काठमाडौं - श्री स्वस्थानी व्रत सुरु भएको आज २६औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
श्रीस्वस्थानी व्रतकथाको षट्विंशौँ अध्यायमा चन्द्रावतीले अहंकार र देवीनिन्दाका कारण भोग्नुपरेको घोर दुःख र पश्चात्तापपछि उद्धारको मार्ग समातेको प्रसंग प्रस्तुत गरिएको छ । ब्राह्मणहरूले दिएको भातसमेत खान नपाई अनेक विपत्तिमा परेकी चन्द्रावतीले आफ्ना कर्म सम्झँदै आफू स्वस्थानी परमेश्वरीको अपमानकै कारण यस्तो अवस्थामा पुगेको स्वीकार गर्छिन् ।
पौषशुक्ल पूर्णिमाका दिन शालीनदीमा स्नान गर्न आएका अप्सराहरूबाट श्रीस्वस्थानी व्रतको विधि सुनेपछि चन्द्रावतीले श्रद्धा र एकचित्तताका साथ व्रत प्रारम्भ गर्छिन् । नियमित स्नान, पूजा, ध्यान र कथा-स्मरणको प्रभावले उनको कुष्टरोग निको हुँदै जान्छ र शरीर दिव्य बन्छ । सामग्री नहुँदा समेत बालुवाबाट पूजा सामग्री सिद्ध हुनु व्रतको महिमा रूपमा वर्णन गरिएको छ ।
माघशुक्ल पूर्णिमाका दिन व्रत पूर्ण गरेपछि चन्द्रावती पूर्णरूपमा रोगमुक्त भई ‘पुण्यवती’ नामले चिनिन्छिन् । कथाले अहंकारले पतन र श्रद्धा–भक्तिले उद्धार हुने सन्देश दिँदै श्रीस्वस्थानी परमेश्वरीको व्रतले पाप नाश र जीवन रूपान्तरण गराउने विश्वासलाई उजागर गरेको छ ।
यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज २६औँ दिन षट्विंशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ ।
अथ षट्विंशोऽध्यायः
कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मुनि ! त्यसपछि ती ब्राह्मणहरू भात लिएर चन्द्रावती भएको स्थानमा पुगे । चन्द्रावतीले तिनीहरूलाई आएको देखी मलाई पनि केही ल्याइदियौ कि भनी सोधिन् र ब्राह्मणहरूले भने- 'हे पापिनी ! तँ अत्यन्त पापिनी रहिछस् । तेरो निम्ति हामीले लज्जित हुनुपर्यो । किनकि तँलाई दिन भनी हेर्न जाँदा राजाको भण्डार नै सुकिगयो । यति भात राजमातालाई भनेर पकाइराखेको रहेछ, ल्याइ- दिएका छौँ, लौ ले' भनेर सुम्पिदिए । त्यो भात पाउना - साथचन्द्रावती भोकले व्याकुल भएकी हुनाले तत्काल खान तयार भइन् । अनि ती ब्राह्मणहरूले भने- हे पापिनी ! यस्तो अवस्थामा परेर पनि तँलाई धर्मको चेष्टा रहेनछ, मुख धोएर खा, तेरो अवस्था देखेर हामीलाई दया लाग्यो । तँलाई उपदेश दिन्छौं, सुन्-निरञ्जन निराकार रूप श्रीस्वस्थानी परमेश्वरीको व्रत गर । त्यही व्रतको प्रभावले तेरो उद्धार हुनेछ भनी उनीहरू गए । अनि चन्द्रावती बडो कष्टले चार हात-पाउ टेकी मुख धुन भनी शालीनदीमा जाँदा शालीनदीको जल-सुक्दै गयो र चन्द्रावती रोई कराई माथि आएर मुख नधोएरै खान्छु भनी भात हातमा लिनासाथ खरानी भयो, त्यो खरानी पनि खाउँ भन्दा ठूलो बतास आई उडाएर लग्यो । अनि चन्द्रावती काटेको वृक्ष ढले- झैंझैँ भूमिमा परी मूर्च्छा भइन् । फेरि चेत आयो र 'मैले कस्तो अपराध गरिछु' भनी अनेक थरिका विषाद गरी दुःखका सिन्धुमा डुबिरहेकी थिइन् ।
त्यसको केही दिनपछि पौषशुक्ल पूर्णिमा आयो र स्वस्थानी परमेश्वरीको व्रत आरम्भ गर्न स्वर्गका अप्सराहरू शालीनदीमा स्नान गर्न आए। गरिसकी सूर्यनारायणलाई अर्घ्य दिई बालुवाको शिवलिंग बनाई महादेवको पूजा गर्न लाग्दा चन्द्रावतीले देखिन् र उनीहरूको नगीच गएर भनिन् - तपाईं हरू देवता हौ कि मनुष्य हौ ? म पापिनी कहीँ चल्न सक्तिनँ, कसैले केही दिदैनन् । खान पाउँदिनँ, मलाई अन्न-दान दिनुहवस् । म के पापले यस्ती भएँ, मेरो कसरी उद्धार होला ? यति चन्द्रावतीले भनेको सुनी अप्सरा भन्दछन् - हे पापिनी ! हामी स्वर्गका अप्सरा हैं। आज पौषशुक्ल पूर्णिमा हो । श्रीस्वस्थानी परमेश्वरीको व्रत प्रारम्भ गर्न यहाँ स्नान गर्न आयौँ । तेरो अवस्था देखेर हामीलाई दया लाग्यो । तँ यही व्रत गर्, सम्पूर्ण पाप नाश भएर उद्धार होला । यति सुनी चन्द्रावती मनमनै विचार गर्दछिन्- 'मैले अरू त केही पाप गरेकी थिइनँ, डोलेहरूले स्वस्थानी परमेश्वरीको प्रसाद भनी ल्याइदिएको प्रसादलाई मैले अहंकारले थुः थुः गरी थुकेर खुट्टाले दलीमली पारी फालिदिएकी थिएँ । मलाई अवश्य त्यही पाप लाग्यो । यहाँ आइपुगेपछि नदी तर्न लाग्दा डोलीबाट लडेयँ, ठीक हो । कपिल ब्राह्मणले पनि स्वस्थानी परमेश्वरीको व्रत गर् भन्ने उपदेश दिएका थिए । आज अप्सराहरूले पनि त्यस्तै भने । श्रीस्वस्थानी परमेश्वरी भनेकी ठूली रहिछन् । मनुष्यहरू अभिमानले नानिँदा रहेछन् । मैले पनि अहंकार गर्दा यस अवस्थामा प्राप्त भएँ। अब म पनि स्वस्थानी परमेश्वरीको व्रत गर्दछु ।' यस्तो निश्चय गरेर अप्सराहरूसित प्रार्थना गरिन् 'हे अप्सरा हो ! श्रीस्वस्थानी परमेश्वरीको व्रत विधि के हो ? के-के गर्नुपर्दछ ? यो सबै आज्ञा हवस् ।' यति चन्द्रावतीले भनेको सुनी अप्सरा भन्दछन्- 'हे पापिनी ! आजैदेखि हात-खुट्टाका नङ काटी, स्नान गरी, पवित्र भएर एकभक्त रही एकचित्त गरी महीना दिनसम्म नित्य मध्याह्न कालमा श्रीमहादेवको पूजा गर्नू । सकेदेखि श्रीस्वस्थानी परमेश्वरीको कथा भन्नू वा नसके मनले उनैलाई सम्झिरहनू । माघशुक्ल सुन्नू, पूर्णिमाको दिन अष्टोत्तर सय पान, अष्टोत्तर सय अक्षता, अष्टोत्तर सय बेली-पुष्प, अष्टोत्तर सय कुड्का सुपारी, अष्टोत्तर सय यज्ञसूत्र र अष्टोत्तर सय रोटी तथा जात-जातका फूल र नैवेद्यहरू तयार पारी आर्सीमा 'ॐ' कार लेखी गंगाजलले स्नान गराउनू, माला पहिराई धूप, दीप, नैवेद्य, फल-फूल र कस्तूरी, मेवा, मिष्टान्न, वस्त्र, भेटी चढाउनू । अनि एकचित्त भएर स्वस्थानी परमेश्वरीको स्तोत्र-पाठ, जप- ध्यान गर्नू र अर्घ्य दिन- 'हे ईश्वरी !' भनेर मनले इच्छित वर माँग्नू, अनि प्रसाद झिक्नू र अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ यज्ञसूत्र, आठ पान, आठ कुड्का सुपारी, सगुन- समेत आफ्ना पुरुषलाई दिनू, पुरुष नभए छोरालाई दिनू, छोरा पनि नभए मीतछोरालाई दिनू, मीतछोरा पनि नभए मेरो अमुक कामना सिद्ध हवस् भनी गंगा वा नदीमा बगाउनू, सय रोटी आफूले फलाहार गर्नू, रात्रिमा जाग्राम बस्नू । यति गरिसकेपछि तेरा सम्पूर्ण पाप नाश होलान् । हे पापिनी ! यसमा अन्यथा नमानेस् ।
अब हामीहरू जान्छौं भनी अप्सराहरू स्वर्ग गए। त्यसपछि चन्द्रावतीले अप्सराहरूको उपदेश- अनुसार शालीनदीमा स्नान गरी एकभक्त रही एकचित्त गरी श्रीस्वस्थानी परमेश्वरीलाई मनले सम्झिरहिन् । यही क्रमले व्रत गर्दा चन्द्रावतीको पाप घट्तै गयो । शरीरको कुष्ट रोग पनि निको हुँदै गयो र शरीर दिव्य भएर आयो । महीना दिन पूरा भयो र माघशुक्ल पूर्णिमाको दिन समस्त सामग्री तयार पारी अप्सराहरू स्वस्थानी परमेश्वरीको पूजा गर्न फेरि शालीनदीमा स्नान गर्न आए । चन्द्रावतीले तिनलाई देखिन् र उनको नगीचै गई- 'हे अप्सराहरू हो ! तपाईं हरूको आज्ञाले पौषशुक्ल पूर्णिमादेखि नित्य स्नान गरेर एकभक्त रही नित्य मध्याह्न कालमा श्रीमहादेवको पूजा गर्दछु । अब व्रत पूर्ण गर्न सामग्री केही पनि छैन, कसो गरुँ' भनिन् र अप्सराहरू भन्दछन्- 'हे पापिनी ! केही पनि छैन भने शालीनदीबाट बालुवा ल्याई सामग्री तुल्याई हामीहरूको संसर्गमा पूजा गर् ।' यति सुनी चन्द्रावतीले 'हवस्' भनी शालीनदीको बालुवा ल्याई सामग्री तुल्याइन् । श्रीस्वस्थानी परमेश्वरीको व्रतको प्रभावले चन्द्रावतीले तुल्याएको अर्थात् मनले चिताएको बालुवाका सामग्रीहरू सिद्ध भई तयार भए । त्यो देखेर चन्द्रावती मनमा आनन्द मानी धन्य-धन्य, श्रीस्वस्थानी परमेश्वरी ! भन्दै अप्सराहरूलाई बालुवाको सामग्री सिद्ध भएको कुरा सुनाइन् । उनीहरूले पनि बालुवाको सामग्री सिद्ध भएको र तिनको शरीर दिव्य भएको देखेर आश्चर्य मान्दै भने- 'हे सुन्दरी ! हामी आजसम्म तँलाई पापिनी भन्दथ्यौँ, तर आजदेखि तेरो नाम 'पुण्यवती' भयो' भनेर आफ्न संसर्गमा व्रत गराए । चन्द्रावतीले पूजा गरिसकी अर्घ्य लिई स्तुति गर्न लागिन् 'हे जगदीश्वरी ! अघि मैले अहंकार गरेर हजुरको निन्दा गरेको अपराध क्षमा गर्नुहवस् । हे ईश्वरी ! सम्पूर्ण प्राणीका हृदयमा बसी पाप-पुण्यकी साक्षी भइरहेकी यस्ती हजुरलाई कोटि-कोटि नमस्कार ! हे परमेश्वरी ! एक मूर्तिले त्रिमूर्ति ब्रह्मा, विष्णु, महेश्वर भइरहेकी यस्ती हजुरलाई कोटि-कोटि नमस्कार । हे भगवती ! पृथ्वी, जल, तेज, वायु, आकाश यी पाँच पञ्चभूत पनि हजुर, देवताकी देवता पनि हजुर, अति स्थूल र अति सूक्ष्म पनि हजुर, यस्ती त्रैलोक्यकी अधिपति हजुरलाई कोटि-कोटि नमस्कार ! हे ईश्वरी ! हजुरको स्तुति गर्न शेषनाग र शारदाले पनि नसकेको म कसरी सक्दछु ? म पापिनीको पूजाले प्रसन्न भई मलाई यस घोर कष्टबाट पार लगाउनुहवस् ।' यति भनी अर्घ्य दिइन् । तब पूजा समाप्त भयो र अप्सराहरू बिदा भई स्वर्ग गए । अनि चन्द्रावती शालीनदीका किनारामा खरको झुपडी बनाई श्रीस्वस्थानी परमेश्वरीलाई मनले सम्झी रात्रिमा जाग्राम बसिन् । प्रातःकाल भयो र शालीनदीमा स्नान गरी अष्टोत्तर सयमा आठ रोटी, आठ अक्षता, आठ पान, आठ कुड्का सुपारी, सगुनसमेत लिई- 'हे ईश्वरी ! मेरा स्वामी यहाँ छैनन्, कसलाई दिऊँ ? मेरा पति नवराजसित चाँडो भेट हओस्' भनी शालीनदीमा बगाइदिइन् । सय रोटी आफूले फलाहार गरिन् । अनि स्वस्थानी परमेश्वरीको व्रतका प्रभावले चन्द्रावतीको पाप, रोग निको भई अघिभन्दा पनि दिव्य देह भयो । त्यो देखेर मनमा आनन्द मान्दै धन्य श्रीस्वस्थानी परमेश्वरी भनी बारम्बार प्रणाम गर्दी भइन् ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां चन्द्रावतीव्रतकृतं नाम षट्विंशोऽध्यायः ।। २६ ।।


