Harsamaya
जाजरकोटमा जिप दुर्घटनामा दुई जनाको मृत्यु
प्रतिकात्मक तस्विर ।

सुर्खेत - जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलामा जिप दुर्घटना हुँदा आज बिहान दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

छेडागाड– ८ बाहार्नाखोलास्थित भित्री सडकमा छेडागाड नगरपालिका–९ पजारुबाट थलहतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नं को  डबल क्याब बोलेरो जिप ब्रेक फेल भई सडकबाट १५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको भएको  प्रहरीले जनाएको छ । 

छेडागाड नगरपालिका–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी, २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको जाजरकोटका प्रहरी प्रमुख वसन्तकुमार शर्माले जानकारी दिए । 

घाइते हुनेहरुमा छेडागाड–९ का २४ वर्षीय कृष्ण अधिकारी,  वडा नम्बर ८ की २० वर्षीया लक्ष्मी खत्री, वडा नं ९ का ३९ वर्षीय बीरबहादुर रोकाय, दैलेख नौमुले गाउँपालिका–६ का २३ वर्षीया शीतला रावत छन् । घाइतेको छेडागाड नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, पुस २५, २०८२  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update