमुना-सरस्वतीको सङ्गमकी गङ्गा सयगुना अधिक फल दिनेवाली छन् । पश्चिम- वाहिनी ती गङ्गा त अन्तकाको भन्दा हजारगुना बेसी फल दिन्छिन् । जुन पश्चिमवाहिनी भएको ठाउँको गङ्गाको दर्शन मात्रले पनि ब्रह्महत्या जस्तो पाप पनि नाश हुन्छ । जो गङ्गाजी यमुनामा मिल्दा पश्चिमवाहिनी भएर मिल्दछिन्, त्यो दुर्लभ स्थानको जलमा माघ महीनामा यदि स्नान गर्न पाइयो भने त्यस न्वाहुनेका करोडौं-करोड पाप पनि भताभत मर्दछन् र त्यसै पानीमा बिलाउँछन् । हे पवित्रा ! त्यो गङ्गा-यमुना- सरस्वतीको सङ्गम अर्थात् दोभान नै पृथ्वीमा त्रिवेणी नामले प्रसिद्ध छ, जसको जललाई अमृत भनिन्छ, दुर्गति-नाशक भनिन्छ, स्वर्गतिदायक भनिन्छ । त्यस त्रिवेणीमा माघ महीनामा एकछिन मात्रै पनि रहन पाउनु देवता- हरूलाई पनि दुर्लभ छ । ब्रह्मा-विष्णु-महादेव- रुद्र- आदित्य-मरुद्गण- गन्धर्व-लोकपाल-यक्ष- किन्नर-नाग र अणिमा आदि अष्टसिद्धि साधेका सिद्धहरू; त्यस्तै जो अरू तत्त्व- व्याख्याताहरू अनि बह्माणी - पार्वती- लक्ष्मी- शची-मेना- अदिति- दिति आदि सबै देवपत्नीहरू तथा नागपत्नीहरू अनि घृताची-मेनका- रम्भा - उर्वशी-तिलोत्तमा आदि अप्सराका समूहहरू; त्यस्तै समस्त पितृका गणहरू पनि माघ महीनामा प्रयागको त्रिवेणीमा स्नान गर्नका लागि त्यहाँ आउँछन् । तिनीहरू सत्ययुगमा प्रत्यक्षरूपले आउँथे भने अरू युगमा गुप्तरूपले आउँछन् । प्रयागको त्रिवेणीमा माघ महीनामा तीन दिन मात्रै पनि न्वाहेको जो फल छ, त्यो त्यस्तो फल त पृथ्वीतलमा एक हजार अश्वमेध यज्ञ गर्नेले पनि प्राप्त गर्न सक्तैन भन्ने यति वृत्तान्त सुनाई हे पवित्रा ! उहिले काञ्चनमालिनी नामकी परीले प्रयागमा प्रत्येक माघ- भरिभरि नियमपूर्वक न्वाहेका उसका पुण्यफलहरूमध्ये केवल तीन माघको मात्र त्यस त्रिवेणीको आफ्नू मकरस्नानको फल कुनै राक्षसलाई दिएकी थिई त त्यसै पुण्यफलको प्रतापले त्यो त्यस्तो उग्र पापी पनि राक्षसत्वबाट मुक्त भएको थियो र द्यौताको जस्तै दिव्य देहको भएर विमानमा चढ़ी स्वर्ग गएको थियो भन्ने काञ्चनमालिनीको लामो कथा पनि सुनाउनुभयो ।
तसर्थ, हे पवित्रा ! अब तिमी पनि पूर्वजन्मका बाँकी समस्त पाप पखाल्नका लागि अब आउने पौषशुक्ल दशमीका दिन प्रयागको त्रिवेणीको तटमा गई माघको मासान्तसम्म कल्पवास बस्ने गरी त्यहीँ बसी पौषशुक्ल एकादशीदेखि पूर्णिमासम्म दिनहुँ त्रिवेणीमा तीन-तीन डुबुल्की मारी शरीर शुद्ध्याई त्यसपछि त्रिकाल न्वाही, भइँमै काम्लोमा सुती, ब्रह्मचर्यमा रही, सधैँ दिनको तेस्रो प्रहरमा एकछाक मात्र हविष्य खाई, पूर्णिमाका पवित्रा - उपाख्यान (एकत्रिंशोऽध्यायः) दिन हात गोडाका नङ काटी, त्यसै दिनदेखि त्रिकाल स्नान गर्ने गरी मध्याह्न- स्नानको बाद त्रिवेणीको तीरमै बालुवाको दुई ढिस्को उठाई, त्यसैमा चन्दन - अक्षता- धूप-दीप- नैवेद्यले शिव- पार्वतीको पूजा दिनहुँ गर्ने गरी माघशुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बसेर त्यसै पूर्णिमाका दिन स्वस्थानीको उद्यापन पूजा अर्थात् व्रतसमाप्तिमा गरिने पूजा गरी मकरमा सूर्य सरेर रहेको माघभरि नै तीसै दिनसम्म दम्पतीले नै त्रिकाल तीन-तीन डुबुल्की त्रिवेणीको जलमा नुहाई विशेष गरेर मकरराशिमा एकसाथ सूर्य-चन्द्रमा पृथ्वी रहेर कुम्भयोग परेको माघे औंसीमा दुवैले सके एक सय आठ-एक सय आठ डुबल्की मारेर त्रिवेणीमा न्वाही सावगास भए गरीबगुरुवालाई ख्वाई या अन्न बटाई यसरी नै दुई माघ बिताई तेस्रो माघमा माघशुक्ल एकादशीदेखि पूर्णिमासम्म कल्याणकारी पञ्चरात्र व्रत गर । जुन व्रत गर्नाले यस लोकमा सम्पत्ति - सुख-शान्ति र परलोकमा मुक्तिसमेत मिल्दछ । त्यो पञ्चरात्र व्रत श्रद्धापूर्वक गर्दा बिहानै त्रिवेणीमा न्वाहेर जो पाँच दिन पूरै पानी मात्र पिएर निराहार रहन्छ त्यो व्रती मरेपछि वैष्णव लोकमा वास पाउँछ । जो जन ती पाँच दिन एक छाक मात्र फल-फूल खाएर रहन्छ,त्यो जन पहिलेका सबै पापबाट छुटेर स्वर्गलोकमा गई रमाउँछ । जो जन ती पाँचै दिनसम्म ब्राह्मण- भोजन गराउँछ, त्यस जनले विधिपूर्वक द्यौता- सहितका सारा दानव र मानवलाई भोजन गराए- बराबरको पुण्य पाउँछ । यी पाँचै दिनसम्म स्वच्छ शुद्ध पानी भरिएको जलपूर्ण घडा जो जन ब्राह्मणलाई दान गर्छ, त्यस जनले नै मानों चर- अचर सहितको सकल ब्रह्माण्ड नै दान गय भन्ने ठाने हुन्छ । जो जन ती पाँच दिनसम्म प्रातःस्नान गरेपछि प्रशस्त तिल भरिएको पात्र दान गर्छ, त्यो जन यस लोकमा ठूला-ठूला धेरै सुख भोगेर अन्तमा परलोकमा सूर्यलोकमा गएर आनन्दसित रहन्छ । ती पाँच दिनसम्म जो जन अटल ब्रह्मचर्यपूर्वक रहन्छ, त्यो जन मरेपछि स्वर्गमा गएर स्वर्गका अप्सराहरूका साथ हर्षपूर्वक रहन पाउँछ । हे साध्वि ! हे सज्जन सुशीला ! हे कल्याणी ! तिमी पनि आफ्ना पतिका साथ यस्ता प्रकारको विधिपूर्वकको यो व्रत र स्वस्थानी देवीको पूजा गर, तब तिमी यस लोकमा धन-धान्यले युक्त भएर अनेक सुख-भोग भोगी हे सुव्रते ! पतिव्रते ! मरेपछि स्वर्ग जानेछ्यौ ।' यति भन्दै खाईवरीसकी उठी बाहिर आई सुमेधाले करुवाले धारो लाएको पानीले हातमुख धोई चुठचाठ गरी टक्याइएको स्वच्छ तौलियाले हात-मुख पुछी, बस्न ठीक पारिएको आसनमा बसी, एकछिन गफगाफले मन बहलाई अनि उठी अल्खा पहिरी, झोली भिरी, कमण्डलु हातमा झुन्ड्याई, खराउ लगाई तब पवित्राले पादस्पर्श गरिएका तथा सुमेधाले परसम्म पुऱ्याई चरणमा ढोगिएका ऋषि कौडिन्यले 'जाऊँ है त' भन्दै आफ्न बाटो लागे ।
हे अगस्त्य मुनि ! तब त्यसरी कौडिन्यले भनिएकी उनले; ती कौडिन्यले जसरी जसरी बताउनुभएको थियो, त्यसै-त्यसै गरी पौषशुक्ल दशमीदेखि मकरमा सूर्य रहेसम्म प्रयागको त्रिवेणीको तटमा दम्पती साथै भै कल्पवास बसी आफ्ना पतिका साथमा श्रद्धा-भक्तिपर्वक त्यो व्रत पूरा गरिन् । त्यो साल असोजमा मलमास परेकोले फागुन लागेपछि परेको माघशुक्ल एकादशीदेखि थालेको पूर्ण उपवासपूर्वकको त्यो पञ्चरात्रे व्रत पूरा भएपछि माघशुक्ल पूर्णिमाका दिन आफ्ना पतिका साथै रहेकी उनले उहीँ स्वस्थानी देवीको उद्यापन पूजा गरिरहेकै ठाउँमा राजभवनबाट आफूतिर आइरहेको राजाको छोरो युवराजलाई देख्ती भइन् । अनि उहाँ आएको उस युवराजले पवित्रा दम्पतीलाई भव्य- भव्य वस्तुहरूले भरिभराउ भएको नयाँ घर दिएर, स्वस्थानी देवीको व्रत-पूजा र त्रिवेणीमा गरेको पञ्चरात्रव्रतपूर्वकको तीनवर्षे मकरस्नानको संयुक्त पुण्यले प्रेरणा गरिएको त्यस युवराजले आफ्नै इच्छाले विधिपूर्वक ती दम्पतीलाई लगेर त्यस घरमा बसायो र ती ब्राह्मण सुमेधालाई जीविकाका लागि यौटा गाउँको नजीकै एक हजार बड्की बिघा जमीन कुशे दान दिएर, उनको त्यों तीनवर्षे तपस्याले प्रसन्न भएका राजपुत्रले ती दम्पतीको स्तुति गरेर आफ्नू घर गए ।
त्यसपछि सुमेधाकी आफ्नी पत्नी पवित्राले गरेका पञ्चरात्रे व्रतपूर्वकको स्वस्थानी देवीको व्रतपूजा- का प्रभावले र ती दुवै दम्पतीले मिलेर गरेका त्रिवेणीका तितीसदिने माघस्नानका प्रभावले ती सुमेधा दम्पती पहिलेका सारा पापबाट छुटेका र, सारा सुखका औलादौला साधनले युक्त भएका छँदा यस लोकमा पति-पत्नीका साथमा मिल्ने अनेक सोख-भोग भोगेर अन्तमा विष्णुको पुर वैकुण्ठमा ती पति-पत्नी दुवै जाँदा भए । त्यस्ता प्रकारले जो-जो मनुष्यहरू पञ्चरात्र व्रतपूर्वक श्रीस्वस्थानी देवीको अत्यन्त उत्तम व्रत- पूजाका साथ महीनैभरि प्रतिवर्ष त्रिवेणीमा मकर- स्नान गर्दछन्, तिनको पुण्य र त्यो पञ्चरात्र व्रतबाट प्राप्त भएको पुण्यको बखान गर्न त मबाट पनि पार लाग्दैन अर्थात् त्यस पुण्यको बखान गर्न म सक्तिनँ । पुष्कर आदि गरिएका तीर्थहरू, त्यस्तै गङ्गा आदि गरिएका पुण्यनदीहरू अनि दुहुनी गाईदान जस्ता मुख्य-मुख्य दानहरू त्यसले सबै गरी भन्ने ठाने हुन्छ, जसले पञ्चरात्र व्रतको विधि- पूर्वक स्वस्थानीको व्रत-पूजा गरी । जसले पञ्च- रात्रको व्रत विधिपूर्वक गरी उसले व्रतखण्डमा बताइएका सारा व्रत गरिसिद्ध्याई भन्ने ठाने हुन्छ । जस्तो दुइखुट्टेहरूमा ब्राह्मण श्रेष्ठ हुन्छ, जस्तो चारखुट्टेहरूमा गाई श्रेष्ठ हुन्छ, जस्तो देवताहरूमा त्यसै गरी महीनाहरूमा चान्द्र र इन्द्र श्रेष्ठ छन्, सौर दुवै माघ महीना श्रेष्ठ छन् । माघकृष्ण परेवा- देखि माघशुक्ल पूर्णिमासम्मका तिथिहरूलाई चान्द्र माघ महीना भनिन्छ र मकरराशिमा सूर्य सरेको दिन माघे संक्रान्तिदेखि तीस दिनसम्मको समयलाई सौर माघ महीना भनिन्छ । जुन नर-नारीले जन्म पाएर, जीवनमा एकपल्ट पनि प्रयागको त्रिवेणीमा गएर, विशेष गरी कुम्भयोग परेको माघे औंसीका दिन एकपल्ट पनि मकरस्नान गरेको छैन, त्यस्ता ती जन निश्चय नै जन्मघाती हुन् । त्यस्ता नर- नारी र प्रतिवर्ष स्वस्थानीको व्रत-पूजा नगर्ने नारी- हरू मरेपछि चौरासी लाख कष्टकारक योनि- हरूमा जन्मदै मर्दै गर्दै जन्मनु- मर्नुपर्ने फेरोमा भट्किरहन्छन् ।
त्यसकारण, हे अगस्त्य मुनि ! लाखौं वर्षसम्म अनेक कष्ट सहेर बल्ल-बल्ल पाएको यस मनुष्य जन्ममा त्यो चौरासी लाखको फेरोबाट छुट्नका लागि नारीहरूले पञ्चरात्रे व्रतसहित श्रीस्वस्थानीको व्रत-पूजा र नर-नारी दुवैले प्रयागको त्रिवेणीमा कल्याणकारी मकरस्नान अवश्यै गर्ने गर्नुपर्दछ । जो कोही पनि मनुष्यहरू यस संसारमा जन्मिएर त्रिवेणीहरूमा न्वाहीध्वाई शुद्ध-पवित्र भएर सर्वशुद्ध विधिले अर्थात् असल विधिपूर्वक पवित्रा र सुमेधाले जस्तै गरी स्वस्थानीको व्रत-पूजा र त्रिवेणीमा मकरस्नान गर्ने गर्दछन्, त्यस्ता मनुष्यहरू यस लोकमा सुख-सम्पत्ति भोगेर मरेपछि स्वर्गमा इन्द्रले जस्तै सकल सुख-ऐश्वर्य भोगी त्यसपछि तीनै भुवनले स्तुति गरिने भगवान् विष्णुको धाम वैकुण्ठमा जान्छन्।।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमाराऽगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां पवित्रा पुण्यफलप्राप्तिर्नाम एकत्रिंशोऽध्यायः ।। ३१ ।।
।। इति श्रीस्वस्थानी व्रतकथा समाप्ता ।।



