Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - २७
श्री स्वस्थानी व्रत कथा । ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - श्री स्वस्थानी व्रत सुरु भएको आज २७औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

श्रीस्वस्थानी व्रतकथाको सप्तविंशौँ अध्यायमा चन्द्रावतीको व्रत–फल र पुनर्मिलनको कथा वर्णन गरिएको छ । श्रीस्वस्थानी परमेश्वरीको प्रसादस्वरूप बगाइएका आठ रोटीको प्रभावले छुट्टिएका नाग–नागिनीको भेट भई उनीहरूले चन्द्रावतीलाई आशीर्वाद दिन्छन् । व्रतको प्रतापले चन्द्रावती दिव्य रूप प्राप्त गरी शालीनदी किनारमा बसिरहेकी अवस्थामा लावण्यदेशका मानिसहरूले उनलाई चिनेर राजा नवराजसम्म खबर पुर्‍याउँछन् ।

नवराजले मन्त्री, सेना र प्रजासहित मंगलयात्रा गर्दै चन्द्रावतीलाई दरबारमा सम्मानपूर्वक ल्याउँछन् । भेटपछि चन्द्रावतीले श्रीस्वस्थानी परमेश्वरीको अपमान गर्दा भोग्नुपरेको दुःख, व्रत गर्दा प्राप्त भएको उद्धार र अन्ततः पति–मिलनको सम्पूर्ण वृत्तान्त सुनाउँछिन् ।

कथाले श्रीस्वस्थानी परमेश्वरीको व्रतको महिमा, अहंकारको दुष्परिणाम र श्रद्धा–भक्तिबाट जीवन रूपान्तरण हुने सन्देश दिँदै अध्याय सम्पन्न हुन्छ । यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज २७औँ दिन सप्तविंशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।

'अथ सप्तविंशोऽध्यायः 

कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि! त्यहाँपछि चन्द्रावतीले बगाएका आठ रोटीमा चार रोटी नागिनीले पाएर हातमा लिई यस्तो अपूर्व रोटी कसले बगाएछ, मेरा पति घर छैनन् । बाहु वर्ष भयो, कहाँ गए, पत्ता छैन । उनलाई नख्वाई एक्लै कसरी खाऊँ । उनको खबर गरूँ अनि दुई-दुई रोटी बाँडेर खाउँला भनी गण्डकी नदी- नाला सबै स्थानमा खबर गर्दै गइन् । तिनै आठ रोटी-मध्ये चार रोटी नागले पाएर कस्तो अपूर्व रोटी पाएँ, यो मेरी स्त्रीलाई नख्वाई एक्लै कसरी खाऊँ ! म परदेश हिँडेको पनि बाह्र वर्ष भयो । अब घर गई दुई-दुई रोटी बाँडेर खाऔँला भनी घर जान लाग्दा शालीनदी र त्रिशूली नदीको दोभानमा श्रीस्वस्थानी परमेश्वरीको प्रसाद-स्वरूप त्यो रोटीको प्रतापले नाग र नागिनीको भेट भयो । अनि नागिनीले प्रसन्न भएर भनिन् - 'हे स्वामी ! मलाई एक्ली छाडेर यतिका दिनसम्म कहाँ जानुभएको थियो ? मेरो भाग्यले आज तपाईंको दर्शन पाएँ । कसैले बगाएको यो चार रोटी  भेट्टाएँ । त्यो तपाईंलाई नख्वाई एक्लै कसरी खाऊँ, दुई-दुई बाँडेर खाऔंला भनी गण्डकी, नदी-नाला सबैतिर खोज्दै हिँडेकी हुँ । बल्ल सन्तोष भयो, लौ खानुहोस्' भनी आफूसित भएको चार रोटीमा दुई रोटी दिइन् । अनि नाग भन्दछन् - 'हे स्त्री ! त्यस्तै चार रोटी मैले पनि पाएको छु, तिमीलाई नख्वाई एक्लै कसरी खाऊँ ! दुई-दुई रोटी बाँडेर खाऔंला, घर जाऊँ भनेर आएँ । तिम्रो मुख देखेर सन्तोष भयो, लौ खाऊ' भनेर आफूले पाएका चार रोटीमा दुई रोटी दिए । दुवै स्त्री-पुरुषले ती रोटी खाइसकेर नागिनी नागका काखमा बसी आनन्दले रहे । तब नाग भन्दछन् -'हे स्त्री ! बाह्र वर्षसम्म हामीहरूको भेट नभएको, यसै रोटीको प्रभावले भेट भयो । जसले यी रोटी बगायो, त्यसको भोलिकै दिनमा इच्छा- सिद्धि हवस्, लक्ष्मी प्राप्त हऊन् र शत्रु नाश हऊन्' भनेर अनेक आशीर्वाद दिए । अनि नागिनी भन्दछिन् - 'हे स्वामी ! म पनि त्यसलाई आशिष दिन्छु- जसले यी रोटीहरू बगायो, त्यसलाई नवग्रहले पीडा नगरून् । राज्यलक्ष्मी त्यसका वशमा रहून् । फेरि हामी जस्तै पति-पत्नी छुट्टिएका भए पनि चाँडै भेट हवस्' भनेर अनेक आशीर्वाद दिइन् । यसरी आशीर्वाद दिएर नाग-नागिनी आफ्ना आश्रममा गए ।

त्यसपछि लावण्यदेशका मानिसहरू शालीनदीमा स्नान गर्न जाँदा त्यस्ता किसिमले बसेकी चन्द्रावतीलाई देखेर सोधे- 'तिमी देवकन्या, विद्याधर- कन्या अथवा स्वर्गकी अप्सरा रम्भा, तिलोत्तमा को हौ ? यहाँ एक्लै किन बसेकी ?' यति लोकहरूले भनेको सुनी चन्द्रावती भन्दछिन्- 'हे लोक हो ! म देवकन्या वा स्वर्गकी अप्सरा होइन । म वरुणपुरका अग्निस्वामीकी छोरी चन्द्रावती हुँ । गोमा ब्राह्मणीका पुत्र नवराजकी पत्नी हुँ । हिजो स्वर्गका अप्सराहरू यहाँ आई श्रीस्वस्थानी परमेश्वरीको व्रत गरेर स्वर्ग गए । मैले पनि उनैका संसर्गमा श्रीस्वस्थानी परमेश्वरीको व्रत गरेर राति जाग्राम गरेँ' भनिन् र लावण्यदेशका लोकहरूले आश्चर्य मानेर गोमा ब्राह्मणीका पुत्र नवराज त हाम्रो देशका राजा भएका छन् । यो कुरा के कसो हो, राजालाई भन्नुपर्दछ भन्ने सल्लाह गरी नवराज राजाकहाँ गई- 'हे महाराज !' भनी चन्द्रावतीले भनेको सारा कुरा सुनाए। ती शाली- नदीको तटमा बसिरहेकै छन्, हुन् कि होइनन् विचार गरिबक्सियोस् ।' यति लोकले भनेको सुनी नवराज राजाले आफ्नी पत्नी चन्द्रावतीलाई सम्झे । अनि 'हे लोक हो ! तिमीहरूले उचित कुरा भन्यौ । चन्द्रावती मेरी पत्नी हो । राज्यको कार्यभारले उसलाई बिर्सिरहेको थिएँ । अब तिमीहरू सबै जना गई डाकेर ल्याओ' भनी उत्तम वस्त्र अलंकारहरू पठाइदिए । अनि मन्त्रीलाई डाकेर भने- 'हे मन्त्री ! मेरी स्त्री चन्द्रावती शालीनदीका तीरमा आएर बसेकी रहिछ । ऐहे, लावण्यदेशका लोकहरू नाना वस्त्र अलंकार पहिरी नाच, गीत, वाद्य गरेर लिन जाऊन्, छिटै पठाऊ । म पनि परसम्म लिन आउँला । हात्ती, घोडा, रथ, पैदल सेना आदि तयार गर' भनी आज्ञा दिए । मन्त्रीले 'हुन्छ' भनेर पूरा शहरमा झ्याली पिटाई सारा प्रजाहरू पछि लगाई आफू पनि गए । सबै चन्द्रावतीकहाँ पुगेर प्रणाम गरी  'हे महारानी ! नवराज राजाले हजुरलाई लिन पठाएर हामीहरू आयौँ । यो पालकी र वस्त्राभूषण ल्याएको छ, पहिरेर छिटै जाऔँ' भने । तब चन्द्रावतीले आफ्ना पति नवराजलाई सम्झेर- 'हे स्वस्थानी परमेश्वरी ! मेरा पति नवराजसित चाँडै भेट हवस् भनेर हिजो व्रत पूर्ण गरेँ, आजै भेट हुन लाग्यो । हे ईश्वरी ! हजुरलाई कोटि- कोटि नमस्कार छ । म पापिनी नाम भए र दुःखका सिन्धुमा डुबिरहेकीलाई कष्टबाट पार गर्नुभयो । हे लोकेश्वरी ! हजुरलाई कोटि-कोटि नमस्कार छ । हे भगवती ! हजुरका कृपाले ब्रह्माले चौध भुवन सृष्टि गरे । यस्ती हजुरलाई कोटि-कोटि नमस्कार छ । हे जगदीश्वरी ! हजुरको दयाले म पनि लावण्यदेशकी रानी हुन आँटें भनी बहुतै प्रसन्न भई वस्त्रालंकार पहिरी, पालकीमा बसी, समस्त प्रजाहरू- समेत भई लावण्यदेश गइन् ।

नगर-बाहिर पुगेपछि लावण्यदेशका स्त्रीहरूले थाहा पाई हतपत गरेर कसैले पाकिसकेको भात छाडेर निस्के, कसैले खाँदा- खाँदै हात पनि नधोई निस्के, कसैले छोरा-छोरी रुवाउँदै निस्के । अगाडि पुग्न भनी पहिले दगुर्दा कसैका हात र कसैका खुट्टा भाँचिए । यसरी  नवराज राजाले चन्द्रावतीलाई अनेक मंगल-यात्रा गर्दै दरबारमा लैजाँदा भए । अनि फेरि कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! तिमी ध्यानपूर्वक सुन- त्यसपछि चन्द्रावतीले गोमा राजमाता र आफ्ना पति नवराज राजालाई प्रणाम गरिन् र नवराजले सम्मानसाथ बसालेर चन्द्रावती लाई सोधे- 'हे स्त्री ! मैले तिम्रो मुख नदेखेको आज यतिका वर्ष भइसक्यो । फेरि तिमीलाई ल्याउन भनी डोलेहरू पठाएको थिएँ, ती डोलेहरू पनि आजसम्म फर्केर यहाँ आएनन् । तिमीले पनि आउन धेरै विलम्ब गयौ ? म राजा भएको तिमीले थाहा पाइनौ कि ? मैले त राज्यको कार्यभारले तिमीलाई बिर्सिराखेको थिएँ । फेरि शालीनदीको तटमा आएर एक्लै किन बसेकी ? मलाई त लावण्यदेशका प्रजागणले भनेर पो थाहा पाएँ । फेरि तिमी पनि पहिलेकी जस्ती छैनौ, अत्यन्त तेजवती भइछौ । आफ्नू सबै वृत्तान्त सुनाऊ ।' यति आफ्ना स्वामी नवराज राजाले सोधेपछि प्रसन्न भएकी चन्द्रावती भन्न लागिन् - "हे स्वामी ! म माइतमै बसिरहेकी थिएँ । हजुरले डोलेहरू पठाउनुभएछ । उनै द्वारा हजुर राजा भएको समाचार पाएकी हुँ र माता-पितासित बिदा माँगी डोलीमा बसेर कहिले हजुरको दर्शन होला भनी हत्पताइरहेकी थिएँ । संयोगले त्यस दिन माघशुक्ल पूर्णिमा रहेछ र यहाँ आउने बाटोमा यौटा ठूलो जंगल रहेछ, त्यहाँ स्वर्गबाट अप्सराहरू आई श्रीस्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका डोलेहरूले देखेछन् र डोली अड्याई हामीलाई भोक लाग्यो, त्यहाँ पर केही पाए खाएर आउँछौँ, तपाईं एकछिन यहीँ बस्नुहवस् भनी मलाई वनमा एक्लै छाडी अप्सराहरूले व्रत गरेको स्थानमा गई उनीहरूको संसर्गमा पूजा गरेर प्रसाद लिई म- नेर आई मलाई प्रसाद दिए । त्यस बेला मलाई अहंकारले छोप्यो र डोलीबाट ओर्ली डोलेहरूका हातबाट प्रसाद खोसी थुः थुः गरी थुकेर खुट्टाले कुल्ची दलीमली पारी मिल्काइदिएँ र डोलेहरूलाई बेसरी हप्काई छिटो लैजाओ भन्दै श्रीस्वस्थानी परमेश्वरीको अनेक प्रकारले निन्दा पनि गरेँ । बिचरा डोलेहरू डरले बोल्न नसकी चुपचाप डोली बोकेर त्यहाँबाट हिँडे । शालीनदीमा आइपुगेपछि साँघुद्वारा पारि तर्न लाग्दा अकस्मात् चँदुवा टाँगेजस्तै मेघ उठेर ठूलो पानीका साथै भयंकर हुरी पनि आयो र पुल भाँचियो, म पनि डोलीबाट लडी शालीनदीमा परेँ । डोलेहरूको के गति भयो, केही पनि थाहा पाउन सकिनँ । मेरो शरीर कहिले मूर्च्छा हुने र कहिले चेत आउने भयो । म यस्ती हुँ भन्ने पनि सुद्धि हरायो । नदीकै तटमा पडिरहें । निकै दिनपछि कपिल नामका दुई ब्राह्मण त्यतैबाट आए । मैले कहाँ जान लागेका भनी सोधें र तिनले राजाको ब्राह्मण- भोजनमा जान लागेका भनेपछि, मैले त्यसो भए मलाई पनि केही माँगेर ल्याइदेओ भनेँ । तिनीहरू भोजन गरेर घर फर्कन लाग्दा आए र हे पापिनी ! तेरो निम्ति हामीले लज्जित हुनुपर्यो । तेरो नाम लिनासाथ राजाको भण्डार नै सुकिगयो । राज- मातालाई खान भनेर पकाइराखेको भात रहेछ, त्यही ल्याइदिएका छौं भनी मलाई पातमा भात दिए । भोकले आत्तिइरहेकी हुनाले मुख पनि नधोई खान तयार भएँ । त्यो देखेर 'ती ब्राह्मणले भने- हे पापिनी ! यस्तो अवस्थामा परेर पनि तँलाई धर्मको चेष्टा रहेनछ । तेरो अवस्था देखेर हामीलाई दया लाग्यो । मुख धोएर खा । अनि श्रीस्वस्थानी परमेश्वरीको व्रत गरेस् त तेरो समस्त पाप, रोग नाश हुनेछ भनी ती ब्राह्मण घर गए । अनि म मुख धुन शालीनदीमा जाँदा नदीको जल सुक्तै गयो । त्यो देखेर म माथि आई मुख नधोएरै खान तयार भएँ त भात खरानी भयो, खरानी पनि खान खोज्दा ठूलो हुरी आएर उडाई लग्यो । अनि म नाना तरहको शोक गरी रोई- कराई भोक प्यास सहेर ठूलो कष्टले दिन काटिरहें। त्यही क्रमले रहँदा बस्ता पौषशुक्ल पूर्णिमा आयो र स्वर्गबाट स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न अप्सराहरू शालीनदीमा आए र मैले उनलाई देखें । अनि चार हात-पाउ टेकेर गई तिमीहरू को हौ ? केही खानेकुरा भए मलाई देओ, पुण्य होला । म के पापले यस्ती भएँ ? भन्दा उनीहरूले भने- हामी इन्द्रका अप्सरा हाँ, श्रीस्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न यहाँ शालीनदीमा स्नान गर्न आएका हौँ । हे पापिनी ! तेरो अवस्था देख्दा हामीलाई दया लाग्यो । अब तँ श्रीस्वस्थानी परमेश्वरीको व्रत गर् । त्यसैको प्रभावले तेरो सारा पाप नाश होला र यो दुःखको सिन्धुबाट पार होलिस् । अनि मैले भनें- म यस्तो स्थितिमा परेकी पापिनीले त्यो व्रत कसरी गर्नेछु ? सामग्री को देला ? के-के चाहिन्छ ? मेरो कुरा सुनी तिनीहरूले व्रतविधि बताई स्वर्ग गए । मैले पनि उनीहरूको उपदेश- अनुसार पौषशुक्ल पूर्णिमाको दिनदेखि नित्य स्नान गरी, एकभक्त रही, एकचित्त गरी महीना दिनसम्म नित्य मध्याह्न कालमा श्रीमहादेवको पूजा गरी रहें। महीना दिन भयो र २) माघशुक्ल पूर्णिमाको दिन आयो र श्रीस्वस्थानी परमेश्वरीको व्रतोद्यापन पूर्ण गर्न अप्सराहरू फेरि त्यहीँ आए । हे स्वामी ! महीना दिनमै श्रीस्वस्थानी परमेश्वरीको व्रतको प्रभावले मेरो कुष्ट रोग पनि निको भयो, हात-खुट्टा पनि पहिलेका जस्तै भए र अप्सराहरूसित भनें-हे अप्सरा हो ! तपाईं - हरूको उपदेशले पौषशुक्ल पूर्णिमादेखि व्रत प्रारम्भ गरेकी छु, भहीना दिन भयो । अब श्रीस्वस्थानी परमेश्वरीको पूजा गर्न मसँग केही सामग्री छैन, कसरी गर्ने ? भन्दा अप्सराहरूले भने- सामग्री नभए शालीनदीबाट बालुवा ल्याई सामग्री तुल्या । अनि मैले शालीनदीबाट बालुवा ल्याई सामग्रीको कल्पना गरेँ र त्यो सामग्री सिद्ध भयो अर्थात् मैले जे-जे कल्पना गरेकी थिएँ, त्यो- त्यो सबै सिद्ध भएको देखेर अप्सराहरू प्रसन्न भई- 'हे सुन्दरी ! आजसम्म तँलाई हामी पापिनी भन्थ्यौँ, तर आजदेखि तेरो नाम 'पुण्यवती' भयो' भने र सोही सामग्रीले मैले तिनै अप्सराहरूको संसर्गमा व्रतको उद्यापन पूजा गरेँ । सम्पूर्ण व्रत पूरा गरेर उनीहरू स्वर्ग गए । अनि श्रीस्वस्थानी परमेश्वरीको प्रसाद अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ पुष्प, आठ पान, आठ कुड्का सुपारी, आठ यज्ञसूत्र र सगुन- समेत दिन हजुर सामुन्ने नहुनाले मैले गंगाजीमा, “मेरा स्वामीसित छिटै भेट होस्' भनी बगाइदिएँ । प्रातः काल भयो र शालीनदीमा स्नान गरी अब माइत जान्छु भनी तयार भइसकेकी थिएँ, त त्यत्तिकैमा लोकहरू लिन आए । हे स्वामी ! मैले श्रीस्वस्थानी परमेश्वरीको अपमान र निन्दा गरेको पापले त्यस्ती भएर पनि फेरि उनैको कृपाले र कपिल ब्राह्मण एवं अप्सराहरूको उपदेशले म यस्ती भएर आज हजुरको दर्शन गर्न पाएँ । श्रीस्वस्थानी परमेश्वरीभन्दा ठूलो अर्को कुनै पनि देवता त्रिलोकमा छैनन् भन्ने मेरो मनमा निश्चय भयो । " समस्त व्रतहरूको पनि व्रत, सम्पूर्ण तीर्थको पनि तीर्थ, धर्मको पनि धर्म, कालको पनि काल र देवताको पनि देवता यस्ती जगदीश्वरीलाई मेरो कोटि-कोटि नमस्कार छ" भनी चन्द्रावतीले श्रीस्वस्थानी देवीलाई बारम्बार दण्डवत् प्रणाम गर्दी भइन् ।

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां चन्द्रावतीस्ववृत्तान्तकथनं नाम सप्तविंशोऽध्यायः ।। २७ ।। 

प्रकाशित मिति: बिहीबार, माघ १५, २०८२  ०५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update