Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - ३०
श्री स्वस्थानी व्रत कथा । ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - श्री स्वस्थानी व्रत सुरु भएको आज ३०औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

यस अध्यायमा अगस्त्य मुनिले पूर्वजन्ममा घोर पाप गरेका मानिसहरू पनि प्रयागको त्रिवेणीमा मकरस्नान र श्रीस्वस्थानी व्रत–पूजाबाट मुक्त हुन्छन् कि हुँदैनन् भन्ने जिज्ञासा व्यक्त गर्छन् । त्यसको उत्तरमा कुमारजीले काञ्चनमालिनी नामकी अप्सराको कथा सुनाउँछन् । उनी त्रेतायुगमा पूर्वजन्ममा ‘परमसुन्दरी’ नामकी वेश्या थिइन्, जसले युवावस्थामा धर्मविहीन जीवन बिताइन् । बुढेसकालमा पश्चात्ताप भएपछि एक विद्वान् ब्राह्मणको उपदेश अनुसार प्रयागको त्रिवेणीमा मकरस्नान र स्वस्थानी व्रत गरेकी थिइन् ।

प्रयागमा श्रद्धापूर्वक माघभरि त्रिकाल स्नान, मकरस्नान र “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गरेपछि उनका सम्पूर्ण पाप नष्ट भए र उनी देवयोनिमा जन्मेर काञ्चनमालिनी अप्सरा बनिन् । कैलासमा पार्वती देवीकी सखी भएर बस्दा उनले एक भयानक बूढो राक्षसलाई भेटिन् । त्यस राक्षसले आफ्नो पूर्वजन्मको पापपूर्ण ब्राह्मण जीवनका कारण अनेक योनिमा जन्मिएर अन्ततः राक्षस बनेको कथा सुनायो र उद्धारको उपाय माग्यो ।

काञ्चनमालिनीले आफ्ना माघस्नान र स्वस्थानी व्रतको पुण्यबाट केही पुण्य दान गर्दा राक्षस तुरुन्तै दिव्य देहधारी देवतामा परिणत भई स्वर्गलोक गयो । अन्तमा काञ्चनमालिनीले धर्म, अहिंसा, सत्य, वैराग्य र ईश्वरभक्तिको उपदेश दिइन्। यस अध्यायको मुख्य सन्देश भनेको जति ठूलो पापी भए पनि प्रयागको त्रिवेणीमा मकरस्नान, स्वस्थानी व्रत र सत्सङ्गबाट पाप नाश भई मोक्ष वा स्वर्ग प्राप्त हुन सक्छ भन्ने हो ।

अथ त्रिंशोऽध्यायः 

हे कुमारजी ! तपाईंका मुखारविन्दबाट हिजो मैले सुलोचनाको सकल वृत्तान्त भलीभाँति सुनेँ । उनी जन्मदैदेखि पुण्यात्मा थिइन् । हुन सक्छ, उनी उनको पहिले-पहिलेका जन्महरूदेखि नै नारायणको तपस्या गर्दै आएकी हुँदी हुन् । पूर्वजुनीहरूको अभ्यासको संस्कारले नै यस जन्ममा पनि नारायणको तपस्यामा तल्लीन हुन सकेकी होलिन् । किनकि ब्रह्माले शिवले झैँ यसै जन्ममा मात्रै लाभ हुने अस्थायी वर नारायणले दिदै दिनुहुन्न । उहाँले त तपस्या पूरा भएपछि मात्रै काम पुऱ्याएर चिरस्थायी अविनाशी मुक्ति-पद मात्रै वर दिनुहुन्छ र उहाँको तपस्यामा लागेको व्यक्तिले त्यो तपस्या जन्मजन्मान्तरमा भए पनि पूरा गर्नैपर्छ, नगरेसम्म त्यो अधूरो तपस्या पूरा गराउनका लागि त्यस - त्यस साधकलाई सांसारिक विषयवासनाबाट हटाई, त्यसमा नअल्मल्याई विरक्त्याउन विष्णुले सुलोचनालाई जस्तै परिस्थिति पारेदिनुहुन्छ रे ! पूर्वजन्मका तपस्याका अभ्यासको लर्को त्यो तपस्या नटुङ्गिएसम्म हरेक जन्ममा पछि  लागिरहेको हुन्छ भन्ने कुरो शास्त्रहरूले कहेका छन् । सुलोचनाको पनि यस्तै परिस्थिति हुँदो हो र यस जन्ममा पूरा गरिन् होली, यसमा के आश्चर्य छ र ! भन्ने तर्क-वितर्कले हिजो मलाई रातभरि नै पटक्कै निद्रा परेन, छट्पटिइरहेँ । तसर्थ, पूर्वजन्महरूको धर्मको संस्कार पनि पटक्कै नरहेका, यस जन्ममा पनि उग्र, अति निन्द्य पापैपाप मात्र गरेका भयङ्कर पापी जन पनि उमेर ढल्केपछि बाँकी जीवनभर ती दुई प्रख्यात त्रिवेणीमध्ये कुनै एकमा रही नियमपूर्वक नित्य त्रिवेणीस्नान, मकरस्नान, स्वस्थानीको व्रत-पूजा गर्ने जनहरू ती उसका त्यस्ता उग्र पापहरूबाट छुटेका छन् कि छैनन् ? छुटेका छन् भने त्यस्तो घोर पापबाट को-को छुटेका छन् ? अन्तमा ती कस्ता भएका छन् ? कहाँ-कहाँको वास पाएका छन् ? आज मलाई यही कुरो सुन्नको प्रबल इच्छा जागेको छ, ती मध्ये यौटाको कथा आज सुनाउनोस् भनी अगस्त्य मुनिले बिन्ती गर्दा कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! सुलोचनाको त्यो अद्भुत दिव्य कथा तिमीले हिजो सुनिसक्यौ । अब आज तिमीलाई म काञ्चनमालिनी नामकी यौटी श्रेष्ठ अप्सराको अत्यन्त राम्रो कथा सुनाउँछु, सावधान भएर सुन - यो चलिरहेको पद्मकल्पको अट्ठाईसौं चौघड़ी- भन्दा दुई चौघड़ी पहिलेको त्रेतायुगमा गन्धर्वनगरमा जन्मिएकी अत्यन्तै राम्री काञ्चनमालिनी नामकी अप्सरा, सूर्य-चन्द्र- पृथ्वी यी तीनै मकर राशिमा रहेकोले कुम्भ योग परेको माघ महीनाको माघे औंसीका दिन प्रयागमा गङ्गा-यमुना- सरस्वती मिलेको सङ्गमस्थल त्रिवेणीमा सचैल मकरस्नान गरेर त्यत्तिकै चिसै लुगाले आकाशमा उडेर कैलासमा गइरहेकी थिई । अत्यन्त तेजस्विनी, सुन जस्तो वर्ण, ढिस्केको नितम्ब, लाम्चा - लाम्चा आँखा, पूर्ण चन्द्रमा जस्तो चहकिलो अनुहार, लामा-लामा केश, ठडिएका गोल-गोल स्तनहरूले शोभिएकी; कुच्चीन अर्थात् सुनको मसिनो धागो जस्तै तारले बुनेको चीनियाँ सारी र चौबन्दी चोलो टम्म मिलाएर आङमा लाएकी, न्वाहुँदा आँचल कम्मरमा कसेकीले छातीमा चौबन्दी चोलो भुक्किएकी, अति राम्री उसलाई आकाशमा उडेर गइरहेकी देखेर, तल हिमालयको कन्दरामा रहने, पहाड जस्तै अग्लो कुरूप कुनै बूढो राक्षसले उनलाई देख्यो र उसले भन्यो - 'हे कमलका फूल- को कोपिला जस्ता आँखा भएकी कल्याणी ! तिमी को हौ ? तिमी कहाँबाट आइरहेकी छ्यौ ? तिम्रा लुगा किन चिसै छन् ? तिम्रो चुल्ठो किन भिजेकै छ ? हे सुन्दरी ! कहाँबाट आएकी हौ ? तिमीमा यो उड्ने शक्ति कसरी भयो ? अनि हे कल्याणी ! कुन पुण्यले तिम्रो यो शरीर यति तेजिलो भएको हो ? यो यस्तो अत्यन्तै राम्रो मनोहररूप कसरी भयो ? हे सुलोचने ! राम्रा आँखावाली ! तिम्रो चिसो लुगाबाट मेरो टाउकोमा झरेको पानीको थोपाले हे भद्रे ! सधैँ क्रूर रहने मेरो मन एकाएक शान्त भयो । यो जलको छिटाको यस्तो महिमा के हो ? यो कुरो मलाई बेलिविस्तार लाएर वर्णन गर । किनकि मलाई तिमी अत्यन्त शीलवती लागिरहेकी छौ । यस- कारण, तिम्रो आकृति गुणहीन हुन सक्तैन ।' त्यस राक्षसको यस्तो कुरो सुनेपछि आफ्नू उडान रोकेर त्यो अप्सरा काञ्चनमालिनीले भन्न थाली- हे राक्षस ! सुन, म आफ्नू इच्छा अनुसार रूप धारण गर्न सक्ने काञ्चनमालिनी नाम गरेकी अप्सरा हुँ । अहिले म प्रयागबाट आइरहेकी छु, मैले प्रयागमा गङ्गा-यमुना-सरस्वतीको सङ्गममा न्वाहेकी छु, यसैउसले मेरो केश र वस्त्र भिजेकै छ, हे राक्षस, म यतिखेर पर्वतहरूमा अति उत्तम कैलास पर्वतमा गइरहेकी छु । उहाँ सुर-असुर अर्थात् देव-दानवले भक्तिपूर्वक पूजा गरिने पार्वती - पति महादेव रहनुहुन्छ । हे राक्षस ! प्रयागको त्रिवेणीको जलको प्रभावले तेरो दुष्टता हटेको हो । जुन गङ्गा-यमुना-सरस्वतीको सङ्गम- स्थल प्रयागको त्रिवेणीमा धेरै वर्ष मकरस्नान गरेको पुण्यको प्रभावले म यतिखेर सुमेधा नामका गन्धर्वकी अति सुन्दरी छोरी भएकी छु, अब म त्यो सबै कुरो तिमीलाई बेलिविस्तार लाएर कहन्छु, तिमी मन लाएर सुन- 

यस पद्मकल्पको छब्बीसौं चौघडीको त्रेतायुगमा म अजनाभ देश अर्थात् अचेलको भारतवर्षमा रहेको कलिङ्ग देशको कलिङ्गाधिपति राजाकी परी जस्ती सुन्दरी रखौटी यवनीबाट जन्मेकी हुनाले रूप र सुन्दरताले शोभिएकी, अनि आफ्ना सुन्दरताका मदले घमण्डिएकी 'परमसुन्दरी' नामकी वेश्या थिएँ । त्यस कलिङ्ग नगरमा त्यतिखेर म अरू समस्त सुन्दरीहरूको शिरोमणि यानि अग्रणी थिएँ । हे राक्षस ! त्यस जन्ममा मैले आफ्नो तरुनाइमा आफ्ना इच्छा-अनुसारका सारा भोग भोग्नासम्म भोगें । मैले आफ्नू यौवनको रूप- रूपी सम्पत्तिले त्यो सारा नगरलाई मुग्ध पारेकी थिएँ । ममा लट्ठिएका धनाढ्य - धनाढ्य युवक- हरूबाट विचित्र-विचित्रका मनग्गे रत्नहरू, नाना प्रकारका गहनाहरू, प्रशस्त धन अनि रङ-बिरङका लुगाहरू तथा कपूर र अगरु-मिश्रित चन्दन आदि यी सबै वस्तुहरू मोहिनीरूप भएकी मैले कमाएकी थिएँ अर्थात् जुटाएकी थिएँ । हे राक्षस ! त्यतिखेर म आफ्नू घरमा कति सुन र कति रत्न छ, त्यसको अन्त जान्दिनथिएँ । किनकि कामले पीडित भएका युवा राजपुत्रहरू र सेठ साहूका पट्ठा छोराहरू मेरा चरणको सेवा सधैँ गर्थे । मैले आफ्ना नखराले ती सबैको सर्वस्व धुतेँ । कति कामपीडित युवक त आपसमा हानाहान गरेर मरे पनि । त्यतिखेर त्यो अति राम्रो पूरा नगरमा मेरो त्यस्तै चाल थियो । परन्तु जब मेरो दन्दनाउँदो उमेर ढल्कियो र युवकहरूको ओइरो ओइरिन ओइलाउँदै गयो, तब मेरो मन विरक्तिदै शोच गर्न लाग्यो कि -
"हरे शिव ! मैले जबानीमा न त सत्पात्रमा दान दिएँ, न मैले कुनै यज्ञ-यागादिमा हवन गरेँ वा गराएँ, न त मैले कुनै मन्त्रको नै अनुष्ठान गरेँ, न त मैले कुनै व्रत नै नियमपूर्वक गरेँ, न त मैले धर्म-अर्थ-काम-मोक्ष दिने भगवान्को आराधना नै गरेँ, न त मैले दुर्गति नाश गर्ने दुर्गा देवीको पूजा नै गरेँ । यो जाबो तुच्छ दुइदिने चटकमटके नारकीय सुखभोगको उपभोग गर्ने प्रबल लालसाले गर्दा न ता सारा पाप हर्ने विष्णुको नै स्मरण गरेँ या उनको नाम जपें, न त ब्राह्मणहरूलाई असल- असल भोजन र प्रशस्त दक्षिणाले तृप्त सन्तुष्ट नै पारेँ, न कुनै प्राणीको कल्यांण हुने कार्य नै गरेँ । त्यतिखेर यौवनले दन्किएर मात्तिएको उमेरमा धर्मको कत्ति पनि वास्तै नराखीकन ती मध्ये यौटा पनि पुण्य काम गर्दैगरिनँ । हे भद्र राक्षस, मैले त्यसरी धेरै पाप गरेँ र अन्तमा गालाका छाला चाउरिन थालेपछि ती पापकर्मले मेरो मन भत्भती पोल्न थाल्यो । तब म असाध्यै पिरिएँ र अत्यन्त चिन्ताग्रस्त भएर कुनै विद्वान् ब्राह्मणका शरणमा गएँ । ती ब्राह्मण देउता गुरुकुलमा बसेर आश्रमको नियम पालेर घन-जटा-सार-स्वरसहित पढ्नुपर्ने ऋग्वेद-यजुर्वेद सामवेद- अथर्ववेद यी चारै वेद- का, अनि छः वेदाङ्गशास्त्र अर्थात् पढ्दा अनुशासन सिकाउने शिक्षाशास्त्र, वेदको उच्चारण गर्न सिकाउने कल्पशास्त्र, वेदका शब्द सिद्ध गर्न सिकाउने व्याकरणशास्त्र, ग्रहहरूको गतिविधि सिकाउने ज्योतिषशास्त्र, वेदका शब्दको अर्थ बताउने निरुक्तशास्त्र, वेदको लय सिकाउने छन्दशास्त्र; अनि छः दर्शनशास्त्र अर्थात् ठीक- बेठीक निर्णय गर्न सिकाउने न्यायदर्शन, आत्माबारे बोध गराउने वेदान्तदर्शन, प्रकृति- पुरुषबारे विवेचना गर्ने सांख्यदर्शन, कार्यलाई देखेर कारण पत्ता लाउन सिकाउने वैशेषिकदर्शन, वेदविहित कर्म नै धर्म हो भनी सिद्ध गर्ने पूर्वमीमांसादर्शन, ब्रह्म नै ईश्वर हो भनी प्रतिपादन गर्ने उत्तरमीमांसादर्शन, यी छः दर्शन र चित्तवृत्तिलाई रोकेर चित्तलाई यौटै वस्तुमा अड्याइराख्न सिकाउने योगदर्शनका आठ अङ्ग यानि इन्द्रियका पछि मन नदौडाउनु नै यम, पवित्रतापूर्वक दैनिक सदाचारमा रहनु नै नियम, पद्मासन आदिमा बस्न सिक्नु नै आसन, श्वास-प्रश्वास क्रिया गर्न सिक्नु नै प्राणायाम, इन्द्रियका वेगलाई रोक्नु नै प्रत्याहार, सूर्यको तेजमा मात्रै मनको एकाग्रता हुनु नै ध्यान, सुनेको कुरो यथार्थ बुझ्नु नै धारणा, प्राणलाई ब्रह्माण्डमा पुऱ्याई उहीँ राखिराखी भएको अविचल स्थिति नै समाधि यी विद्याका ज्ञाता अर्थात् जान्ने तथा गाउँ-बस्तीका विद्यालय-महाविद्यालय-विश्व- विद्यालयहरूमा पढ़ाइने व्यावहारिक चौध विद्या र चौषट्ठी कला विद्यामा पारङ्गत, अनि लघुसिद्धान्त कौमुदीको साह्रै उपयोगी गुवर्था नामको छर्लङ्गे अर्थ लेखिदिएर संस्कृत पढ्न प्रारम्भ गरेका छात्रहरू र त्यो पढाउने गुरुहरूका श्रद्धापात्र भएका, त्यस्तै; अष्टसिद्धिका ज्ञाता अर्थात् हात्तीलाई भुसुनो बनाउने अणिमासिद्धि, भुसुनोलाई हात्ती बनाउने महिमासिद्धि, मूसोलाई हात्ती जस्तै गह्रौँ बनाउने गरिमासिद्धि, हात्तीलाई मूसो जस्तै हलुँ बनाउने लघिमासिद्धि, नपाइने वस्तु पाउन सक्ने प्राप्तिसिद्धि, थोरैलाई धेरै बनाउने प्राकाम्यसिद्धि, स्वयं शासक बन्न सक्ने ईशितासिद्धि र कसैलाई पनि वशमा गराउन सक्ने वशितासिद्धिकन साधना- द्वारा साधेका सिद्ध, अनि मन्त्रले फुकेको पानी आँखामा छ्यापिदिएर रत्नाकर कहिने समुद्रभित्र रहेको महापद्म-पद्म-शंख-मकर-कच्छप-मुकुन्द- कुन्द - नील- खर्ब नामका नवविधि अर्थात् सम्पत्तिका भण्डार देखाइदिने तथा अति शान्त स्वभावका अत्यन्तै शान्तिप्रिय एवं चित्तको स्थिरता शम, इन्द्रियहरूको निरोध दम, सत्यता तप, शुद्धता शौच, क्षमापन क्षान्ति, मोहरहितता आर्जव, बोधता ज्ञान, विशेष बुद्धि विज्ञान, ईश्वरमा अटल विश्वासता आस्तिक्य, कृपापन दया, सहृदयतापन दाक्षिण्य यी गुण भएका तथा अति सन्तोषी, अरूको उन्नति देखेर रमाउने, कसैलाई पनि उसको कल्याण हुने कुरो मात्र कहने, मान-अपमानमा समान रहने; मानिसले आकाशमा उड्न सिक्यो, पानीमा बुड्न सिक्यो, भुइँमा गुड्न सिक्यो, तर मानिस-मानिसको परस्परमा कस्तो सद्व्यवहार हुनुपर्छ भन्ने कुरो सिक्न सकेन भनी पिरिइरहने; किन्तु भूमिबाट जलबाट पैदा गरिएको हुनाले भूमिपुत्र भौमासुर कहिने जसलाई भस्मासुर पनि भन्दछन् त्यस्तो, जसले आफ्नै आमा पृथ्वीलाई खोक्र्याएर उसको सन्तुलन बिगारी परिणाममा विध्वंसरूपी प्रलय गराउँछ, जसको चहल-पहलले केही दिनको क्षणिक सुख दिलाए पनि समस्त जनताको शान्ति, हित र आनन्द हर्दछ, त्यस्तो दानवी भौतिक विद्यालाई पटक्कै मन नपराउने तथा छः वेदाङ्ग अर्थात् शिक्षा - कल्प-व्याकरण-निरुक्त- ज्योतिष- छन्द; अनि षट् दर्शन अर्थात् न्याय- वेदान्त- सांख्य- वैशेषिक- पूर्वमीमांसा-उत्तरमीमांसा; अनि चार वेद अर्थात् ऋग्वेद-यजुर्वेद- सामवेद- अथर्ववेद; एवं योग र योगका आठ अङ्ग अर्थात् यम-नियम- आसन-प्राणायाम- प्रत्याहार - ध्यान-धारणा- समाधिका शिक्षक; तथा ब्राह्मणवर्गले सिद्ध पारेका वेदका मन्त्रका प्रभावले मात्रै चुमुर्क्याउन सकिने, अरू कुनै शक्तिले पनि नजितिने अजेय दानवहरू र जल वा थलले सूर्यबाटै संग्रह गरेर आफूभित्र धारण गरेको वडवाग्नि नामको बिजुलीलाई प्रयोगमा ल्याई कतिपय काममा जोताई पैसा कमाउने तथा विध्वंसकारी बाटोमा लम्कने दानवी शक्ति- कारहरूलाई र तिनका उत्पादित शक्तिलाई निरन्तर ध्रुव ताराको दृष्टि परिरहने हुनाले आर्यावर्त कहिने आफ्नू पुण्यभूमि हिमालय र विन्ध्याचलको बीचको भूमिमा र त्यस भूमिमाथिको पूरै आकाशमा ढिम्कनै नदिने तथा आफ्ना पुर्खाले आफ्ना उत्तराधिकारी सन्तान ब्राह्मणवर्गलाई मात्र ती मन्त्र सिद्ध गर्ने शक्ति थाती छोडेर गएका वेदका मन्त्रहरूलाई सिद्ध पार्न आफ्ना शिष्यहरूलाई उक्साइरहने; अनि तिनको बुद्धि तिखार्नलाई गायत्रीजपको महिमा बताइरहने फेरि पृथ्वी-जल-तेज- वायु-आकाशको सामूहिक शक्तिसमूह नै ब्रह्मा हो भन्ने जानिराख्न सधैँ पाञ्चायनको पूजा गर्न लाउने, सूर्य उत्तरायण हुँदा एक सय आठ मिनेट दिन बढ्छ र सुमेरुमा पुगी दुइ-चार दिन उसलाई परिक्रमा गरी सूर्य दक्षिणायन हुँदा एक सय आठ मिनेट नै दिनमान घट्तछ भन्ने स्मृतिबोधका लागि एक सय आठ दानाको रुद्राक्षको वा अरू कुनै मालामा गायत्रीजप गर्न लाउने, अनि मैले भनेका यी कुरा नमानेर सूर्य उदाउँदा भाग्ने, सूर्य अस्ताउँदा जाग्ने अन्धकार झैँ जागेको दानवी विलासिताको चमकदमकमा लट्ठिई वेद पढ्न एवं उसका मन्त्र सिद्ध पार्न छाड्यौ र उसको लर्को लायौ भने कल्पान्तसम्म ती दानवहरूको दास बनी अनि सारा आर्यावर्तका जनतालाई पराधीन पारी उनका अप्रत्यक्ष दास बनाई ती दानवका डरले निरन्तर थर-थर, थर- थर काम्दै उनका वशमा रहनुपर्ला भनी बारम्बार सम्झाइरहने, यदि तिमीहरूले आफ्नू ब्राह्मणत्वको 'त्रिकालदर्शी जगतै कँपाउने' शक्तिलाई थामिराख्न सक्यौ भने कुनै पनि अरू शक्तिले तिमीहरूलाई क्यै नाप्न सक्तैन, न त शोषकहरूले शोषण नै गर्न सक्छन्, न त शोषण गर्ने आवश्यकता नै पर्छ । बाहिरी प्रबल शक्तिको डर नभएपछि शासक- हरू पनि ढुक्कसँग शासन गर्छन्, बाबू हो ! जब ब्राह्मणवर्गले आफ्नू धर्म छाड्दछ तब देश भाँडिन्छ, जबसम्म ब्राह्मणवर्गले आफ्नू धर्म थामिराख्छ तबसम्म देशमा सुख-शान्ति बनिरहन्छ भनी आफ्ना शिष्यहरूलाई सम्झाइ बुझाइरहने ती राजनीतिका खग्गू, धर्मशास्त्रका खप्पिस, अनि तन्त्र-मन्त्र- जन्त्र, टुना- टोड्का, जादू-चटक, झारफूक, धामी-झाँक्री, ओखती-मूलो गर्नमा निपुण अर्थात् गणेशजीको मन्त्र विधिपूर्वक जपी सिद्ध पारी सिद्धि प्राप्त गरेकाले सदा कल्याणकारी सकल भारतीय अध्यात्मविद्यामा धुरन्धर किन्तु प्रारम्भमा सुखकारी भए पनि परिणाममा जगत् विध्वंसकारी विकसित भौतिक विज्ञानका कट्टर विरोधी तथा सधैँ जल-थल नभमै शान्ति नै शान्ति चाहिने एकदेव उपाध्याय नाम गरेका ती नैष्ठिक ब्राह्मण त्यसै राज्यका राजा अर्थात् मेरै बाबुका राजगुरु थिए । 

हे राक्षस ! मैले उनै ब्राह्मणलाई श्रद्धाभक्तिका साथ उनका पाउमा फल-फूल - दक्षिणा चढाएर निकै बेर ढोगें र उनले इशाराले देखाएर अनुमति दिएका आसनमा दुवै घुँडा मारेर बसी हात जोड्दै गहभरि आँसु डबडबाउँदै आफ्ना सारा पापकर्मको वृत्तान्त बताएर, आफ्नू पश्चात्तापरूपी तड्पन सुनाएर 'हे ब्राह्मण देवता ! मेरो त्यो उग्रपापको प्रायश्चित्त कसरी होला ? भनेर सोधें र हे द्विजश्रेष्ठ ! त्यो पापबाट म कसरी सद्गतिमा प्राप्त हुँली ? आफ्नै कुकर्मले पिरिएर तड्पिरहेकी, उदास मन भएकी बिचरी, गहिरो पापरूपी भासमा ग्वाम्मै भासिएकी मलाई मेरो जगल्टामा समातेर यस भासबाट बाहिर निकालिदिनोस् । हे ब्राह्मणश्रेष्ठ ! दयाका दृष्टिले मेरा उपर करुणाका जल वर्षाउनोस् । किनकि सज्जनमा त सबै जना कृपालु नै हुन्छन्, किन्तु साधुहरू असज्जनमा पनि कृपालु हुन्छन् ।' मेरो यस्तो विनम्र प्रार्थना सुनेर ती दयालु ब्राह्मणले मेरा उपर कृपा गर्नुभयो र सबै धर्मले भरिएको तथा मलाई अति प्रसन्न पार्ने यस्तो कुरो भन्नुभयो- 

हे सुन्दरी ! तिम्रा सबै निषिद्ध घृणित आचरण- हरूलाई म भलीभाँति जान्दछु । मैले भनेको कुरो झट्टै गर । अब तुरुन्तै तिमी प्रजापति ब्रह्माको क्षेत्र प्रयागमा जाऊ, उहाँ गएर, त्यहीँ रहेर सधैँ गङ्गा-यमुना- सरस्वती नदीको सङ्गम त्रिवेणीमा न्वाहुने गर, विशेष गरेर मकर राशिमा सूर्य रहेको वेला त्रिकाल स्नान गर्ने गर । त्यसै स्नानको पुण्यफलले तिम्रो सबै पाप नाश हुन्छ । किनकि जसले तिम्रो पाप नाश होस्, त्यस्तो अर्को उपाय म देख्तिनँ । तीर्थमा गर्ने गरेको स्नानलाई ऋषि- हरूले ठूलो प्रायश्चित्त बताएका छन् । किन्तु हे सुन्दरी, तीर्थस्थलमा मनले पनि अशुभ कर्मलाई- त्यागिदिनुपर्छ । 

हे सुमुखि ! नित्यको प्रयागस्नानले पाप खारिएर शुद्ध पवित्र भएकी तिमी मरेपछि पक्कै नै स्वर्ग जानेछ्यौ । प्रयागराजको सङ्गमको स्नान मात्रैले पनि मनुष्यहरूलाई स्वर्ग प्राप्त हुन्छ, यसमा कुनै संशय छैन । हे सुन्दरी ! प्रयागराज तीर्थमा गरिएको पापलाई छोडेर अरू ठाउँमा गरिएको सारा पाप प्रयागको त्रिवेणीमा न्वाहुनाले तुरुन्तै त्यसै क्षणमा नै बिलाउँछ अर्थात् नाश हुन्छ । हे सुन्दरी ! यस बारेमा यौटा अचम्मको उपाख्यान सुन -

उहिले कुनै समयमा गौतम मुनिकी पत्नीलाई देखेर कामरूप शत्रुको वशमा परेको गुप्तकामुक इन्द्रले गौतमकै रूप धारेर उनलाई सुटुक्क भोग गरे । तब ऋषिपत्नी गमन गर्ने इन्द्रलाई उस स्त्रीकै सामने त्यस उग्र पापले उलिखेरै फल दिलायो ।

त्यस स्त्रीका पतिको सरापको शक्तिले इन्द्र- को शरीर हजार योनिले चिह्नित भएको कुरूप, निन्दित, लाजमर्नुको हुँदो भयो । तब मुन्टो निहुराएर देवराज इन्द्र त्यहाँबाट निस्किए, अनि चारैतिर तिरस्कृत, निन्दित उनले आफूले गरेको त्यो घृणित कर्मलाई निन्दा गर्न थाले र मेरु पर्वतको टाकुरोमा रहेको, सय योजन अर्थात् चार सय कोश फराकिलो, पानी-पानीले टम्म भरिएको, राता चुच्चा हुने सेता-न- सेता बड़े-बड़े रजहाँसहरूले शोभिएको, कऱ्याङकुरुङका लामले तोरणिएको, रङबिरङका कमलका फूलहरू फक्रिएको, विशाल तलाउको हिमजलमा उम्रिएको कमलको कोपिलामा लुकेर बसे । त्यसै कमलमा बसेर आफूलाई तथा आफ्नै शरीरमा रहेको महान् शत्रु कामदेवलाई निन्दा गर्न थाले । जुन कामले मुन्ट्याइँदा ठूला जन पनि लोकमा निन्दित भएर आखिरमा नरकमा जाकिन्छन् । कामचेष्टाले उत्पन्न भएको त्यो पापवासना जो छ, सो आयु- कीर्ति-यश-धर्म तथा धैर्यलाई सत्यानाश पारिदिन्छ । अनेक आपत्तिहरूको निश्चित स्थान भएको त्यो दुराचारी कामदेवलाई धिक्कार छ । आफ्नै देहमा रहेको, कहिल्यै वशमा नरहने, कहिल्यै सन्तुष्ट नहुने, कहिल्यै नअघाउने, अति असन्तोषी, प्राणीमात्रको विकट शत्रु कामदेवलाई धिक्कार छ । हे सुन्दरी ! यस्ता प्रकारले कमलरूपी सदन यानि घरमा लुकेर बसेका इन्द्रले सोचिरहेको वेलामा, उता स्वर्गमा इन्द्र नभएर स्वर्गको शोभा नै रहेन र त्यसपछि गन्धर्वसहित, लोकपालसहित, किन्नरहरूसहित देवताहरू शची इन्द्राणीका साथमा आएर सबैले देवगुरु बृहस्पतिलाई सोधे, 'हे भगवन् ! हामीहरू देवताका राजा इन्द्रका बारेमा पटक्कै क्यै जान्दैजान्दैनौँ, उहाँ कहाँ रहनुभएको छ ? कहाँ जानुभयो ? अब हामीहरू आफ्ना राजालाई कहाँ। खोजौँ ? जसरी घरमा सुपुत्र नभए धनधान्य र गुणैगुणले भरिएको पनि कुलको शोभा हुँदैन, त्यसै गरी देवगणका साथमा इन्द्र नभैकन स्वर्ग शोभिएको छैन । हे गुरो ! जे गर्दा स्वर्गलोकको शोभा बढ्छ, चाँडै नै त्यस्तो उपाय गरिबक्सियोस् । हे गुरो ! स्वर्गलाई शोभाले युक्त स्वामी भएको पारिबक्सियोस् । यस काममा ढीलो गर्नु योग्य छैन' भन्ने तिनीहरूको कुरो सुनेर गुरु बृहस्पतिले उनीहरूलाई भन्नुभयो- आफूले गरेका अपराधको लाजले लज्जित भएर इन्द्र जहाँ बसेका छन्, त्यो कुरो म जान्दछु । बेविचारले सहसा गरेका कम्पको फल अहिले इन्द्र भोगिरहेका छन् । जो जनले नीतिको त्याग गर्दछन्, ती जनले बड़े-बड़े दुःखको भोग भोग्नुपर्दछ । आश्चर्य छ कि राज्यको  मदले उन्मत्त भएको पुरुष गर्ने नगर्ने कामको विचारै गर्दैनन् । आफूलाई नै नाश गर्नेवाला अनेक प्रत्यक्ष वा अप्रत्यक्ष निन्दित काम गर्दछन् । दुर्भाग्यले बुद्धि मासिएका मूर्खहरू मात्रै यस्तो निन्दित काम गर्दछन् । जुन अपराध गर्नाले यहाँ पनि उहाँ पनि जन्म निष्फल हुन्छ । हे सुरगण हो ! अब हामी त्यहाँ जाऔँ, जहाँ ती इन्द्र लुकेर बसेका छन् । 

गुरु बृहस्पतिले यस्तो भनेपछि बृहस्पतिलाई नै अगि लाएर गएका सबै देवताहरू त्यस आश्रमबाट निक्लेर उस तलाउमा पुगेपछि त्यो फराक सरोवरमा सुन जस्ता सुन्दर कमलको वन देखे । अनि डिलमा उभिएर जस्तो प्रार्थना गर्दा इन्द्रलाई विश्वास पर्छ त्यस्तै त्यस्तै स्तुति गरे । तब गुरुको बुझाइले इन्द्र कमलकोसबाट बाहिर निक्ले । त्यतिखेर उनको मुख निन्याउरो मलिन थियो, शरीर विरूप थियो, लाजका म्मारे उनका आँखा निहुरेका थिए । अनि इन्द्रले ती आफूभन्दा जेठा गुरुको दुवै पाउ पक्रेर - 'हे गुरो ! मलाई रक्षा गर्नुहोस्, यस पापको नाश हुने अर्थात् यस पापबाट पार पाउने उपाय बताइबक्स्'ि भनी बिन्ती गरे ।

तब देवराज इन्द्रको यस्तो विनम्र वचन सुनेर गुरु ब्राह्मण बृहस्पतिले भन्नुभयो- 'हे देवेन्द्र ! यस पापको नाश हुने उपाय म बताउँछु, सुन- यदि प्रयागमा गएर गङ्गा-यमुना-सरस्वतीको सङ्गमस्थल त्रिवेणीमा इवाम- इवाम एक सय आठ डुबुल्की माऱ्यामायै गरेर माघे औंसीका दिन नुहायौ भने मात्र पनि त्यसै क्षणमा तुरुन्तै यस पापबाट तिमी छुट्तछौ, हे देवराज ! हिड, तिम्रा साथैमा सबै उहाँ जाऔँ भन्ने आफ्ना गुरुको आज्ञा सुनेपछि आफ्ना गुरु र आएका देवगणका साथै इन्द्र आकाशमार्गले माघे औंसीका दिन प्रयागमा पुगे, अनि गङ्गा-यमुना- सरस्वतीको सङ्गमस्थल त्रिवेणीमा एक सय आठ डुबुल्की लाएर न्वाहे त तब तुरुन्तै उनी आफ्ना पापहरूबाट मुक्त भए यानि छुटे । अनि अत्यन्त प्रसन्न भएका देवगुरुले उनलाई वर दिनुभयो- 'हे निष्पाप इन्द्र ! प्रयागमा कुम्भस्नान मात्र गर्नाले तिम्रो पाप नाश भयो । हे इन्द्र ! अब सब पाप नाशिएका तिम्रा यी हजार योनिका बदला मेरो कृपाले अहिल्यै तिम्रा हजार दिव्यदृष्टि होऊन्' भनेर वर दिनुभयो त त्यति नै खेर ब्राह्मणका वरले शचीपति इन्द्र पनि जसरी मानसरोवर हजारौँ कमलले शोभिएको छ, त्यसै गरी अरूले नदेखिने दिव्य हजार आँखाले शोभिए । त्यसपछि सबै  देवताहरूले र ऋषिहरूले पूजिएका तथा गन्धर्व- हरूले स्तुति गान गरिएका छँदा ती इन्द्रः आफ्नू अमरावती नगरीमा गए । हे सुन्दरी ! त्यस्ता प्रकार- ले प्रयागको त्रिवेणीमा माघे औंसीमा न्वाहुनाले त्यस्तो पापी इन्द्र तुरुन्तै पाप सखाप भएका भए । 
त्यसकारण, हे कल्याणी ! आफ्नो उग्र पाप नाश गर्न चाहने हे सुन्दरी ! अब तिमी तुरुन्तै आफ्नो समस्त पापको विनाश गर्नका लागि तथा अचल स्वर्ग वा कैलास-वास प्राप्तिका लागि त्यो द्यौताहरूले पनि सेवा गरिएको प्रयागको त्रिवेणीको सङ्गममा जाऊ र आज पौषशुक्ल एकादशी हो, आजको पाँच दिनमा पौषशुक्ल पूर्णिमा आउँछ, त्यस दिनदेखि नै प्रातः क्रिया सकी, हात-गोडाका नङ काटी, त्रिवेणीमा न्वाहीध्वाई, शुद्ध- पवित्र भई, हविष्य वस्तु मात्र दिनहुँ एक- छाक खाई, त्यहाँका तीर्थपुरोहितलाई सोधी उनले भने वा अह्राएबमोजिम गरी नियमपूर्वक त्रिवेणीमा त्रिकाल स्नान गरी सौभाग्य दिने, सौभाग्य बढाउने, पाप सखाप गराउने, स्वर्गवास दिलाउने स्वस्थानी देवीको व्रत बसी माघशुक्ल पूर्णिमाका दिन देवीको उद्यापन पूजा सक्ने गरी, उसै बीचमा नै मकर राशिमा सूर्य सरेको दिन परे माघे संक्रान्तिदेखि  फागुनसंक्रान्ति नलागेसम्मका दिनहरूमा त्रिवेणीमा माघस्नान अर्थात् मकरस्नान श्रद्धाभक्तिपूर्वक 'ॐ नमो भगवते वासुदेवाय' यो मन्त्र जप्तै गर्ने गर त स्वस्थानी देवीको कृपाले र प्रयागको त्रिवेणीमा माघभरि मकरस्नान गरेको पुण्यले तिम्रो सारा पाप नाश हुनेछ र निष्पाप भएकी तिमीले अन्तमा सदाका लागि कैलासवास वा स्वर्गवास पाउनेछौ भन्ने यस्तो; त्यो इन्द्रको वृत्तान्त- सहितको मङ्गल- कारी वचन ती ब्राह्मणको मुखबाट सुनेर मैले उत्तिनै खेरि हतारिदै उनका गोडामा ढोगेर, आफ्ना सबै बन्धुजनलाई, दास-दासीलाई अनि ऐश्वर्यशाली आफ्नू घरलाई, त्यति मात्रै होइन, हे राक्षस ! सकल भौतिक भोगका विषयलाई प्रत्यक्ष विषको गाँस जस्तै ठानी चटक्क त्यागेर अनि आफ्नू शरीरलाई पनि झणभंगुर अर्थात् केही दिनपछि नै अवश्य नाश हुने ठान्दी छँदी म ती ब्राह्मणको घरबाट फुत्त निस्किएँ र नरकरूपी समुद्रमा जाकिने भयङ्कर अन्तस्करणको आगाले हृदयमा भत्भती पोलिएकी मैले, हे राक्षस ! तब त्यहीँबाट सरा- सर प्रयागमा गएर ब्राह्मणले बताए- जस्तै गरी श्रीस्वस्थानी देवीको व्रत-पूजा र माघभरि नै त्रिकाल अर्थात् बिहान- मध्याह्न-साँझ नियमपूर्वक गङ्गा-यमुना- सरस्वतीको सङ्गमस्थल त्रिवेणीको जलमा श्रद्धासाथ पटकैपिच्छे 'ॐ नमो भगवते वासुदेवाय' जप्तै एक सय आठ डुबुल्की मारेर मकरस्नान गर्ने गरेँ । 

अब हे बूढा राक्षस ! त्यस त्रिवेणीमा गरेको मकरस्नानको महिमा सुन - तीन दिन त्यहाँ लगालग मकरस्नान गरेपछि मेरो समस्त पाप नाश भयो, बाँकी सत्ताईस दिनको माघस्नानले मलाई जो पुण्य प्राप्त भो, त्यस पुण्यले मलाई देवयोनिमा जन्मायो । यतिखेर म देवी पार्वतीकी अति प्यारी सँगिनी भएर कैलासमा रमाउँदै बसेकी छु त्यसै प्रयागको मकरस्नानको प्रभावले नै मलाई यस्तो यो पूर्वजन्मको जातिस्मरण ज्ञान, इच्छा- अनुसारको रूप बदल्न सक्ने शक्ति, यो खेचरी यानि आकाशमा उड्ने र उहीँ अड्ने गति, राजगुरुमा भएको विविध विद्याको ज्ञान र यो कैलासको वास प्राप्त भएको हो । त्यसैले प्रयागको मकर- स्नानको महिमा सम्झेर प्रत्येक माघमा प्रयागमा मकरस्नान गर्न म प्रयाग जाने गरेकी छु । अब कैलास पुगेर पार्वतीका साथै स्वस्थानी देवीको पूजा गर्छु । हे राक्षस, मैले मात्रै होइन, जसले पनि मैले जस्तै गरी त्रिवेणीकै तटमा बसेर स्वस्थानी देवीको व्रत-पूजा र मकरस्नान गर्दछन्, ती सबैले पनि स्वर्गलोक वा कैलासलोकको वास पाउँछन् । यति आफ्नू पूर्वचरित्रको वृत्तान्त बखानेर फेरि काञ्चनमालिनीले - 'हे राक्षस, आश्चर्यचकित भएका तिमीले मलाई जो सोध्यौ, त्यो मैले तिम्रो प्रसन्नताका लागि आफ्ना घटेका सबै घटना सुनाएँ । अब तिमी पनि मेरो प्रसन्नताका लागि आफ्नो पूर्वचरित्र बताऊ । कुन कर्मले तिमी अति विरूप र अत्यन्त डरलाग्दा भएर जन्मिएका छौ ? दाह्री- जुँघा बढाएका, बड़ा-बड़ा दाह्रा भएका, मान्छेको मासु खाने भएर किन यो पहाडको गुफामा रहन्छौ ? भनेर सोधिन् त तब त्यो राक्षस भन्न थाल्यो -सज्जन जन प्रिय वस्तु दिन्छन् र गुह्य कुरो लिन्छन्, प्रेमपूर्वक बोल्छन् र सोद्धछन् । हे भद्रे ! हे कल्याणी ! पराईको कल्याण गर्नेवाली ! ती सबै कुरा तिमीमा रहेका छन्, हे वामलोचने सुन्दरी ! तिमीले मलाई निश्चय नै कृपा गयौ, यो कुरो म मान्दछु । हे भद्रे ! हे कल्याणकारिणी ! मेरो यो क्रूर कर्मको निवारण तिमीबाट नै चाँडै हुन्छ । यसकारण, मैले जो स्वयं पाप गरेको छु, अब त्यो सब तिमीलाई म सुनाउँछु । सज्जनलाई दुःख निवेदन गरेपछि तब सबै सुखी हुन्छन् । हे पातलो कम्मरव़ाली सुन्दरी ! अब मेरो वृत्तान्तसुन -पहिलेको जन्ममा म काशीमा वेदका धेरै ऋचाहरू जान्ने, वेदविद्यामा पारङ्गत श्रेष्ठ ब्राह्मण थिएँ, ठूलो निर्मल कुलमा मेरो जन्म भएको थियो । हे सुन्दरी ! त्यतिखेर मैले दुराचारी राजाहरूले, शूद्रहरूले, अनि वैश्यहरूले गरेका डरलाग्दा डरलाग्दा निन्दित दानका वस्तुहरू पनि काशीमा बसेर दान लिएँ । प्रायः गरेर धेरैपल्ट धेरै नै निषेध गरिएका घृणित दान पनि लिएँ, अनि चाण्डालहरूले गरेको कुत्सित दान पनि मैले लिन पछि सरिनँ । यहाँसम्म कि किसानहरूले बजारमा किन्नैपर्ने, तर पसलेले एक सयमा किनेको वस्तुलाई करैकरको भारी बोकाएर तीन सयमा किसानलाई बेच्ने, अनि किसानले उब्जाएको खाद्यान्न वा खाद्यवस्तु किन्दा चाहिँ सुख्ती - घट्ती- ढुलाई- कोठी-कुसीद-नगर-प्रवेश कर कटाई एक सयको उसको माललाई साठीमा किनिलिई समस्त किसानलाई किङिङचाई 'उत्तम खेती, मध्यम व्यापार, अधम चाकरी' भन्ने बृहस्पतिको नीतिलाई पर्लक्क पल्टाई 'उत्तम चाकरी, मध्यम व्यापार, अधम खेती' बनाउने शुक्राचार्यको नीतिलाई अँगालेर किसानहरूलाई हलनटट्टू बनाउने अनि साधु- सज्जनहरूलाई सताउने तत्कालीन हुल्लडबाज हुल्याहाहरूको पार्टीवादी सरकारको पार्टीशासकले धाक देखाउन गरिएको त्यो किसान शोषिएको, पापैपापले मुछिएको द्रव्य दान लिन पनि पछि परिनँ र दान लिएर पनि फुर्किन छोडिनँ तथा अरू अरू पनि म लोभीले त्यहाँ कति हो कति अनेक पाप गरेँ । जहाँ मैले जो नगरेको पाप कर्म छ, त्यो छैन होला । हे सुन्दरी ! मैले त्यस पुण्यक्षेत्रमा गरेका अरू पापकर्म पनि सुन । त्यस अविमुक्त वाराणसी अर्थात् वरुणा र असी नदीको बीचको क्षेत्रमा गरिएको एक रत्ती पनि जो पाप छ, त्यो पाप त मेरु पर्वत समान ठूलो हुन्छ । मैले उस जन्ममा कत्ति पनि धर्मको सञ्चय गरिनँ । हे सुन्दरी ! तब त्यसरी त्यहाँ धेरै समय बितेपछि म उहीँ नै मरेँ । अविमुक्त वाराणसीको प्रभावले म नरकमा गइनँ । अविमुक्त क्षेत्रमा मरेको कोही पनि पापी नरकमा जाँदैन । किन्तु अविमुक्त क्षेत्रमा गरिएको कुनै पनि पाप वज्रसमान दृढ रही ननाशिने हुन्छ । त्यसै वज्रलेप पापको प्रभावले हिमालय पर्वतमा भयानक, अतिशय दुष्ट पापी राक्षस भएर मेरो जन्म भएको हो । यो भन्दा पहिले दुईपल्ट गिद्ध, तीनपल्ट बाघ, दुईपल्ट सर्प, एकपल्ट लाटोकोसेरो भएर जन्मिएको थिएँ, त्यसपछि नवौँपल्ट सुँगुर पनि भएँ । हे भामिनी ! हे सुन्दरी ! मेरो यो राक्षसको जन्म दशवाँ जन्म हो । नाना प्रकारका योनिमा जन्मदा- जन्मदै मेरा हजारौँ वर्ष बितिसके । हे भद्रे ! हे कल्याणकारिणी ! यो दुःख- समुद्रबाट मेरो उद्धार हुने उपाय छैन । हे सुभ्रू ! सुन्दर आँखि भुइँवाली ! यहाँ वरिपरि तीन योजन अर्थात् बाह्र कोशसम्मको भूमि मैले जन्तुहीन गराइसकेको छु । हे सुभ्रू ! मैले धेरै नै निरपराधी जीवहरूको पनि नाश गरेको छु । त्यस दुष्कर्मले मेरो मन निरन्तर जलिरहन्छ । तिम्रो यो दर्शनरूपी अमृतले सेचिएको मेरो मन अहिले एकदम शीतल भएको छ । तीर्थहरूको शुभफल ता कुनै समयमा गएर फल्छ, तर सज्जनको समागम अर्थात् भेट ता तुरुन्तै फल्छ । हे सुभू! यसैउसले बुद्धिमान् हरू सत्संग- तिको प्रशंसा गर्दछन् । मेरो मनमा भएको यो सबै आफ्नू दुःख मैले तिमीलाई बताएँ । हे सुभ्रू ! यस्तो कोही बिरलाकोटि नै सज्जन होला, जस- लाई अरूको दुःख सुनेर आफ्नू अन्तरात्मा खिन्न नहोस् । यस बारेमा उचित कुरो तिमी स्वयं जान्दछ्यौ । त्यसैकारण, अब यसभन्दा परतिर म केही भन्दिनँ । म हरहमेशा यस दुःख- सागरबाट कसरी पार पाउँछु भन्ने कुरो सोचिरहन्छु । सज्जन- हरूको समागम सबैको उपकार गर्ने हुन्छ । के, क्षीरसमुद्र केवल हाँसलाई मात्र दूध दिन्छ र ? के, बकुल्लालाई दिदैन ? 

तब कुमारजीले भन्नुभयो- 'हे अगस्त्य मुनि ! त्यस राक्षसको त्यस्ता वचन सुनेर दयाले हृदय पग्लिएकी काञ्चनमालिनीले धर्मदानमा मति गरेर अर्थात् धर्म दिने विचारले भनी - 'हे राक्षस ! तिमीलाई म अवश्य उद्धार गर्नेछु, अहिले तिमी शोच नगर । तिम्रो राक्षसत्वबाट छुट्काराका लागि म प्रयत्न गर्नेछु ।' यस्तो दृढ़ प्रतिज्ञा गरेर भन्न थाली - 'मैले वर्षेनि विधिपूर्वक धेरै माघस्नान र स्वस्थानीको व्रत-पूजा गरेकी छु । हे भद्र राक्षस, यो सब मैले गङ्गा-यमुना- सरस्वतीको सङ्गम ब्रह्मक्षेत्रमा मकरस्नान र कैलासमै श्रद्धापूर्वक स्वस्थानीको पूजा जो गर्ने गरेकी छु, त्यसको त्यो पुण्य- संख्या र ती दुवै सत्कर्मका धर्मको म वर्णन गर्दछु । जस्तै; विद्वान् जनहरूले धर्मको आचरण गुप्त राख्नू भनेका छन् । वेद जान्ने मुनिहरू दुःखीलाई दान दिने कामको प्रशंसा गर्दछन् । हे भद्र भलाद्मी ! समुद्रमा वर्षने मेघको के फल हुन्छ र ! हे राक्षस ! मैले स्वयं त्यस पुण्यको फल अनुभव गरिसकेकी छु । हे मित्र ! तुरुन्तै तिम्रो पाप विनाश गर्नका लागि मेरो त्यो पुण्यबाट केही पुण्य तिमीलाई दिन्छु' भनेर अनि आफ्नो चिसो लुगा निचोरेर, तब त्यो जल आफ्नू पसरमा लिएर उसले त्यो बूढो राक्षसलाई आफूले गरेका तीनोटा माघमहीनाको पुण्य दिदिभई । हे अगस्त्य मुनि ! स्वस्थानीको पुण्य मिसिएको त्यसको त्यो माघस्नानको धर्मबाट पैदा भएको त्यस पुण्यको प्रभाव सुन त्यो पुण्य पाएर उसै वेला उसले राक्षसी शरीर त्याग्यो र सूर्य जस्तो तेजिलो देवताको आकारको भयो । हर्षले उसका आँखा खिले, द्यौताहरूले ल्याएको विमानमा चढ्यो, त्यतिखेर आकाशमा स्थित विमानमा उसको तेज चम्कियो । तब आफ्ना प्रभाले दशै दिशालाई प्रकाशमान पार्दै दिव्य देह धारण गरेको त्यो राक्षसले तब मानों दोस्रो सूर्य- समानको शोभा पायो । त्यसपछि उसले त्यो सज्जन काञ्चनमालिनीलाई प्रशंसा गर्दो भयो र भन्यो - 'हे भद्रे ! हे कल्याणी ! कर्मको फल दिनेवाला जो भगवान् ईश्वर छ, त्यो सबै कुरो जान्दछ । जहाँ जुन पापले मेरो उद्धार हुनै सक्तैनथ्यो, ती सब पापबाट तिमीले मेरो निस्तार गरिदियौ । हे देवि ! अब पनि कृपापूर्वक मेरा उपर प्रसन्न हुनुहोस्, दया गर्नुहोस् र सारा नीति नै नीतिले भरिएको कल्याणकारी शिक्षा मलाई दिनुहोस् । त्यो तिम्रो सबै शिक्षा निश्चय नै धर्मको आचरण गराउनेवाला हुनुपर्छ, जुन गर्नाले फेरि म पाप गर्ने पापी नहूँ । त्यो त्यस्तो नीति सुनेपछि, तिम्रो आज्ञा पाएर अनि मात्र म सुरलोक जान्छु । 

हे अगस्त्य मुनि ! त्यो राक्षसले भनेको प्रिय धर्ममय यस्तो वचन सुनेर अत्यन्त प्रीतिपूर्वक त्यो काञ्चनमालिनी उसलाई धर्मनीति सुनाउन थाली- 'हे दिव्य देहमा पविर्तन भएका राक्षस ! अब तिमी हमेशा धर्मको सेवन गर, प्राणिहिंसा त्याग, महात्माहरूको सेवा गर, कामदेवरूप प्रबल शत्रुलाई जित, अर्काको दोष-गुणको चर्चा पटक्कै गर्न छाडेर साँचो बोल्ने गर, हरिको या हरको हरदिन पूजा गर्ने गर । लौ अब सरासर देवलोक जाऊ । पछि मर्त्यलोकमा जन्म लिएपछि पनि हड्डी-मासु-रगत भरिएको त्यो शरीरमा हिरिक्क हुने आफ्नू बुद्धि तिमी त्याग । हमेशै स्वास्नी- छोरा-छोरीमाथिको हिरिक्क हुने माया-ममतामा मात्रै नलागी रातदिन यस संसारलाई क्षणभंगुर ठान, इच्छाशक्ति प्राप्त गराउन सक्ने योगमा श्रद्धा बढाएर, त्यसैमा मात्रै तन-मन लगाएर वैराग्य अर्थात् नि:स्पृह भावमा रमाउने होऊ । 

मैले यो धर्मको मार्ग तिम्रो प्रीतिले भनेकी हुँ । सबै कुरो मनमा राख र शील-स्वभावका होऊ राक्षसी शरीरलाई त्यागेर देउताको रूप धारण गरी, चम्किलो भई विमानमा बसेका तिमी अब झट्टै सुखपूर्वक सरासर स्वर्गमा जाऊ ।'
यति धर्मनीति सुनिसकेर तब सन्तुष्ट देखिएको त्यो राक्षस बोल्यो- नित्यै तिमी प्रसन्नतापूर्वक रहे । तिम्रो सधैँ कल्याण होस् । हे वरवर्णिनी सुन्दरी ! चन्द्र-सूर्य रहेसम्म तिमी कैलासमा नै महादेव शिवका नजीक रमाइरहू । अनि पार्वतीजीका साथ तिम्रो सदा अटूट प्रेम रहोस् । हे माता ! तपाईं सदा धर्ममा श्रद्धावाली, तपस्यामा निष्ठा- वाली हुनुहोस् । शरीरमा लोभ र ममत्व तिम्रो नरहोस् । दुःखीहरूको दुःखलाई सधैँ हेर्ने विचार्ने गरिबक्सियोस्
यति भनेर, अनि ती सज्जन काञ्चनमालिनी- लाई ढोगेर, त्यतिखेर द्यौता जस्तै भएको त्यो राक्षस, धेरै गन्धर्वहरूले स्तुति गरिदै सरासर स्वर्ग जाँदो भयो । तब त्यतिखेर त्यहाँ अक्षोदमा स्वस्थानीको नित्य पूजा गर्न आएका देवकन्याहरूले त्यो तमाशा देखेर हर्षले गद्गद भएका छँदा, त्यहाँ आएर त्यस काञ्चनमालिनीको शिरमा फूलको वृष्टि वर्षाए । त्यसपछि उसलाई अँगालो हालेर ती कन्याहरूले- 'हे भद्रे ! तिमीले त्यस राक्षसलाई विचित्र तरीकाले पापबाट छुटायौ' भन्ने प्रिय वचन भन्दा भए । त्यस दुष्टका भयले कोही पनि यस जङ्गलमा पस्न सक्तैनथ्यो । अब हामी निर्भय भएर यस जङ्गलमा सुखपूर्वक डुलफिर गर्छौं भन्दै ती देवकन्याहरू आफ्नू नित्यपूजा सिद्ध्याउन अक्षोदतिर लागे । 

हे अगस्त्य मुनि ! तिनीहरूको त्यो त्यस्तो कुरो सुनेर काञ्चनमालिनी अत्यन्त खुशी भई । तब त्यो सती काञ्चनमालिनी उसै दानले कृतार्थ हुँदी भई र स्वस्थानीको नित्यपूजा गर्नका लागि कैलास- तिर उडी । उड्दा हुँदि गन्धर्वकन्या त्यो श्रेष्ठ काञ्चनमालिनी परी त्यस राक्षसलाई उसको त्यो राक्षसयोनिबाट छुटाएर तुरुन्तै आकाशमार्गले उडेर कैलास जाँदा आफूले गरेको परोपकारले गर्दा अत्यन्त प्रसन्न भई ।

हे अगस्त्य मुनि ! जो-जो मनुष्य त्यो गन्धर्वकन्या काञ्चनमालिनी र त्यो बूढो राक्षसले कहेको यो श्रेष्ठ संवाद भक्तिपूर्वक सुन्दछ, त्यो- त्यो मनुष्य सधैँ कहिल्यै पनि अधर्म गर्नतिर मन दौडाउने आफ्ना इन्द्रियहरूरूप दुष्ट राक्षसहरूद्वारा बाधित अर्थात् पीड़ित हुँदैन र त्यसको बुद्धि सधैँ धर्ममा लागिरहन्छ । यसैउसले उसका परिवारलाई पनि प्रत्येक वर्ष श्रीस्वस्थानीको पूजा गर्न र त्रिवेणीको मकरस्नान गर्न मन रमाइरहन्छ । 

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमाराऽगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां काञ्चनमालिनी कैलासगमनं नाम त्रिंशोऽध्यायः ।। ३० ।।

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  ०६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update