काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवशेनले पदाधिकारीलाई कारवाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ ।
बुधबार भृकुटीमण्डपमा विशेष महाधिवशेनको बन्दसत्रको हलले काँग्रेस केन्द्रीय समितिले निष्कासन गरेका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय खारेज गरेको हो ।
कारवाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरुलाई निष्काशन गर्ने कांग्रेस पार्टी कसैको निजि कार्यालय नभएको बताए । उनले केहीदिनअघि विशेष महाधिवशेन सुरु हुँदै सभापति शेर बहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको र यसको जानकारी निर्वाचन आयोगमा जानकारी गराइसकेको बताए ।
उनले कांग्रेस पार्टी आफूहरुको भएकाले कसैले यसमा दावी गर्न नसक्ने स्पष्ट पारे । पार्टीको विधान अनुसार नै आफुहरु चलिरहेको भन्दै कारवाहीको निर्णयका कारण बिचलित नहुने नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नेतृत्वलाई आफूलाई लागेको निर्णय गरेपनि पार्टीलाई अघि बढाउने काम अव विशेष महाधिवेशनको हलले गर्ने बताए । उनले विशेष महाधिवेशनले बनाउने कार्यसमितिलाई निर्वाचन आयोगमा लिएर जाने उल्लेख गरे । उनले पार्टीका बारेमा कुनै अन्यौलता नरहन आग्रह गरे ।
त्यस्तै कांग्रेसका नेता फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको निर्णयलाई कसैले रोक्न नसक्ने बताए । उनले अब पार्टी र देशको नेतृत्व गगन थापाले मात्रै गर्न सक्ने उल्लेख गरे ।

