Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - २९
श्री स्वस्थानी व्रत कथा । ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - श्री स्वस्थानी व्रत सुरु भएको आज २९औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

श्रीस्वस्थानी व्रतकथाको ऊनत्रिंशोऽध्यायःमा अगस्त्य मुनिले गोमा ब्राह्मणीपछि श्रीस्वस्थानी देवीको व्रत–पूजा गर्ने अरू पात्रहरूको कथा सुन्न चाहँदा स्कन्दकुमारले सुलोचना नामकी बालविधवाको आख्यान सुनाउँछन् । अल्प उमेरमै वैधव्य भोगेकी सुलोचनाले सांसारिक दुःख र सामाजिक तिरस्कार त्यागी नारायणी नदीको त्रिवेणी (देवघाट) किनारमा कठोर तपस्या सुरु गरिन् । उनले त्रिकाल स्नान, ब्रह्मचर्य पालन र “ॐ नमो भगवते वासुदेवाय” मन्त्र जप गर्दै सूर्यतेजमा ध्यान केन्द्रित गरिन् ।

सुलोचनाले लगातार ६० वर्षसम्म विधिपूर्वक श्रीस्वस्थानी देवीको व्रत–पूजा र प्रत्येक वर्ष मकरस्नान गरिन् । उनको अटूट श्रद्धा, संयम र तपस्याबाट प्रसन्न भई श्रीस्वस्थानी देवी स्वयं प्रकट भइन् र मकरस्नानपछि देह त्याग गरी वैकुण्ठ प्राप्त गर्ने वरदान दिइन्। देवीको आज्ञाअनुसार सुलोचनाले नारायणीको सङ्गममै देह त्याग गरिन् र प्रत्यक्ष वैकुण्ठ पुगिन्।

यस अध्यायमा पुनर्जन्म, कर्मफल, कल्प–चौघडी, सृष्टि–स्थिति–प्रलय तथा विष्णु–सूर्य तत्त्वको दार्शनिक व्याख्या प्रस्तुत गर्दै श्रद्धा, तपस्या र विष्णुको कृपाबाट मोक्ष प्राप्त हुने सन्देश दिइएको छ । श्रीस्वस्थानी व्रतको महिमा र धर्मपालनले दुःखबाट मुक्त गराई परमगति प्रदान गर्छ भन्ने यस अध्यायको मूल भाव हो । 

अथ ऊनत्रिंशोऽध्यायः 

तब अगस्त्य मुनिले विनयपूर्वक फेरि स्कन्द- कुमारलाई सोध्नुभो - हे स्कन्दकुमार ! तपाईंका मुखारविन्दबाट सृष्टिको सारा क्रम र विष्णुका छलले महादेवजीसित विवाह भएकी दक्षप्रजापतिकी छोरी उमाको पवित्र चरित्र तथा दक्षप्रजापतिकै यज्ञकुण्डमा हामफाली प्राण त्यागेर पछि हिमालय- की पुत्री भै जन्म लिएकी पार्वतीले स्वर्गमा श्रीस्वस्थानी भगवतीको व्रत-पूजा गरेर फेरि शिवजीलाई नै पति पाएकी, अनि पार्वतीकै आज्ञाले पाताल पुगेर अश्वत्थामा ऋषिले प्रचार गरेको श्रीस्वस्थानी देवीको व्रत-पूजाका प्रभावले ती दुःखिनी नागिनीहरू आआफ्नू मनोरथ पूरा भई असंख्य सम्पत्ति पाई रमाएको तथा पार्वतीकै आज्ञाले मर्त्यमण्डलमा आई सप्तर्षिहरूले ती अत्यन्त दुःखिनी गोमा नामकी ब्राह्मणीलाई श्रीस्वस्थानी देवीको व्रत-पूजा गराई लावण्यदेश अर्थात् लुम्बिनी राज्यकी राजमाता बनाएको एवं श्रीस्वस्थानीको निन्दा गर्दा चन्द्रावतीले पाउनासम्म दुःख पाएको र अप्सराहरूको आज्ञाले यथाशक्ति श्रद्धाभक्तिका  साथ स्वस्थानीको व्रत पूजा गरेरै त्यस पूजाका प्रभावले उनलाई आफ्ना पतिका साथ मिलाएको कथा श्रद्धासहित सावधान भएर मैले सुनिसकेँ । अब गोमा ब्राह्मणीका बाद मर्त्यमण्डलमा अरू कक- सले श्रीस्वस्थानी देवीको व्रत-पूजा गरे र के के, कस्तो-कस्तो फल पाए ? यस बारेमा पनि दुई- तीनोटा कथा अरू सुन्न चाहन्छु, त्यस्ता जन पनि कोही छन् भने कृपा गरेर तिनको बारेमा बताइ- बक्सियोस् भन्दा स्कन्दकुमार आज्ञा गर्नुहुन्छ-हे अगस्त्य मुनि ! गोमाका बाद चित्रवन नामको विचित्रको नगरमा बस्ने धर्मपरायणा बालविधवा सुलोचना नामकी नारीले ब्रह्माको गण्डस्थलबाट अर्थात् हिमालयबाट निस्की पहाडका गिरि-गह्वरा- - कन्दराहरू हुँदै गङ्गासित मिल्न दक्षिणतिर हानिदै बगेकी गण्डकी यानि शालीनदी तथा महिषासुरलाई उसको गर्धनमा समातेर लातका लात गोद्दा पृथ्वीमा भ्वाङ परेर निस्केकी देवकी अर्थात् द्यौकी नदी अनि यज्ञकुण्डमा फालहाली उमाले प्राण त्यागेको सुन्दा दक्षप्रजापतिका उपर एकाएक उठेको महाक्रोधको झोकमा महादेवले आफ्नू त्रिशूल पृथ्वीमा ग्वाम्म गोप्ता प्वाल परी पृथ्वीभित्रबाट निस्केकी त्रिशूली नदी सबै आफाफ्नू बाटो हुँदै  बग्दै बग्दै आएर एकै ठाउँ मिलेको त्रिवेणी अर्थात् तीनआँठे चुल्ठो जस्तो बनेको र पवित्रै पवित्र पानी मिलेर अति पवित्र भएको त्यो तीन नदीको दोभान त नारायणको असाध्यै प्रियस्थल बनेकोले नारायण भगवान्‌ले नै सबभन्दा पहिले आफैले त्यस सङ्गममा न्वाही, त्यहाँ माघभरि- भरि मकर- स्नान गर्नेलाई मरेपछि सरासर वैकुण्ठ पुऱ्याउने आफ्नू नारायणी शक्ति उहीँ घुसाएकोले त्यहीँ - देखि संयुक्तरूपमा नारायणी नदी नाम पाएको ठाउँ देउघाट यानि देवघट्ट अर्थात् सामान्य मनुष्यले मकरराशिभरि सूर्य रहेको दिनमा प्रयागको त्रिवेणीमा त्रिकाल स्नान गरेर स्वर्गको वास पाए- झैँ देउताहरूले वैकुण्ठको वास प्राप्तिका लागि मकरभरि नित्यै न्वाहुने गरेको अनि अप्सराहरूले पनि पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म नित्य आई न्वाहुने गरेको त्यस्तो देउघाटको छेउ- छाउमै कुटी बनाई, धुनि जगाई, योगिनीको रूपमा बसी, पद्मासन कसी, अघि ध्रुवले झैँ “ॐ नमो भगवते वासुदेवाय" यो मन्त्र निरन्तर जप गर्दै सूर्यको तेजमा मात्रै मन टक्क अड्याई; दुस्तर्क, दुश्चिन्ता, दुस्तृष्णा, दुर्व्यवहार, बेफ्वाँकका गफडा सारा त्यागी, बाह्रै महीना त्यस त्रिवेणोमा त्रिकालै न्वाही, प्रत्येक वर्षको पौषशुक्ल पूर्णिमादेखि विधिपूर्वक माघशुक्ल पूर्णिमासम्म उहिले गोमाले जस्तै गरी नियमपूर्वक व्रतमा रही माघशुक्ल पूर्णिमाका दिन स्वस्थानीको विधिपूर्वक पूजा गरी साठी वर्षमा साठी ओटा स्वस्थानीको व्रत-पूजा र त्यसै त्रिवेणीमा साठी ओटा नै माघस्नान गरेकी पुण्यका प्रभावले ती योगिनी परलोक गएपछि जस्ती भइन्, त्यो रोचक कथा कल्प र चौघडीको बयान- सहित अब म तिमीलाई सुनाउँछु, तिमी ध्यानपूर्वक चित्त लाएर कत्ति पनि अन्यमनस्क नभई लौ सुन- हे अगस्त्य मुनि ! पुनर्जन्म हुन्छ भन्ने कुरामा पूर्ण विश्वास नभईकन धर्म-कर्म गर्नमा सही श्रद्धा रहदैन। तसर्थ, तिमी पहिले पुनर्जन्म हुने कारणहरू सुन । सत्त्वगुण- रजोगुण- तमोगुण मिलेका सूर्यका किरण रहने आकाशमा सत्त्वगुण प्रधान रहेको समयलाई 'सत्ययुग', अनि रजोगुण प्रधान रहेको समयलाई 'त्रेतायुग' तथा रज र तम मिलेर प्रधान रहेको समयलाई 'द्वापरयुग' र तमोगुण मात्र प्रधान रहेको समयलाई 'कलियुग' भनिन्छ । सत्त्व भनेको असल हो । रज भनेको उद्दण्ड हो र कलि भनेको महालण्ठ हो । उक्त चारै युगको समूहलाई  'चौघड़ी' भन्दछन् । यस्ता बहत्तर चौघड़ीको आधा २) कल्प या बह्माको एक दिन हुन्छ । अनि त्यति नै समय ब्रह्माको रात पनि हुन्छ । यी दुवैलाई मिलाउँदा एक कल्प हुन्छ । त्यो आधाकल्पमा एक अंकका सामु उन्डाईसओटा शून्य क्रमैले तेसतिर लेख्ता त्यो एकको स्थानीयमान जति हुन्छ, त्यति वर्षको हुन्छ । 

यी बहत्तरैओटा कलियुगमा तत्तत्कालीन ब्राह्मण- हरूले आफ्ना पुर्खा आर्यावर्तका ब्राह्मणवर्गले आफ्नै सन्तानहरूले मात्र सिद्ध गर्न सक्ने गरी थाती छोडेर गएको, ब्रह्माण्डविजयी योगशक्तिको साधना गर्न विलासिएर च्यात्तै छोडिदिन्छन् र तिनीहरूको जे चितायो त्यै गर्न सक्ने शक्ति बिलाएपछि पहिलेका तीनै युगसम्म योगबलले चुमुर्क्याइएका दानवहरूले; सूर्य अस्ताएपछि राक्षसी शक्ति बढ्ने अन्धकार रातको पालो आए; मौका पाएर आफ्नू दानवी भौतिक शक्तिको विकासको लागि भूमिभित्रबाट निकालिएका गोरूपधारी पृथिवी माताका हाडरूपी फलाम - कोइलाहरू अनि कलेजा - फोक्सारूपी अरू खनिज पदार्थहरू तथा बोसोरूप खनिज तेलहरू एवं सासरूपी भापहरू निकालिएर खोक्रिई मरणासन्न भएर 'नारायण, नारायण' भन्दै आर्त- स्वरले पुकार्न थालेकी पृथिवीलाई देखी नारायण भगवान्ले त्यति नै समयका लागि पृथ्वीलाई आफ्नू प्रलय यानि डुबाउने शक्तिको प्रयोग गरी समुद्रले ढाकिदिनुहुन्छ। त्यस प्रलयकालमा पनि तातो- न- तातो सूर्य र, चिसो-न- चिसो समुद्र यी दुवै नै निराधार आकाशमा आफाफ्ना ठाउँमा झुन्डिएका झुन्डिएकै रहन्छन् । तिनै दुई सूर्य-समुद्र नै पुरुष अर्थात् भाले र प्रकृति यानि पोथी हुनाले यिनको सृष्टि कहिले भयो, कसरी भयो र यिनको विनाश कहिले हुन्छ, कसरी हुन्छ भन्ने निधो अझसम्म कसैले पनि निर्व्योल गर्न सकेका छैनन् । त्यसै ढाकिएको प्रलयकालको मौकामा नै प्राणीका काटिएका ठाउँमा घाउ पलाए झैँ पृथ्वी - माताका सबै अङ्ग-प्रत्यङ्गहरू पलाएर तयार भइसक्छन् । अनि विष्णुकै शक्ति वराह प्रभुले आफ्नू 'वाराह' शक्ति अर्थात् वार् भनेको पानीलाई, आ माने आसमन्तात् चारैतिर, ह भनेको हटाउने शक्ति प्रयोग गरी; प्रत्येक वर्ष माघे संक्रान्तिको सात दिन पहिलेदेखि सातै दिन पछिसम्म गङ्गासागरमा रहेको कपिलमुनिको आश्रममाथिको त्यो डुबाएर रहेको समुद्रको पानीलाई चारैतिर हटाएर त्यस आश्रमलाई उदाङ्गयाए झैँ नै पूरा समुद्रको चार भागको एक भाग जतिमा रहेको सातै द्वीप-माथिको पानी हटाइदिनुहुन्छ । त्यसै नडुबेको र डुबेर नउदाङ्गयाए- सम्मको समयलाई 'एक कल्प' भनिन्छ ।

हे अगस्त्यमुनि ! यस्ता कल्प कति बिते कति, गनेर साध्य छैन । प्रलय हुनुभन्दा पहिलेका चौघड़ीहरूमा पनि, वर्तमान चौघडीमा पनि कतिपय राक्षस वा दानवहरूले अथवा राक्षसी बुद्धि हुनेहरूले शिवको या ब्रह्माको आराधना तपस्या गरेर उनलाई प्रसन्न पारी पाएका वरप्रसादले उम्तिएर पाप फैलाई, गठ बाँधी, सज्जन धर्मात्माहरूलाई पिर्नासम्म पिरे भने बीच-बीचमा पनि विष्णुले आफ्नू शक्तिद्वारा इच्छानुसारको अवतार लिएर ती सारा दुष्टहरूलाई मारी सज्जन धर्मात्माहरूको र धर्मको रक्षा पनि गर्नुहुन्छ । 

त्यसरी प्रलयकाल हुँदा पृथ्वी डुबेको अवस्थामा पृथ्वीका चर-अचर स्थलचर र नभचर प्राणीहरू स्वात्तै डुबेर मर्छन् र तिनका प्रेतात्माहरू वा प्रेतरूपहरू आफाफ्नू गुण-रूप- आकार-प्रकार, धर्म-कर्म, पाप-पुण्य बोकेर; दूरदर्शनका पात्रहरू वायुमा स्थित बिजुलीमा विचरण गरे झैँ, आफाफ्नू वंशका साथ मिलेर सूर्यलोकमा अर्थात् सूर्यका असंख्य किरणहरूमा नै, फलभित्र उसको स्वाद  गुण पौष्टिक तत्त्व नदेखिने गरी रहे- झैँझैँ रहेका हुन्छन्। ती पार्थिव वस्तुको पानीबाट बनेको देखिने हिस्सा काठ-पात, शरीर-जीउ चाहिँ पानीमै सड्छन्, नदेखिने तत्त्वहरू जति आकाशमा उड्छन् र सूर्यका बिजुलीमा; फ्लापीमा अक्षरहरू झैँ; थन्कन्छन् । पछि फेरि कालान्तरमा डुबेको स्थल देखिएपछि पुरुष सूर्य र प्रकृति यानि पानीबाटै बनेको पृथ्वीको मेलमिलापको तारतम्मेबाट उनै पहिलेकै सृष्टि दोहोरिन्छन् र दोहोरिइरहन्छन् । आमाको शरीरका सामानहरूले बनेको देहका वस्तुहरू देखिन्छन् र त्यसै देहलाई आधार मानेर रहेका बाबुका गुणहरू देखिदैनन्, अर्थात् शरीरमा नदेखिने जति बुद्धि आदि गुणहरू बाबु सूर्यका हुन् । एकै आमा-बाबुका सन्तान र एकैचोटि एकै ठाउँमा जन्मेका दुई बालक पनि भिन्न- भिन्न स्वभावका, भिन्न-भिन्न आकारका, कोही सपूत त कोही कपूत, कुनै पापी त कुनै धर्मात्मा भएका चाहिँ पूर्व-जन्ममा जस्तो कर्म गरेर आफ्नू कर्मका साथै सूर्यलोकमा यानि सूर्यका असंख्य किरणरूपी लोकमा किरणकै स्वरूपमा मिलेर रहेको थियो, त्यही किरणले नै बाबु बन्नेको शरीरमा वायु चढे-झैँ चढी उसको शरीरको तातोमा  मिली उसलाई असीन-पसीन पारी तताई आमाको रगतलाई आमा-बाबुकै आकारमा जमाउने जोरनका साथै भ्रूणको विकास गरी सञ्चालन गर्नका लागि स्वाँ स्वाँ गर्दै पलस्त परेकी आमाको गर्भमा आत्मा नामको बिजुलीको रूपमा आफूमा सञ्चित रहेका उसका पूर्वजन्मका संस्कार र सौर बिजुलीमै रहेका काम-क्रोधादि अदृश्य गुणहरू साथै प्रवेश गर्छन् । अनि त्यसमा रहेको स्वसिद्ध शक्तिले आमाको गर्भको विकृत रगतलाई आमा-बाबुकै आकारमा जमाउने, सञ्चालन गर्ने, बढाउने, हुर्काउने, बुढ्याउने, मराउने र जहाँबाट आएको हो उहीँ पुऱ्याउने काम गर्छ । याद राखे कि बाबुमा चढेको त्यो किरणवासी धर्मात्मा भए; पर सरेको सात रातसम्मको रगतमा अडिदैन । आठवाँ रातदेखिको रगतमा पापीहरू अडिदैनन् । चौधवाँ रातमा केवल महापुरुष मात्र अडिन्छन् । पन्ध्रवाँ सोह्रवाँ रातमा चाहिँ पुण्यात्मा- हरू मात्र अडिन्छन् । सत्रवाँदेखि कोही पनि अडिन्नन् । पहिलो- दोस्रो-तेस्रो रातमा कोढीहरू मात्र अडिन्छन् । चारौंदेखि सोह्राँ रातसम्ममा पनि बिजोरमा छोरी र जोरमा छोरा मात्र अडिन्छन् । तिनमा पनि ग्रहणादिमा-श्राद्धको दिनमा एकछाकी- को दिनमा - मूल नक्षत्रमा मघान्तमा- रेवतीमा- अष्टमीमा - चतुर्दशीमा - जन्मदिनमा औंसी- पुर्णेमा रहेको गर्भमा अलच्छिनाहा अडिन्छन् । सात रात- सम्म पापी मात्र अडिने पापी रगत शरीरमा रहने हुनाले त्यति खेर ती पितृकार्यका लागि चोखिदैनन् । प्रायः नब्बे प्रतिशत गर्भ यसै सात रातभित्रै रहेका हुन्छन् । 

तसर्थ, जहाँबाट आएको हो, त्यहाँ फर्कनलाई यहाँ कस्तो-कस्तो कर्म गर्नुपर्छ, पहिलेको सञ्चित अभ्यासले त्यस्तै त्यस्तै कर्म गर्छ र त्यस्तै कर्म गर्न उ रमाउँछ र गर्छ पनि । यसैको नाउँ स्वभाव हो । त्यसैले भिन्न-भिन्न किरण-लोकबाट आएका उही जातका पनि भिन्न-भिन्न प्राणी वा मनुष्यको भिन्न-भिन्न स्वभाव यस प्राणिजगत्मा भएको हो । तसर्थ, त्यो प्राणी जबसम्म विष्णुको कृपापात्र हुँदैन तबसम्म त्यसै भुँवरीमा चक्कर लाइरहन्छ । यसैलाई शिशुमार चक्र अर्थात् जन्मनु र मर्नुको फेरो भनिन्छ । पुराणमा जति देवता र जति लोक छन्, ती सबै त्यो- त्यो शक्ति हुने सूर्यका विभिन्न किरणकै नाम हुन् भनी वेदमा बताइएको छ अर्थात् वेदका तिनै कुरालाई पुराणमा प्रष्ट्याइएको हो । हामी प्राणीहरू केवल सूर्यको प्रकाशलाई मात्र देख्तछाँ र तीद्वारा प्रकाशित वस्तुलाई जान्दछौँ मात्र । 

प्रकाश नपरेको वस्तुलाई देख्तैनौं । प्रकाशलाई अन्धकारले छेक्दैन । निष्पट्ट अन्धकारमा आफ्ना सामुको आफ्नो हातलाई पनि हामी देख्तैनौँ, तर धेरै टाढा बालिएको आगोलाई देख्छौँ । त्यसकारण, सूर्यका किरणहरूमा भएका शक्तिहरूलाई जानु ज्ञान हो । यस्तो यो ज्ञान प्राप्त गर्नका लागि जसरी युवतिको युवकमा र युवकको युवतिमा उनको भित्री अन्तस्करणमा निरन्तर तन्मनस्कता रहन्छ, त्यस्तै तन्मनस्कता आकाशभरि ढाकिइरहेको सूर्यको तेजमा बाह्र वर्ष रहिरह्यो भने त्यो तेज हृदय-भित्रै झल्कन्छ र सकल ज्ञान प्राप्त हुन्छ । यस्तो जनलाई ज्ञानी भन्दछन् । ज्ञानीलाई पापले छँदैन, शिशुमार चक्रको फेरो रहँदैन, यसैलाई विष्णुको कृपा पनि भनिन्छ ।

हे अगस्त्य मुनि ! उता पृथ्वी डुबेको बेलामा जलचर चाहिँ असंख्य बढेर समुद्रमा अटाइ नअटाइ हुन्छन् । अघि-अघि पृथ्वीले खोक्रिएको अवस्थामा विष्णुलाई आर्तपुकार गरे- अब समुद्रले जल- चरको भार थाम्न सकिनँ प्रभु ! भन्दै आर्तपुकार गर्न थाल्छन् । अनि विष्णुले आफ्नू वाराह शक्ति प्रयोग गरी पृथ्वीमाथिको पानी हटाइदिएपछि त्यहाँ थुप्रिएका जलचरहरू त्यहीँ मरी सडी कुहेर त्यसमा  बड़े-बड़े कीरा पर्छन् । त्यही सडानलाई नै क्षीरसमुद्रशायी विष्णुको अर्थात् समुद्रको जलमा रहने शक्तिको कानेगुजी भनिन्छ र त्यही देब्रे कानको यानि उत्तरी गोलार्धको कानेगुजीबाट उब्जेको बडेमाको कीरालाई 'मधु' दानवर, अनि दाहिने कानको अर्थात् दक्षिणी गोलार्धको कानेगुजी- बाट उब्जेको यामानको कीरालाई 'कैटभ' दानव भन्दछन् ।

विष्णुकै नाभिकमल यानि सृष्टिको केन्द्रस्थल नाइटोबाट उम्रेको अर्थात् समुद्रैको लेदो छिपछिपे पानीबाट उब्जेको पृथ्वी-जल-तेज- वायु-आकाश- रूप नालको माथि खिलेको कमलपुष्प अर्थात् ती पञ्चमहाभूतको सामूहिक शक्ति मिली आकाशमै प्रकट भएको 'ब्रह्म' नामको ब्रह्मा कहिने चैतन्य शक्ति- लाई र, त्यसको उद्भवस्थानलाई भताभुङ्ग पारी पृथ्वी- लाई दबदबे पानीमै डुबाइराखी त्यहाँ दानव देश बनाउलान् जस्ता ती प्रबल दानव कीरालाई हटाउन ब्रह्माका स्तुतिले प्रसन्न भएकी योगमायाले ध्यान गरी जगाइएका अर्थात् शरीर धारण गराइएका स्वयं विष्णुशक्तिलाई नै पाँच हजार वर्ष लाग्यो र पनि नसकिएर विष्णु हैरान भै बसेको बेलामा ती कीराहरू चम्किदै सोहोरिएर आफ्नू नगीच- नगीच आई उफ्रदै उधुम मच्चाउँदै- 'ए पाजी ! के नाप्न सक्छस् नाप्' भन्दा विष्णुले वाचा बधाई 'तिमीहरूलाई मारेर पृथ्वीलाई सफा पार्न सकूँ' भन्दा ती कीराहरूले जलमा ता हामीलाई मार्न तँ सक्तैनस्, थलमा हाम्रो शक्ति कमजोर हुने हुनाले पहिले पृथ्वीको पानी सुका, अनि मात्र मार्न सक्लास् भन्दा इन्द्रलाई बाह्र वर्ष पानी नपार्ने आज्ञा दिई त्यहाँको पानी सुकाई अनिमात्र आफ्ना दुवै काखमा अर्थात् उत्तरी गोलार्धकालाई र दक्षिणी गोलार्ध- कालाई बायाँ र दायाँपटि नगीचै- नगीचै राखी ती सारा कीरालाई आफ्नू चक्र चलाई मारी ब्रह्मालाई डुब्नुबाट जोगाउनुभयो र, तिनै मरेर सडेका जल-जन्तुका हाड-खोडका थुप्रोले पहिलेका दर्के पानीले र पहिरोले खिइई थेप्चिएका पहाडहरू चुलिए, भूमि मलिलियो, फेरि ब्रह्मशक्तिले अघि सूर्यमा गै रहेका वंशहरू आफाफ्ना गुण-स्वभाव, आकार-प्रकार लिएर सूर्यका प्रत्यावर्तन शक्तिले पृथ्वीमा फर्कन थाले । यसरी अचरहरू आइसके- पछि, भ्यागुतोले- पानीघोडाले पानीमान्छेले जल- थल दुवैमा सास फेर्न र अडिन सके-झैँ पृथ्वीमा अडिन सक्ने मत्स्यकै नामले पुकारिने जलमानुषको रूपमा पैदा भएर मानिसहरू र अरू- अरू प्राणी पनि समुद्रकै प्राणीमा जन्म लिएर मात्स्य न्यायबाट बच्न पृथ्वीमा आई निर्धक्कसँग रहन थाले र पानीमै जस्तो मैथुनी सृष्टि चलाउन थाले । पृथ्वीमै जन्मथलो हुनेको पानीमा सास फेर्ने शक्ति हरायो । त्यसै-उसले “प्रथम अवतार प्रभु मत्स्यरूप धारणम्' भनिन्छ । यसैलाई नै ब्रह्माको मानससृष्टि अर्थात् जलचरलाई थलचर बनाउने इच्छाशक्ति पनि भनिन्छ ।

यिनैमा पहिलेका शास्त्रज्ञाताहरू आफाफ्नू ज्ञान लिएरै जन्मने हुनाले उनैले फेरि पहिलेका शास्त्र विद्या कलाहरू प्रचार गर्दछन् । यसै - उसले सबै स्थिति पूर्वकल्पकै जस्तै कल्पैपिच्छे दोहोरिन्छन् । जसरी प्रत्येक ऋतुमा पोहोरकै दृश्य दोहोरिन्छन् त्यसरी नै प्रत्येक कल्पमा पहेलेकै कल्पका वस्तु, चीजबीज, नर-नारी तिनका आकार-प्रकार, गुण- अवगुण, ऋतुका तारतम्मे उनै उनै दोहोरिइरहन्छन् । यद्यपि उग्र पाप भोग्नका लागि मात्र मानव प्राणी भूत-प्रेत-पिशाच आदि र तिर्यक्योनि यानि तेर्सो शरीर भएका प्राणी भएर जन्मे पनि तिनमा आफाफ्नू वंशीय गुण र वंश चलाउने शक्ति हुँदैन । त्यसको संस्कार उसको आदि योनिको नै रहन्छ ।

हे अगस्त्य मुनि ! जसरी समुद्रमा रहने सागरको  पानी सूर्यका तापले ताती भाफ बनेर सगरमा पुगी 'ॐ खं ब्रह्म' ॐ माने सत्त्व-रज-तम यी तीन गुण मिलेको, खम् माने आकाश नै, ब्रह्म. माने ब्रह्मा हो भन्ने वेदको यो अन्तिम निर्णय अनुसार नै आकाशमा थुप्रिएको त्यो बाफ नै सूर्यमा रहेको बलाहक नामको शक्तिले बादल बनी, त्यही बादल नै बलाहकको स्वामी इन्द्रशक्तिले चिसो पानी बनी, पिपिरी बाजउँदा चेपबाट चेपिएर निस्केको मुखभित्रको त्यो तातो हावा नै बाहिरको खुला चिसो बतासमा ठोकिदा आवाज निस्के-झैँ, बादल-माथिको तातो हावा चेपिएर मेघभित्रको चिसो हावामा मिल्दा बादल गर्जन; दर्शनढुङ्गामाथि दर्शनढुङ्गा बजार्दा झिल्का निस्किए झैँ बादल- माथिको तातो बतासको वेग मेघभित्रको चिसो हुरीमा ठोकिदा ती दुवैको आघातको वेग-वेग जुधेर जुधाइको बीचमा परेको पानीलाई चट्याङ बनाउँदै चम्कने बिजुलीले ठेलिई पानीको रूपमा मेघ-पानी- विद्युत्-बतास र आकाशको संयुक्त शक्ति नै जलशायी साकार विष्णु हो । त्यस्ता विष्णुको चरणोदक अर्थात् मेघको पानी ब्रह्माको कमण्डलु यानि मेघमनिको आकाशबाट पृथ्वी वा पृथ्वीको टाउकोरूप शिवको शिर मानिने हिमालयमा  दर्की शिवको जटारूप मानसरोवरमा जम्मा भई भरिएपछि त्यहाँ नअटाई त्यो नअटाएको पानी भगीरथ प्रयत्नले अर्थात् त्यति अग्लो पहाडबाट खँदारिदै, भीर पहरा ढुङ्गा-मुढामा बजारिदै, पाखा भित्तामा ठोकिदै, छिया-छिया भई बल्ल- तल्ल बडा मुश्किलले सम्ममा आइपुगी, एकछिन पनि नबिसाई बिस्तार-बिस्तार निरन्तर बग्दै बग्दै गई फेरि सागरमै मिल्छ र फेरि ताती, बाफ बनी, सगरमा पुगी पानी- रूपमा वर्षिई उसै सागरमै आवागमन गरिरहन्छ । भाफ बन्दा पानी नदेखिए पनि पानी मरेको अर्थात् बिलाएको हुँदैन । जसरी अन्न-फलफूलमा रहेको पोषक तत्त्व, गुण-स्वाद देखिदैन; तर खाएपछि अनुभवले 'छ, हुन्छ' भन्ने थाहा हुन्छ, त्यसरी नै पानीबाटै बनेको यो शरीर अनि सूर्यबाट मिलेको त्यसमा रहेको शक्ति नदेखिए पनि बिलाएको हुँदैन । त्यसैले त्यसरी नै यो सृष्टि- स्थिति-प्रलयको आवागमन पनि भइरहन्छ । पानीको यस्तो आवागमन देखेर पामीबाट बनेको यो शरीरको पनि आवागमन भइरहन्छ भन्ने कुरो यसै अनुमानले ठम्याउनुपर्छ । यही आवागमन भइरहने हुनाले यसका सञ्चालक भगवान् विष्णुलाई "चक्रपाणि' अर्थात् हातमा चक्र लिएर सृष्टि- स्थितिप्रलयको रूपमा घुमाइरहने भन्दछन् । यिनै सब कारणले आकाशको जललाई विष्णुको • चरणोदक र सृष्टि-स्थिति प्रलयको आदिकारण बर्सेको जल नै हुनाले विष्णुलाई जलशायी भन्द- छन् । क्षीरसागरमा शेषशय्या गरी सुतेका लक्ष्मी युक्त अर्थात् क्षीर माने दूध झैँ सेतो प्रकाशमय सागर माने अथाह आकाशमा व्याप्त विद्युत् नै निराकार विष्णु हो र त्यस विद्युत्मा निहित शक्ति नै लक्ष्मी हो भने; प्रकृतिरूप जललाई अँगाली मेघरूप धारण गर्ने शक्तिसम्पन्न विद्युत् चाहिँ विष्णुको साकार रूप हो । 

यद्यपि समुद्रमा 'वडवानल' नामले व्याप्त रहेको विद्युत् पनि सूर्यबाटै समुद्रले संग्रह गरेको हो तापनि आकाशरूप क्षीरसागरमा रहेको विद्युत् निट्ठा तातो हुनाले उ पुरुष हो र जलरूप क्षीर- सागरमा रहेको विद्युत् चिसो-तातो मिलेकाले प्रकृति हो । पुरुष भाले हो र प्रकृति पोथी हो । भाले पोथीको मेलबाटै सृष्टिक्रम चल्ने हुनाले दुवैको विद्युत्-तातो मिली यौटै आत्मा बने पनि भाले पक्षको शक्तिलाई परमात्मा भनिन्छ र पोथी पक्षको शक्तिलाई जीवात्मा भनिन्छ । परमात्माले शरीर सञ्चालनका लागि आवश्यक पर्ने बल विद्या-वाणी आदि समस्त शक्ति दिए पनि तिनलाई प्रयोगमा ल्याउने काम जीवात्माले गर्छ र त्यस- त्यस कर्मको भोग पनि जीवात्माले नै भोग्छ । परमात्मा त केवल उसका कामको साक्षी मात्र भएर रहन्छ । यसैले हामीले झूठो बोल्दा साथसाथै साक्षीले झुठो-झुठो भन्ने बकिरहेको हुन्छ । यौटै आत्मा भए एकैचोटि दुई कुरो बक्न सक्ने थिएन भन्नेहरूलाई 'द्वैतवादी' भन्दछन् र आखिर समुद्रले धारण गरेको विद्युत् पनि सूर्यकै बिजुली त हो नि ! जसरी अरू शक्ति दिए त्यो द्वैत शक्ति पनि दिए, उ दिन्छ मात्रै स्वयं भोग गर्दैन भन्नेहरूलाई 'एकेश्वरवादी' भन्दछन् । 

हे अगस्त्य मुनि ! अहिलेसम्मको मेरो भनाइले त्यो विष्णु त जड़ात्मक पो रहेछ भन्ने भान तिमीलाई पयो होला, त्यस्तो भान हुनु स्वाभाविकै पनि हो । किन्तु जल-थल - तारा-नक्षत्र - ग्रहगणसहितको समस्त आकाशमा व्याप्त भएर रहेको त्यो विद्युत्- रूप विष्णु त सदा सत्-चित्-आनन्दमय स्वरूपमा रहेको छ । तसर्थ, आफ्ना भक्तहरूले त्यो तेजरूपमा शंख-चक्र-गदा-पद्म लिएका, पीताम्बर पहिरेका मनुष्य- आकारको रूपमा ध्यान गरे या स्तुति- प्रार्थना - आर्त पुकार गरे भने आफूमा हरेको चित् माने चैतन्य शक्तिद्वारा भक्तले चिताए जस्तै प्रत्यक्ष रूप धारी भक्तहरूको आपत्ति टारिदिनुहुन्छ, आशीर्वाद दिएर दुःख हरिदिनुहुन्छ, कुनै दुष्टले धर्म नाश गर्न तम्स्यो भने इच्छानुसारको रूप धारी त्यसलाई निभाइदिनुहुन्छ, धर्म र धर्मात्मा- हरूको नाश गर्ने दुष्टहरूको विशाल दल भए अवतार लिएर युद्ध रची त्यसै युद्धमा सारा पापी- हरूलाई भेला पारी तिनलाई स्वाहा पारिदिनुहुन्छ, आफ्नू सदा ध्यान गर्ने भक्तहरूलाई उनमाथि आइपरेका आपत् - विपत्बाट रक्षा गरिदिनुहुन्छ । 

कहिलेकाहीँ लहड चल्यो भने साधारण रूप धारी धराई लक्ष्मी या गङ्गा या सरस्वतीका साथ रमण पनि गर्नुहुन्छ । उहाँका यस्ता लीलाहरूको बखान गरेर साध्य छैन । भगवान्का यिनै सब लीला र मनुष्यहरूमा भिन्न-भिन्न स्वभाव तथा गतिविधि एवं उनको विचारधारा हुनु नै पुनर्जन्मका अनुमानको कारण हो । यिनै सब कुरा नै हुन् पुनर्जन्म हुने कारणका प्रत्यक्ष विवरणहरू ।

हे अगस्त्य मुनि ! तिमीले पुनर्जन्म हुने कारण सुनिसक्त्यौ, जान्यौ पनि । त्यसैकारण, अब सुन, यस मर्त्यमण्डलमा गोमाका बाद श्रीस्वस्थानीको व्रत- पूजा विधि पूर्वक गर्ने सुलोचनाको आख्यान ।  अहिले यतिखेर चलिरहेको कल्पलाई पद्मकल्प भन्दछन् । यस कल्पको यो अट्ठाईसौं चौघडीको अन्तिम युगको प्रथम चरण चालू छ । यसभन्दा एघारौं चौघड़ी पहिले अर्थात् अट्ठारौं चौघडीको त्रेतायुगको अन्तिम चरणमा हिमालय प्रान्तको पहाडी प्रदेशको दक्षिणी भागमा रहेको नारायणी नदीको पूर्वपट्टि भएको चित्रवन नाम गरेको राज्यका शासक शूरसेन सिंह नामका राजा थिए । तिनको राजधानी नारायणगढ़ नामको नगर थियो। राज- धानीमा भव्य बजार थियो । राज्यका अरू ठाउँ- ठाउँमा पनि राम्रा-राम्रा बजार सजिएका थिए । गाउँहरूमा किसानहरू र कालीगढहरू रहन्थे । किसानहरू खेती-किसानी गर्थे भने कालीगढ़- हरू राज्यका जनताहरूलाई चाहिने सर-सामान बनाउँथे । राजधानीबाट केही पूर्व त्यतिखेर सुन्दरपुर नाम गरेको बजारको वरिपरि रहेका आठ-दश गाउँमा जजमानी गर्ने पुरेत बाजे तुलसीराम आचार्य नाम गरेका गाउँले पण्डित थिए । उनी हँसमुख, मिलनसार, परिआउँदा अरूलाई सकेको सघाउने, चतुर्मासाभरि गाउँवासीलाई पुराण सुनाउने, अनि वैशाख - पुरुषोत्तम- कार्तिक एकादशीका माहात्म्य- हरू पनि ती - ती महीनामा वा तिथिहरूमा बताउने, ती ती व्रतहरूको उद्यापन तथा पूजा-पाठ अनि श्राद्ध- न्वारान - व्रतबन्ध -विवाह आदि पनि शुद्धसँग विधिपूर्वक गराउने, परिआउँदा सप्ताह पनि भन्ने, अनि हात हेर्ने, कुण्डली हेर्ने, चिना टिप्पन लेखिदिने तथा बिस्तुर नजाने झारफुके काम पनि गर्ने एवं टपर्टुय्याँ घरेलु ओखती पनि गरिटोपल्ने हुनाले उनी उनका जजमानहरूका अत्यन्त प्रियपात्र थिए । तिनकी मनोरमा नामकी धर्मपरायणा पत्नी थिइन् । उनले दुई छोरा-मनि छोरी पाइन् । ती छोरी असाध्यै राम्री थिइन् र तिनका हेरिरहूँ जस्ता आँखा हुनाले सबैले उनलाई 'सुलोचना' भन्दथे । ती सानैदेखि शीलवती थिइन् । उनी बाह्र वर्षकी भएपछि उनका बाबुले उनको विवाह - कर्म नारायणीकै डिलमाथि नै बनेको भव्य मन्दिरमा रहेको सिद्धिविनायक नामका गणेशजीका पुजारी- का लायक गुणी छोरा श्रुतधरका साथ गरिदिए । त्यस वेलाको रीति अनुसार पर नसरीकन घर नपठाउने चलन हुनाले बाबुले छोरी अन्भाएनन् । एकै वर्षपछि माईका रोगले श्रुतधर एकाएक मरे । बिचराले दन्दनाउँदो चौध वर्षको उमेरमा विधवा हुनुपर्यो । घरकाले अलच्छिनाही भनी घरमा ढिम्कनै दिएनन् । भाउजूहरूले चाकर्नी बनाए । छरछिमेकीले पनि अनेक ताना मार्न थाले । सेतो सारी लाएर बालखै छोरीलाई बाहिर- भित्र गरेको देख्ता बाबु-आमा पिरिएर झिङटिदै गए । 'यस्तो परिस्थिति देखेर अझ भविष्यमा आइपर्ने गतिविधि विचारेर, यसरी अनेक भुवल सहेर, नाना भाँतिका टोकसो सुनेर मर्नैका लागि दिनहरू बिताई काल पर्खनुभन्दा त किन म कल्याणकारी भगवान् विष्णुको तपस्या गरेर भावी जन्म नसुधारूँ' भन्ने मनमा सोची एकदिन मौका पारेर उनले आफ्नू मनको तर्क-वितर्क आमालाई भनिन् । आमाले बाबुलाई सुनाइन् । तब बाबुले यसो मनमा गमेर 'छोरीको विचार त ठीकै हो' भन्ने ठानी उसको इच्छा पुऱ्याइदिने तारतम्मेमा लागे । तब त्यो कुरा जजमानहरूलाई भनेर गण्डकी-देवकी-त्रिशूली नदी मिली त्रिवेणी भई नारायणी बनेको दोभाननेर पहाडको भित्तामा बाढी नपुग्ने ठाउँमा पानीको सोता नजीकै पारी यौटा कुटी र यौटा लामू कटेरो बनवाइदिए । त्यसपछि उनको रक्षा र सेवा अनि हेर्चाहका लागि सातोटी अधबैंसे विधवाहरूलाई उहीँ उसै कटेरोमा राखी, छोरीलाई कुटीमा बसाली जज- मानहरूलाई भनेर ती सबैलाई खान-पानको सारा  व्यवस्था मिलाइदिए । 

त्यसपछि ती बालविधुवा सुलोचना त्यसै कुटीमा बसेर, सांसारिक सारा व्यवहार तजेर, कामोत्तेजक विषय-वासनाका बेफ्वाँकका तर्क-वितर्क गर्न र मनुष्यमण्डलीमा रहेर फतर्का मार्न च्यात्त छाडी, त्यो तीन पवित्र नदी मिलेकोले त्रिवेणी नाम पाएको त्यस दोभानमा दिनहुँ तीनै काल प्रातः - मध्याह्न र साँझ न्वाहेर आई, कुटीमा बसी, पद्मासन कसी, निश्चल सोझो घाँटी गराई, दुवै आँखाको हेराइलाई नाइटोमा पुऱ्याई, सूर्यको जाज्वल्य तेजलाई आकाशभरि नै ढाकिएको सम्झी, त्यस तेजमा मात्रै ध्यान अटल पारी, त्यसै तेजराशिलाई विष्णु- को स्वरूप मानी 'ॐ नमो भगवते वासुदेवाय' भन्ने यो विष्णुमन्त्र मात्रै जपी नारायणकी अति भक्तिनी योगिनी भएर अत्यन्त कठिन तपस्या गर्न थालिन् । उनी त्यहाँ सधैँ असल आचरणमा रहन्थिन्, कहिल्यै कसैको फोकटिया सङ्गत गर्दैन- थिन्, ध्यानमा तल्लीन रहेको बेलामा 'को आयो, को गयो' उनलाई पत्तो रहदैनथ्यो । आफ्नै शरीरमा रहने सधैँ नरकतिरै जाने बाटामा मनलाई दौडाइ- रहने, अनि काम-क्रोध-लोभ-मोह-मद-मात्सर्य- लाई उकास्याउकास्यै गरिरहने दुष्ट इन्द्रियहरूको  वशमा कहिल्यै पर्दिनथिन् । जो पवित्र खाना मिल्यो त्यही मात्र खाएर सन्तोष गर्थिन्, सधैँ एकछाक जो जुरेको फल-फूल मात्र खाने र भक्तहरूले नियमित रूपले पालो बाँधेर ल्याइदिने गरेको गाईको दूध मात्र पिउँथिन्, सधैँ साँचो बोल्थिन्, थोरै बोल्थिन्, अत्यन्तै सुशीला थिइन्, सदा प्रसन्न रहन्थिन् । नारायणी शक्तिले मोहित भएर दर्शन गर्न आएका भक्तहरूले ल्याएर चढाएका वस्तुहरू पनि विशाल दिल भएकी उनी वरिपरि आसपासमा रहने दुःखी दरिद्रीहरू- लाई बाँडिदिन्थिन् । व्रतैव्रतले देह सुकाएकी थिइन्, तर ब्रह्मचर्यका प्रभावले तेजिली थिइन् । बिहान न्वाहेर आएपछि पितृहरूलाई, ब्राह्मणहरूलाई दिएर अनि आगामा होमेर, दिनको छठवाँ भागमा फल-फूल मात्र खाने गर्थिन् । कठिनभन्दा पनि अति कठिन सारा व्रतहरू विधिपूर्वक गर्थिन्, पुण्यकर्म गरेर नै सारा महीना, सारा वर्षहरू बिताउँथिन् । प्रत्येक वर्ष पौषशुक्ल पूर्णिमाका दिनदेखि स्वस्थानीका व्रतको नियम पालन गरी नारायणी देभानमा प्रातः स्नान गरी, कुटीमा आई आफ्नू नित्यकर्म सकी फेरि मध्याह्नमा सङ्गममै स्नान गरी, त्यसैको तीरमा बालुवाको दुइटा ससाना  ढिस्को बनाई त्यसैमा शिव-पार्वतीको पूजा गरी कुटीमा आएर नारायणको तेजरूपमा ध्यानमग्न हुने गर्थिन् । माघशुक्ल पूर्णिमाका दिन स्वस्थानीको व्रतको उद्यापन पूजा अर्थात् सावधिक व्रतको अन्तमा गरिने पूजा र ब्राह्मण- भोजन गराउँथिन् । अनि मकर राशिमा सूर्य रहुन्जेल त्रिवेणीकै किनारमा रहेर त्रिकाल स्नान गरी उहीं नै नारायणको ध्यानमा तल्लीन रहन्थिन् । त्यस्ता प्रकारले ती सुशीला सुलोचनाले साठी वर्ष त्यस कुटीमा बसेर साठी वर्षमा स्वस्थानी देवीको साठी नै ओटा व्रतपर्वक पूजा गरिन् र साठी नै ओटा मकरस्नान त्यस देउघाटको त्रिवेणीमा गरिन् । 

मकर राशिमा सूर्य सरेको दिन माघे संक्रान्ति- देखि त्यसै माघ मासान्तसम्मको नित्यस्नानलाई हामी माघस्नान या मकरस्नान भन्दछौँ । त्यस कुटीमा त्यसै प्रकारले रहँदा रहँदै तिनी पचहत्तर वर्षकी भइन् । स्वस्थानीको साठीवाँ पूजाको अन्तमा स्वयं स्वस्थानी देवी नै उनका सामु मात्रै प्रकट भएर त्यहाँ रहेका सबैले सुन्ने गरी - "हे तपस्विनी ! तिम्रो श्रद्धा-भक्ति-विश्वास- पूर्वकको साठीओटा अटूट पूजाले म अत्यन्त प्रसन्न भएँ । अब तिमी यो मकरस्नान सकेर आगामी फागुनशुक्ल पूर्णिमाका दिन मध्याह्न कालमा यस नारायणीको सङ्गममा नै कम्मर-कम्मर पानीमा तीन डुबुल्की लाएर सूर्यलाई हात जोडी लामू स्वरले 'ॐ' भन्दाभन्दै यो शरीर यहीँ त्यागेर आत्माशरीरले सरासर वैकुण्ठ जाऊ" भनी स्वस्थानी देवी अल्पिइन् । यो कुरो थाहा पाएर त्यस दिन त्यस सङ्गममा भक्तजनको कुडुलो लागेको थियो ठीक भनेकै वेलामा देवीले भनेजस्तै गरी रहेकी उनको तालु पड्कियो र उनको अदृश्य जीवात्मा उडेर सरासर वैकुण्ठ पुग्यो, पार्थिव शरीर पानीमै ढल्यो । भक्तजनहरूले उठाएर किनारामा ल्याए सुताए र साराले फूल अर्पेर पूजा गरे । अनि खलियोका खलियो दाउराको चिता बनाएर त्यसमाथि त्यो मृतदेह राखी सबैले मिली आफाफ्ना घर-घरबाट ल्याएका पाथीका पाथी घिउ लाशमाथि खन्याएर यौटा भक्तले दागबत्ती दियो र दशगात्र क्रिया पनि गरिदियो तथा नियमपूर्वक बरखी बारी बरखी पनि गरिदियो । त्यसपछि तिनै भक्तपुत्रकी आमाले नै त्यस आश्रमको नाउँ 'नारायणी आश्रम' राखी त्यहीँ त्यसै गरी रहन लागिन् । भक्तहरूले सुलोचनाको स्मृतिको लागि साधु-सन्त- तीर्थयात्री विद्यार्थीहरूका लागि त्यहाँ सदावर्त राखिदिए । 

हे अगस्त्य मुनि ! गङ्गा र सागरको गङ्गासागरमा सङ्गमस्थल समुद्रमा डुबेर रहेको कपिलमुनिको आश्रममा मकरसंक्रान्तिको सात दिन पहिलेदेखि सात दिन पछिसम्म आश्रममाथिको समुद्रको जल पछि-पछि हटेर आश्रमस्थललाई छोडिदिन्छ र कपिलमुनिको आश्रम पानीबाट बाहिर पोहोरको जस्तै देखिन्छ, त्यसै गरी हरेक कल्पान्तमा पहिले पृथ्वीलाई डुबाएर रहेको समुद्रको पानी पछि- पछि सरेर पृथ्वीलाई डुबाउन छोडिदिन्छ त फेरि पहिलेका कल्पकै उही उही सृष्टि-स्थिति उस्तै- उस्तै प्रकारले दोहोरिने हुनाले आजसम्म पनि त्यो नारायणी आश्रमको परम्परा उसै गरी चलि नै रहेको छ । 

हे अगस्त्य मुनि ! जब ती तपस्विनी सुलोचनाले देह त्याग गरिन्, तब उनको जीवात्मा तत्काल वैकुण्ठधाम पुग्यो त श्रीस्वस्थानीको आशीर्वाद र विष्णुको प्रसन्नताले गर्दा पद्मा नाम गरेकी अप्सराको रूप धारण गर्यो र विष्णुले आफ्ना इच्छाशक्तिले तयार पारिएको, सबै ऐश्वर्यले भरिभराउ भएको नयाँ स्वर्गपुरीमा सकल सुखभोग भोग्दै चालीसओटा युग अर्थात् दश चौघडीसम्म त्यहीँ रहिन् । त्यो स्वर्ग यसै शरीरका आँखाले देख्नका लागि, जस्तै दूरदर्शक स्थानबाट विशेष कृत्रिम बिजुलीद्वारा अन्तरालको नदेखिने व्याप्त बिजुलीमा फ्याँकिएको अनि अदृश्य रूपमै त्यहाँको प्राकृतिक बिजुलीमा अदृश्य रूपले अनेक भएर फैलिएको दर्शक स्थानबाट फ्याँकिएको दृश्य जतासुकै देख्नलाई अर्कै यन्त्रको र विशेष बिजुलीको खाँचो पर्छ, त्यस्तै अन्तरालको बिजुलीमा अदृश्य रूपले रहेको त्यो स्वर्ग देख्नलाई पनि तपस्याले आफ्नै शरीरमा उपार्जन गरेको दिव्यदृष्टि चाहिन्छ । त्यस्तो त्यो दिव्य स्वर्गपुरीमा चालीसओटा युग बिताएपछि एकदिन एकाएक टुप्लुक्क त्यहाँ आइपुगेका ब्रह्माले आफ्ना इच्छाशक्तिले उनको त्यो पद्मा शरीरलाई अत्यन्त राम्रो रूप र जीउडालको शरीरमा परिवर्तन गरेर आफ्नै लोकमा लगी 'तिलोत्तमा' नाम राखिदिनुभो र भन्नुभो 'हे तिलोत्तमा पुत्री ! तिम्रो यो अति राम्रो रूप- राशिलाई देखेर म आफै पनि आश्चर्यचकित छु, त्यसकारण, म तिम्रा पुण्यका प्रतापले बनेको यो शरीरलाई कहिल्यै पुण्य क्षय नहुने बरु बढ्दै जाने तथा सारा ऐश्वर्यले भरिभराउ भएको परमधाम सूर्यलोकमा पठाइदिन चाहन्छु, जहाँ गएर तिमी  आकाशमा सूर्य भगवान् रहुन्जेल यस्तै रूप र जीउडालले सकल सुख-भोग भोग्दै रहिरहनेछौ । यस्तो सूर्यलोकमा पठाउन मैले मात्रै हुँदैन, समस्त देवताहरूको पनि सम्मति चाहिन्छ । तसर्थ, तिमी देवताहरूलाई प्रसन्न पार्न उनीहरूका कट्टर शत्रु, असाध्यै बलिया, अचेल अजनाभ देश अर्थात् भारतवर्षको मगध प्रान्तको विन्ध्याटवीको बीचमा रहेको अम्बिकापुरलाई राजधानी बनाई रहेका 'सुन्द' तथा 'उपसुन्द' नाम गरेका दानवलाई आफ्ना नक्कल- झक्कलले मोहित पारी परस्परमा भिडाई मारेर आऊ । अनि म त्यस कामले प्रसन्न भएका देवताहरूको सभा बसाई तिमीलाई सूर्यलोक पठाउने प्रस्ताव सभामा राख्छु । तिम्रो कामले रिझिएका देवताहरूले अवश्यै मेरो प्रस्ताव स्वीकार्नेछन् । तब म तिमीलाई सूर्यलोक पठाइदिनेछु' भनेर अह्राएपछि ती तिलोत्तमा बनेकी सुलोचनाले तब तुरुन्तै ती दुई दैत्यलाई मार्न त्यो ब्रह्मलोकबाट बीणा हातमा लिएर योगमार्गले अर्थात् जहाँ चितायो उहीँ पुगिने शक्तिले जहाँ ती दानव रहन्थे उहाँ पुगिन् र त्यहाँको पवित्र जल भएकी रेवा नदीको जलमा न्वाहेर, कलेजी रङ्गको सारी पहिरेर, रङमिल्दो चौबन्दी चोलो  लाएर, सारा शृङ्गारपटारका सामानले सजिएर, पाउजेब र करधनी छमछम पार्दै, चुराहरू छन्छन् छन्काउँदै पहाडी सोताको नजीकै रहेको अशोक वृक्षको मनि फेदमा रहेको क्यै अग्लो चेप्टो ढुङ्गामाथि बसेर, सेतो चमेलीको फूलले बनेको गजरा शिरमाथि मेहराव आकारले सजेर, रङ- बिरङका गुनकेशरीका लहरा चुल्ठामा लड्काएर, कञ्चन हारले कण्ठ सजाएर, हल्लने लुर्कन कानमा लगाएर, सुनिरहूँ जस्तो मीठो गीत गाउँदै, छः वटै स्वरले वीणा बजाउँदै बसेकी, हेरिरहूँ जस्तो चन्द्रमाको चाँदनी जस्तै रूप भएकी नारीलाई ती सुन्द तथा उपसुन्दका सिपाहीहरूले देखेर छक्क पर्दै तुरुन्तै हाँफझाँफ गर्दै सुन्द उपसुन्दका पास पुगेर हतारिदै त्यस स्त्रीको बारम्बार वर्णन गर्दै भन्न लागे - हे महाराज, यहाँबाट नगीचै क्यै अगाडि नै साक्षात् कामदेवलाई नै पनि मोहित पार्ली जस्ती देवी हो कि, दानवी हो कि, यवनी हो कि, यक्षी हो कि को हो, स्त्रीहरूमा रत्न- समानकी, मानों, रत्नै- रत्नले बनेकी जस्ती, सोह्रै शृंगारले सजिएकी कोही युवति मधुर स्वरमा वीणा बजाउँदै बसेकी छ । रत्नका भोग गर्ने तपाईंहरू चाँडै त्यहाँ गएर  हेर्नुहोस् भन्ने यस्तो आफ्ना सिपाहीहरूको अत्यन्त सुन्दर वचन सुनेर तुरुन्तै नै अंगूरका सुराको चुस्की लिन छोडेर, अनि हजारौं सुन्दरी-सुन्दरी, राम्री-राम्री तरुनी-बरुनी बाइफाले दानवी पट्टीहरूसित पोखरीमा पानी छ्यापाछ्याप गर्दै छिहिल्लिन इत्रिन छोडेर, त्यो नयाँ युवतिलाई मोहित पार्ने लुगाफाटा लाएर, कोही उसका रक्षक भए उनलाई निभाउने सुर कसेर, अनि यमराजको डण्डा जस्तै देख्तै डरलाग्दा सय-सय धार्नी स्ता फलामले बनाइएका आफाफ्ना गदा लिएर बुर्कुसी ती मार्दै ती दुवै भाइ सुन्द तथा उपसुन्द; उहिले एक महिषासुरलाई मार्ने चण्डीले जस्तै गरी सारा सशृंगारले सजिसजाउ भएर ती दुवै दैत्यको गर्दै कामाग्निलाई दन्काउन कम्मर कसेर बसेकी; त्यो तिलोत्तमा- भाठौँ पुगे र उनको अगाडि पुग्नेबित्तिकै नै उनको रूपराशिले लट्ठिएका तथा सुराले उन्मत्त ती भएर पात्तिएका ती दुवै भाइले परस्परमा भन्न लागे - “हे भाइ ! यो सुन्दरी मेरी नै स्वास्नी हुन्छे।" अनि अर्कोले भन्यो - 'हे दाइ, यसलाई तपाईं त्याग्नुहोस्, यो कर्के आँखावाली मेरी नै स्त्री हुन्छे ।' भन्दै मेरी-मेरी भनेर जङ्गिदाजङ्गिदै नगीचिएका मत्ता हात्ती जस्ता ती दुवै दाजु-भाइ आफाफ्ना गदाले परस्परमा हानाहान गरेर ठटाउन लागे त ती दुवै भाइ मरेर त्यहीँ भुइँमा लम्पसार परे ।

त्यसपछि ती तिलोत्तमा पनि देवताहरूको कार्य फत्ते पारेर दशै दिशालाई झललल झल्काउँदै आकाशमार्गले ब्रह्माको पुरमा आइन् । अनि उनका त्यस कामले अति सन्तुष्ट भएका ब्रह्माजीले देवताहरूको सभा बसाएर, ती तिलोत्तमाका कामको वृत्तान्त बताएर, उनीहरूबाट तिलोत्तमालाई सूर्यलोक पठाउने अनुमति पाएपछि ब्रह्माले भन्नुभयो - 'हे सुन्दरी ! अब उप्रान्त तिमीलाई यस्तै रूप, यस्तै उमेरकी रहिरहने गरी बस्ने ठाउँ सूर्यको रथमा दिएँ, अब तिमी उहीँ जाऊ र आकाशमा सूर्य रहुन्जेलसम्म तिम्रा इच्छा-अनुसारका अनेक सुख-भोगहरू भोग्दै उहाँ रहिरहूं' भनी पठाइदिए । तसर्थ, कल्याण चाहनेले समयको सदुपयोग गर्ने गर्नुपर्छ । यस्ता प्रकारले त्रिवेणीको सङ्गमस्थल नारायणीको तटमा रहेर स्वस्थानीको साठीओटा व्रत-पूजा र साठीओटै मकरस्नान तथा साठी वर्षसम्मको नारायणी-तटको निवासको पुण्यफल मिलेकोले मरेपछि ती सुलोचना ब्राह्मणी वैकुण्ठ पुगेर पहिले पद्मा भइन्, अनि अप्सराहरूमा उत्तम तिलोत्तमा भइन् र अन्तमा सूर्यलोकको वास पाइन् । आज पनि उनी उहीँ छन् । अरू अरू पनि जजसले सुलोचनाले जस्तै गरी त्यो व्रत, नियम पालन गर्ला, उ-उसले पनि उ-उस्तै 'पुण्यफल पाउनेछ । त्यसकारण, हे अगस्त्य मुनि ! आफ्नू कल्याण चाहने मनुष्यले जसरी तसरी जे गरेर भए पनि वैकुण्ठवास प्राप्तिका लागि श्रद्धा-विश्वासपूर्वक नारायणीको शिरानमा रहेको देउघाटको त्रिवेणीमा माघभरि बसी मकरस्नान गर्ने गरून् । महीनैभरि त्रिवेणीमै बसेर मकरस्नान गर्न नसके पनि तीन दिन त त्रिकालस्नान प्रत्येक वर्ष अवश्यै गर्ने गरून् । त्यसै गरी स्वर्गलोकको मात्र अस्थायी वास चाहनेहरूले प्रयागको त्रिवेणीमा मकरस्नान गर्ने गरे पनि हुन्छ ।

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमाराऽगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां सुलोचना सूर्यलोकगमनं नाम ऊनत्रिंशोऽध्यायः ।। २९ ।।  

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update