Harsamaya
श्री स्वस्थानी व्रत कथा अध्याय - २८
श्री स्वस्थानी व्रत कथा । ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - श्री स्वस्थानी व्रत सुरु भएको आज २८औँ दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । 

श्रीस्वस्थानी व्रतकथाको अष्टाविंशौँ अध्यायमा गोमा ब्राह्मणीले आफ्ना दुःख, सप्तऋषिबाट प्राप्त व्रतविधान र श्रीस्वस्थानी परमेश्वरीको कृपाले पुत्र नवराज राजा बनेको वृत्तान्त सुनाएकी छन् । व्रतको प्रभावले नवराजलाई हरि–हरको वरदान प्राप्त भई लावण्यदेशको राजा बनेको उल्लेख गरिएको छ ।

गोमाले चन्द्रावती र लावण्यवतीलाई आपसी मेल, गृहस्थ धर्म र राज्य सञ्चालनका बारे उपदेश दिँदै राज्यको जिम्मेवारी सुम्पिन्छिन् । दुवै रानीले गोमाप्रति कृतज्ञता व्यक्त गर्दै श्रीस्वस्थानीको भक्तिमा जीवन बिताउने संकल्प गर्छन् ।

अध्यायको अन्त्यमा माघमास, माघस्नान, दान र श्रीस्वस्थानी व्रतको महिमा वर्णन गर्दै यसले दुःख–दरिद्रता नाश भई यस लोकमा सुख र परलोकमा कैलासवास प्राप्त हुने विश्वास व्यक्त गरिएको छ । 

यो व्रत बस्नाले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । हामीले स्वस्थानी व्रतकथाको प्रत्येक दिन एक एक अध्याय यहाँहरूसमक्ष प्रस्तुत गरेका छौं । आज २८औँ दिन अष्टाविंशौँ अध्याय यहाँहरूसमक्ष प्रस्तुत छ । 

अथ अष्टाविंशोऽध्यायः 

कुमारजी आज्ञा गर्नुहुन्छ- हे अगस्त्य मुनि ! ध्यानपूर्वक सुन- चन्द्रावती पुत्र- वधूले आफ्नू कष्ट र त्यसबाट उद्धार भएको सारा वृत्तान्त वर्णन गरेको सुनी मनमनै अत्यन्त प्रसन्न भएकी गोमा ब्राह्मणीले-हे श्रीस्वस्थानी जगदीश्वरी ! भनी हृदयले सम्झँदै अञ्जलि जोरी भन्न लागिन् - हे चन्द्रावती बुहारी ! तिमी धन्य रहिछौ ! त्यस्तो दुर्दशामा परेर पनि जगदीश्वरी श्रीस्वस्थानीको भक्ति गर्न सक्ने तिमी धन्य हौ । अब म पनि आफूले दुःख पाएको र उनै ईश्वरीको करुणाले यस अवस्थामा आइपुगेको यथार्थ वर्णन गदर्छु, सुन-तिम्रो पति नवराज आफ्ना पिताको खोजी गर्न हिँडेपछि तिमी पनि माइत गयौ । घरमा म एक्ली हुनाले अर्काको ढिकी जाँतो गरी धागो काती अनेक दुःख सहेर दिन बिताइरहेकी थिएँ । संयोगले एकदिन सप्तऋषिहरू आए र मैले दुःख पाएको जानी ठूलो करुणा गरी- 'हे गोमा ब्राह्मणी ! श्रीस्वस्थानी परमेश्वरीको व्रत गर, तिम्रो सबै कष्ट नाश होला' भनेर व्रतको विधान-समेत बताई गए । ती  ऋषिहरूको आतिथ्य गर्न घरमा केही पनि थिएन । र चर्खामा रहेको धागोको पान लिन गएँ। म पान लिएर आउँदा ऋषिहरू गइसकेछन् । उनीहरू बसेको पिरुका मनि सातओटा सुनका कौडी छाडेर गएका रहेछन् र मैले पाई त्यही द्रव्यले सबै सामग्री तयार पारेर पौषशुक्ल पूर्णिमाको दिनदेखि श्रीस्वस्थानी परमेश्वरीको व्रत प्रारम्भ गरेँ । अनि महीना दिन अर्थात् माघशुक्ल पूर्णिमाको दिन व्रत पूर्ण गरी प्रसाद झिकेर श्रीस्वस्थानी परमेश्वरीलाई मनले बराबर सम्झिरहेँ र राति जाग्राम बसें । ईश्वरीको कृपाले त्यही राति तिम्रो स्वामी नवराज आइपुग्यो र उसले मलाई बाहिरबाट डाकेको सुनें र तत्काल बाहिर आई डाकेर भित्र लगेँ । अनि खान पिन दिई 'हे नवराज ! तेरा पिताको के समाचार छ ?' भनी सोधें र तेरो स्वामी नवराजले मलाई भन्यो- 'हे माता ! मेरा पिता भिक्षा माँग्न गएका त गण्डकी गंगातटमा पुगेर नित्य-पूजा गर्न फल-फूल माँगेछन् । अनि फल-फूल टिप्न वृक्षमा चढेका त संयोगले त्यो वृक्षको हाँगो भाँचिई लडेर मरेछन् ।' यति नवराजले भनेको सुनी म शोक गर्न लागें । अनि नवराजले ॐ मलाई शोक चिन्ता नगर्नुहवस् भनी बुझायो र-हे माता ! आज यति रातसम्म नसुतेर किन जाग्राम गरेर बसिरहनुभएको ? भनी सोध्यो र मैले भनें- हे पुत्र ! हे नवराज ! श्रीस्वस्थानी परमेश्वरीको व्रत गरेँ र उनै जगदीश्वरीलाई सम्झेर जाग्राम रहेकी हुँ भनी बुझाएँ । अनि प्रात: काल भयो र नवराज गण्डकी गंगा - स्नान गर्न गयो । गण्डकी गंगाबाट हरि- हर प्रकट भई- 'हे नवराज ! तेरी माताले श्रीस्वस्थानी परमेश्वरीको व्रत गरेकोले हामी प्रसन्न भयौँ । लावण्यदेशमा राजा छैनन् । हात्तीलाई राजा रोज्न लगाएको छ । त्यहाँ आउनू, तँलाई हामी अभिषेक दिलाउनेछौं, राजा हुनेछस्' भनी वरदान दिई अन्तर्धान भएछन् र नवराजले घर आई मलाई सारा वृत्तान्त सुनायो । अनि मैले श्रीस्वस्थानी परमेश्वरीको प्रसाद दिई- हे पुत्र नवराज ! हरि-हरको वरदानले लावण्य देशको राजा बनेस् भनी आशीर्वाद दिएर यहाँ पठाएँ र उनै ईश्वरीको कृपाले यो ऐश्वर्य पाई सुखी भयौँ । अब पनि बाचुञ्जेलसम्म सधैँ श्रीस्वस्थानी परमेश्वरीको कृपाले यस लोकमा सुख-सन्तोष र सम्पत्तिको भोग गरी परलोकमा परमगति कैलासवास होला । यति उपदेश दिई आफ्नू बितेको यथार्थ वर्णन गरिसकी फेरि अरू पनि अर्ति दिन लागिन् - तिमी चन्द्रावती र लावण्यवती दुवै बुहारी सुन जस्तै सूर्यनारायण नभएको दिन  र चन्द्रमा नभएको रात उज्यालो वा शोभित हुँदैन, त्यस्तै प्रत्येक मनुष्यको पनि घरमा असल स्वभाव भएकी पत्नी छैन भने त्यसको घर सप्रन्न । अब मेरो वृद्धावस्था भयो । तिमी दुवै दिदी-बहिनी आपसमा मिलेर यो राज्य लक्ष्मी थामी मेरो पुत्र नवराज राजाको सेवा चाकरी गरेर बस । यति चन्द्रावती रानीलाई शिक्षा दिई ढुकुटीको साँचो सुम्पिदिइन् । अनि चन्द्रावती रानी र लावण्यवती रानीले पनि- “हे माता ! हजुरको तपस्याले हाम्रा स्वामी राजा हुनुभयो । हामी दुवै रानी हुन पायौँ । हजुर धन्य हुनहुन्छ" भनी आफ्नी सासू गोमा राजमाताका चरणमा दण्डवत् प्रणाम गरेर सदैव श्रीस्वस्थानी परमेश्वरीको भक्तिमा चित्त लगाई आपसमा मिलेर नवराज राजाको सेवा गरी राज्यको सुखभोग गर्दै आनन्दपूर्वक  रहँदा भए । 

फेरि कुमारजी भन्नुहुन्छ- हे अगस्त्य मुनि ! जो मनुष्य श्रद्धा र भक्तिसाथ माघमासको माहात्म्य सुन्ला, माघभरिभरि माघस्नान गर्ला, माघस्नानका साथै माघभरि विविध वस्तु दान गर्ला, कङ्गाल- हरूलाई खिचड़ी ख्वाउला र साथसाथै श्रीस्वस्थानी परमेश्वरीको व्रत, पूजा र आराधना गर्ला अथवा सम्पूर्ण माघमाहात्म्य- सहितको श्रीस्वस्थानीको कथा सुन्ला, सुनाउला वा उनको महिमा लेखिएको वा छापिएको पुस्तक घरमा राख्ला, त्यसका घरमा दुःख दरिद्रताको वास कहिल्यै पनि हुनेछैन । आदित्यादि नवग्रह सदैव प्रसन्न रहनेछन् । अकालमृत्यु कहिल्यै पनि हुनेछैन । भूत-प्रेत- पिशाच, डाकिनी, शाकिनी, बेताल, त्रिदोष आदि रोगको भय हुनेछैन । चोर, डाका, शत्रु, अग्नि, वनका हिंसक जन्तुको भय हुनेछैन र त्यस व्यक्तिका ब्रह्महत्यादि अनेक घोर पाप नष्ट भई यस लोकमा सुख, शान्ति र सम्पत्तिको भोग गरी परलोकमा शिवका पार्षद भई कैलास पर्वतमा बस्न पाउनेछन् । यति केथा स्कन्दकुमारले अगस्त्य मुनिलाई सुनाएका थिए र सोही कथा यहाँ मैले पनि यथामति विस्तारपूर्वक सुनाइयो ।

।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्या व्रतकथायां गोमापूर्ववृत्तान्तवर्णनं नाम अष्टाविंशोऽध्यायः ।। २८ ।।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  ०८:००
प्रतिक्रिया दिनुहोस्
Weather Update