काठमाडौं - सरकारले नेपाली तथा भारतीय नागरिकले भारत लैजान र नेपाल भित्र्याउन पाउने नेपाली तथा भारतीय मुद्रासम्बन्धी व्यवस्था स्पष्ट पारेको छ ।
राजपत्रमा प्रकाशित सूचनाअनुसार भारतीय रुपया १०० भन्दा कम दरका बैंक नोट र कुनै पनि दरका नेपाली मुद्रा नेपाली र भारतीय नागरिकले असीमित रूपमा भारत लैजान पाउनेछन् । तर, सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भई चलनचल्तीमा रहेका भारतीय रुपया २०० र ५०० दरका नोट भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजार भारतीय रुपयासम्म मात्र भारतबाट नेपाल भित्र्याउन तथा नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरिएको छ ।
भारत सरकारले सन् २०१६ नोभेम्बर ९ मा ५०० र १००० दरका भारतीय नोट नचल्ने गरी नोटबन्दी घोषणा गरेको थियो । सोही सन्दर्भमा, सूचनामा नोभेम्बर ९, २०१६ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपया ५०० र १००० दरका नोटको कुनै पनि कारोबार गर्न नपाइने स्पष्ट गरिएको छ ।
नेपाली मुद्राको हकमा नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी र भारतीय मुद्राको हकमा भारतबाहेक अन्य मुलुकमा लैजान वा पठाउन नपाइने व्यवस्था रहेको छ । यद्यपि, कानूनबमोजिम इजाजतपत्रप्राप्त व्यक्ति वा संस्थाबाट विदेशी विनिमय सटही कारोबारमार्फत प्राप्त विदेशी मुद्रा भने नेपालबाट बाहिर लैजान वा पठाउन पाइनेछ ।
त्यस्तै, विदेशी नागरिकले नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी विदेशी मुद्रा लैजान वा पठाउनुपर्ने अवस्थामा नेपाल प्रवेश गर्दा आफूसँग ल्याएको नगद विदेशी मुद्रा भन्सार अधिकृतसमक्ष घोषणा गरी प्रमाणित गराउनुपर्ने व्यवस्था गरिएको छ ।
सरकारले यस सूचनामार्फत सीमा नाकामा हुने मुद्रा कारोबारलाई व्यवस्थित, पारदर्शी र कानूनसम्मत बनाउने उद्देश्य लिएको जनाएको छ ।

