काठमाडौं- आईसीसी महिला टी-२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगिता आज आइतबारदेखि काठमाडौंमा शुरू हुँदैछ । प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।
नेपालमा आयोजना हुन लागेको हालसम्मकै सबैभन्दा वृहत् अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभिन्न महादेशबाट छनोट भएर आएका १० टोलीको सहभागिता रहने छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्यू गिनी (पीएनजी) र अमेरिका रहेका छन् । समूह ‘बी’ मा भने आयोजक नेपालसँगै नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वे परेका छन् ।
पहिलो दिन बलियो बंगलादेशले अमेरिकाको सामना गर्नेछ । बंगलादेश र अमेरिकाबीचको खेल बिहान ९:०० बजे मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ ।
यसैगरी, आइतबारको दोस्रो खेल जिम्बाब्वे र नेदरल्यान्ड्सबीच हुनेछ । नेदरल्यान्ड्स र जिम्बाब्वेबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:०० बजे शुरू हुनेछ।
जिम्बाब्वे भने अफ्रिकी क्षेत्रको छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विश्वस्तरीय छनोटमा प्रवेश गरेको हो । गत सेप्टेम्बरमा नामिबियामा सम्पन्न अफ्रिकी क्षेत्रको छनोट प्रतियोगितामा जिम्बाब्वे पहिलो भएको थियो ।
यसैगरी, आइतबारको तेस्रो खेल आयरल्यान्ड र पपुवा न्यू गिनी (पीएनजी)बीच खेलिने छ । पीएनजी र आयरल्यान्डबीचको खेल दिउँसो १:०० बजे मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।
यसैगरी, आइतबारको चौथो तथा अन्तिम खेल आयोजक नेपाल र थाइल्यान्डबीच खेलिने छ । नेपाल र थाइल्यान्डबीचको खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १:०० बजे शुरू हुनेछ ।

