Harsamaya
कविता : नेचर र सिग्नेचर
ग्राफिक्स : हर समय/Har Samaya

को भन्छ
नेचर कहिल्यै बदलिँदैन भनेर?
समयसँगै बग्ने नदीले
किनार बदल्छ,
आकाशले रंग बदल्छ,
मानिसले मौनमा पनि
आफू बदलिरहेको हुन्छ ।

एक चोट मात्र काफी हुन्छ,
औँलामा लागे
सिग्नेचर बदलिन्छ,
रेखाहरू टुट्छन्,
नाम उस्तै रहे पनि
पहिचानको चाल फेरिन्छ ।

तर
मनमा ठेस लागेपछि
केवल सिग्नेचर होइन,
पूरै नेचर बदलिन्छ ।
हिजो हाँस्ने मान्छे
आज मौन बन्छ,
हिजो विश्वास गर्ने
आज सन्देह सिक्छ ।

चोट देखिने हुँदैन सधैं,
तर असर गहिरो हुन्छ ।
औँलाको घाउ
समयले सुकाउँछ,
तर दिलको घाउ
स्मृतिमा बाँचिरहन्छ ।

त्यसैले
मानिसलाई
हातले होइन,
मनले नछुनू,
किनकि
मनमा लागेको चोटले
मानिसलाई
आफ्नै आँखामा पनि
अपरिचित बनाइदिन्छ ।

नेचर बदलिँदैन भन्नेहरूलाई
सोधिदेऊ,
यदि बदलिँदैन भने
किन पीडाले
दयालाई कठोर बनाउँछ ?
किन विश्वासले
डर जन्माउँछ ?

साँचो यही हो !
चोटले होइन,
चोटले सिकाएको अनुभूतिले
मानिस बदलिन्छ । 

नर्मदा पाण्डे (गैंडाकोट)

यो पनि पढ्नुहोस

प्रकाशित मिति: शनिबार, माघ ३, २०८२  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update