काठमाडौं - नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीमा एकताका साथ अगाडि बढ्न सबैलाई आग्रह गरेका छन् । कांग्रेस विशेष महाधिवेशन पक्षधरहरूको आह्वानमा भृकुटीमण्डमा विशेष महाधिवेशनको बन्दसत्र चलिरहेको परिस्थितिमा उनले विज्ञप्ति जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्नसमेत आग्रह गरेका हुन् ।
कार्यवाहक सभापति खड्काले मुलुकको विषम् परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको उल्लेख गरेका छन् । ‘अहिले मुलुक गम्भीर अवस्थामा छ । देशको सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधिसभा विघटन भएको छ । अन्योल र अनिश्चितताको वर्तमान अवस्थामा देश र लोकतन्त्रका बारेमा सर्वत्र चासो र चिन्ता व्याप्त छ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन तोकिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
उक्त निर्वाचनमार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक तथा संवैधानिक व्यवस्थालाई पुनः सञ्चालन गर्नुपर्ने उनले बताए । यस अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, सङ्गठित र सुदृढ हुन अपरिहार्य रहेको बताउँदै उनले कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएकाले सबैले आपसी समन्वयसहित एकता कायम गर्नुपर्ने आवश्यकता औँल्याए ।
कांग्रेसले देशमा विषम् परिस्थिति उत्पन्न भएका विभिन्न कालखण्डमा परिस्थितिको सही मूल्याङ्कन गरी आफ्नो नेतृत्वमा उचित निकास दिएको इतिहास रहेको कार्यवाहक सभापति खड्काले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
‘कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएकाले हाम्रो काँधमा फेरी एकपटक ऐतिहासिक जिम्मेवारी आएको छ । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गएपछि विसं २०८३ वैशाखमा हुने १५औँ महाधिवेशनबाट पार्टीको नीतिमा आवश्यक परिमार्जन गरी नेतृत्व सहज रूपले परिवर्तन गर्न सक्ने अवस्था सुनिश्चित छ । तसर्थ, अहिले प्रतिनिधिसभा निर्वाचनमा सम्पूर्ण पार्टीपङ्क्ति एकताबद्ध भई अभियानका रूपमा लाग्न आवश्यक छ’, उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

