काठमाडौं - नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरद्वारा आयोजित महाधिवेशनको बन्दसत्र आज पनि हुँदैछ ।
आज ९ बजेदेखि बन्दसत्र पुनः सुरु हुने र निर्वाचन प्रक्रिया अगाडि बढाइने विशेष महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले जानकारी दिए ।
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए ।
दुई प्रतिवेदनमाथि समूहगत छलफल जारी रहेकाले मङ्गलबार प्रत्येक समूहले निष्कर्ष सुनाउने कार्यक्रम छ । ‘पहिले नेता छानेर नीति बनाउँथ्यौँ, हाल नीति बनाएर नेता छान्छौँ । सोहीअनुसार प्रक्रिया अगाडि बढेको छ’, संयोजक पोखरेलले भने ।
उनले महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या बढेको बताए । पत्रकार सम्मेलनमा यति प्रतिशत भनेपनि उनीहरूले सूचीसहितको जानकारी दिन सकेका छैनन् ।

