Harsamaya
कोशी–गण्डकीका हिमाली क्षेत्रमा हिमपातको संकेत, तराईमा हुस्सु कायमै
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौँ - देशमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायम रहेको छ, जसका कारण मौसममा आंशिक परिवर्तन देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो जमेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो कायमै रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य भू–भागमा मौसम प्रायः सफा रहनेछ । यसैबीच, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपात वा वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, राति पनि तराईका थोरै स्थानहरूमा हुस्सु लाग्ने तथा कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा भने मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ । मौसमविद्हरूले हिमाली क्षेत्रमा यात्रा तथा दैनिकीमा सतर्कता अपनाउन र तराईमा बिहान/बेलुका दृश्यता घट्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update