काठमाडाैं - श्री स्वस्थानी व्रत सुरु भएको आज सातौं दिन । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने श्री स्वस्थानी देवीको व्रतमा स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।
आज यस कथामा सतीदेवीले दक्षको यज्ञमा आत्मदाह गरेपछि सारा संसारमा उत्पात मच्चिन्छ। नारदबाट समाचार सुनेर महादेव अत्यन्त क्रोधित भई आफ्ना जटाबाट महाकाली र वीरभद्र उत्पन्न गर्नुहुन्छ।
शिवको आज्ञामा उनीहरूले नन्दी र शिवगणसहित दक्षको यज्ञ विध्वंश गर्छन् र देवताहरूसँग भयानक युद्ध हुन्छ। विष्णुसँग पनि संघर्ष भए तापनि अन्ततः यज्ञ पूर्ण रूपमा नष्ट हुन्छ।
यस अध्यायले दक्षको अहंकारको पतन र शिवशक्तिको अपार पराक्रम देखाउँछ।
आज सातौं दिन सातौं अध्याय यहाँहरूसमक्ष सविस्तारमा प्रस्तुत छ।
अथ सप्तमोऽध्याय
कुमारजी आज्ञा गर्नुहुन्छ - हे अगस्त्य मुनि ! सतीदेवीले त्यसरी प्राण त्यागेको देखेर देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्य र ऋषि-मुनि सबैले अहो ! साह्रै अनर्थ भयो भन्दै आश्चर्य माने । उसै वेला अकस्मात् आँधी चलेर धूलो उडी सारा आकाश ढाक्यो र विपरीत हावा चल्न लाग्यो । बिना- बादलकै मेघ गर्जन लाग्यो । यज्ञमा उपस्थित सबै देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नागहरू धूलो उडेर आँखामा परी हेर्न असमर्थ भए । वायुको वेगमा अड़िन नसकी भूमिमा घोप्टिए । वायुको त्यो उग्र वेगले कतिलाई उडाएर लग्यो, कति भूमिमा पछारिए, कति रुन कराउन लागे । त्यस हुरीमा परे र कतिको हात भाँच्चियो, कतिको खुट्टा मर्कियो, कतिले भूमिमा टाउको टेक्न पुगे, कतिका मुख भूमिमा घोटिएर माटो खान लागे । उठ्न असमर्थ भएका जति रुन- कराउन लागे । कति रक्षा गर, रक्षा गर, मरेँ बाबा ! बचाओ भन्न लागे । यस्ता प्रकारले यज्ञमा उत्पात भएको केही बेरपछि हुरीको वेग कम भयो र दक्षप्रजापतिले चिन्ता गरी सबै छोरी- ज्वाइँलाई 'नडराओ, डराउनुपर्दैन' भनी सान्त्वना दिइसकेपछि चित्त व्याकुल गरी अब कसो गरुँ भन्दै गुरु बृहस्पतिकहाँ गएर बिन्ती गरे- 'हे गुरो ! अनर्थ भयो, अब कसो गर्ने, असम्भव कुरा प्रत्यक्ष भयो' भन्दै भयभीत स्वरमा कराउन लागे । त्यसै बेला नारदजीले सतीदेवीले अग्नि- कुण्डमा हामफाली प्राण त्याग गरेको देखी हावाभन्दा पनि वेगले शीघ्र कैलास पुगी महादेव- का चरणमा दण्डवत् गरी उभिइरहे । अनि 'हे नारद ! तिमी के भन्न आएका ? भन । किन मौन भई उभिएका छौ ?' यस्तो शंकरजीको आज्ञा सुनी हात जोरेर नम्र स्वरमा बिन्ती गरे- 'हे ईश्वर ! हजुरकी प्राणप्रिया सतीदेवीले दक्षप्रजापतिको यज्ञाग्निमा हामफालेर प्राण त्याग्नुभयो । किनभने-'हे जगदीश्वर ! हे करुणा- निधे ! पापिष्ठ दक्षले हजुरलाई अनेक क्षुद्र वचनले हेलाँ गरी निन्दा गरेको- 'त्यो महादेव कहाँको देवता हो ? त्यो त बौलाहा पो हो, त्यसलाई डाकेर मेरो के हुन सक्तछ ? मेरा तेत्तीस कोटि छोरी-ज्वाइँ र ब्रह्मा-विष्णु आदि छँदै छन्, कस्तै भए पनि म त्यसलाई डाक्ने होइन' इत्यादि अनेक दुर्वचन बोलेको सुन्दा सहन नसकी क्रोध-युक्त भएर भूमिमा लात्तले हानी, यज्ञको परिक्रमा गरी, कसैको पनि मुखतर्फ नहेरी, केवल हजुरको नाम 'शिव-शिव' भन्दै यज्ञाग्निमा हामफाली प्राण त्यागिन् । हे प्रभु ! हजुरको डरले अग्निले देह दग्ध गर्न सकेका छैनन् । केवल प्राण छाडेर यज्ञ-कुण्डमा शयन गरे- झैँ सुतिरहनुभएको छ । हे ईश्वर ! यही कुरा बिन्ती चढाउन आएको हुँ । हे चन्द्रमौले ! अनर्थ भयो, अब के गर्ने ?' यति भनी नारदजी उभिइरहे । नारद मुनिका कुरा सुनेर महादेवले आज्ञा भयो- 'हे मुने ! तिमीले भनेको कुरा निश्चय (सत्य) हो कि होइन ?' शिवको यस्तो वचन सुनी नारदले भने- 'हे जगदीश्वर ! हजुरका सामु मिथ्या बोल्ने साहस अथवा शक्ति ममा छैन । ध्यान-दृष्टिले हेर्नुभए सत्याऽसत्य ज्ञात हुनेछ ।' नारदजीका त्यस्ता वचन सुनी ध्यान- दृष्टिले विचार गरी हेर्नुभयो त अत्यन्त क्रोधले तीनै नेत्रबाट अग्निका ज्वाला निकाली, दाह्रा किटी, पाखुरा निमोठ्दै नारदजीको सामुन्ने नै भन्नुभयो- 'हे मुने! तेत्तीस कोटि देवताले रक्षा गरिएको पापिष्ठ दक्षको विनाश नगरी छाड्नेछैन । अब तिमी आफ्नू आश्रममा जाऊ भनी बिदा दिनुभयो र नारदजी श्रीमहादेवलाई दण्डवत् प्रणाम गरेर आफ्नो धाममा गए ।
नारदजी गएपछि शिवजीले सतीदेवीलाई सम्झेर रिसले तीनै नेत्रबाट अग्निका जस्तै ज्वाला निकाली शिखाबाट एउटा जटा झिकेर भूमिमा पच्छारे । त्यसबाट मेघ गर्जे-जस्तै चर्को शब्द गरी भयंकर चतुःषष्ठी योगिनी र भूत-प्रेत-पिशाच, प्रमथगणले सहित भएर महाकाली उत्पन्न भइन् । कस्ती महाकाली भने- डरलाग्दो अनुहार भएकी, लामा लामा दाह्रा निस्केकी, आकाश जस्तै पेट भएकी र बाघको छाला कम्मरमा बेहेकी, झाँक्रो फिँजेकी, हातमा भयंकर खड्ग लिएकी, कहिले हाँस्ने, कहिले लामो जिभ्रो निकाल्ने यस्ती महाकाली शिवजीको सामुन्ने उभिई- 'के कामले मेरो आराधना गर्नुभयो ?' भनी बिन्ती गरिन् । अनि महादेवले अघि झैँ अर्को जटा झिकेर भूमिमा पच्छारे । त्यसबाट पृथ्वी कम्पायमान पार्दै, क्रोधित सिंह जसरी गर्जन्छ त्यस्तै ध्वनि निकाल्दै, हजार सूर्य जस्तै तेज भएका, सम्पूर्ण शरीरमा खरानी घसेका, मुण्डमाला लगाएका, दायाँ हातमा त्रिशूल लिएका र बायाँ हातले डमरु बजाउने यस्ता भीषण मूर्ति भएका वीरभद्रले महादेवका अगाडि उभिएर बिन्ती गरे- 'हे शम्भो ! हामीहरूलाई किन आराधना गर्नुभयो ?' तिनीहरूको यस्तो प्रार्थना सुनेर महादेवले आज्ञा भयो- 'हे वीरभद्र ! हे महाकाली ! तिमीहरूलाई पापिष्ठ दक्षप्रजापतिको यज्ञ विध्वंश पारी उसको पनि संहार गरी दक्षका सहायक, संरक्षक देवताहरूको पनि संहार गरेर आओ भनी डाकेको हुँ । अब तिमीहरू नन्दी, भृंगी, चौषट्ठी योगिनी, भूत-प्रेत, पिशाच समेत भई दक्षको यज्ञ विध्वंश गर्न तत्काल जाओ ।' श्रीमहादेवको यस्तो आज्ञा सुनी नन्दी, भृङ्गी, भूत- प्रेत, योगिनी र पिशाचसहित भई मेघ गर्जे झैँ सिंहनाद गरी, पृथ्वी डोलायमान पारी साक्षात् यमराज नै प्राणीको नाश गर्न हिंडे-झैँ क्रोधित भएर शिवको आज्ञा शिरोपर गरी कैलास पर्वतबाट हिंड़े।
तिनीहरूको चालामाला देखेर पृथ्वीलाई भार थाम्न कठिन पर्यो र थर-थर काँपिन । सात समुद्र छचल्किए । समस्त जीव त्राहि-त्राहि भए । दक्षको यज्ञमा पनि अनेक किसिमका उत्पात हुन लागे । आकाशमा काग र गिद्ध मण्डलाकार गरी उड्दै कराउन थाले । स्यालहरू आँखा र मुखबाट आगोको ज्वाला निकाल्दै कराउन र दगुर्न लागे । रगतको वृष्टि भयो । विपरीत वायु चल्न लाग्यो । यस्तो उत्पात हुन लागेको देखेर यज्ञमण्डपमा बसेका सबै हाहाकार गर्दै यता-उता भाग्न लागे । स्त्री, बालक, बूढाहरू भाग्न नसकी भूमिमा घोप्टिएर रुन कराउन लागे । कोही अझ के-के हुने हो भनेर डराई त्राहि-त्राहि हुन लागे ।
ठीक उसै बेला शिवको आज्ञा पाएर उन्मत्त भएका वीरभद्र र महाकाली, नन्दी, भृङ्गी आदि शिवका गण मेघ गर्जे-जस्तै गर्जदै हात्तीका बथानमा सिंह पसे- दक्षका यज्ञमा पुगे र दक्षद्वारा डाकिएका देवता, यक्ष, गन्धर्व, किन्नर, नाग, दैत्यगणसित परस्पर जुधे । त्यो देखेर दक्षका कन्याहरू, देवकन्या, नागकन्या, ब्राह्मण, ऋषि- मुनि आदि सबै 'त्राहि-त्राहि नारायण' भन्दै रोई कराई दश दिशातिर भाग्न लागे । कोही भाग्न नसकेर लडे, कसैको हातखुट्टा भाँचियो, कोही टाउकाको भरले पल्टेर माटो खान लागे । कति मूर्च्छा परी असहाय जस्तै भूमिमा लडिरहे । तर विष्णु प्रभृति देवता, यक्ष, गन्धर्व, किन्नर आदि सबैले दक्षप्रजापतिको रक्षा गर्न शस्त्र-अस्त्र लिएर वीरभद्र र महाकाली- माथि प्रहार गर्न लागे । यसरी परस्परमा घमासान संग्राम भयो । इन्द्रादि देवताहरूले कुन-कुन अस्त्र प्रहार गरे भने-इन्द्रास्त्र, अग्न्यस्त्र, देव्यस्त्र, वरुणास्त्र, पाशुपतास्त्र, ब्रह्मास्त्र, तोमर, गदा, खड्ग र मुसल, नागपाश आदिले वीरभद्र र महाकाली तथा चौषष्ठी योगिनी; भूत- प्रेत, प्रमथगण र विषमज्वर- माथि प्रहार गरे । यस्ता तरहले आफूमाथि शस्त्रास्त्र प्रहार गरेको देखेर वीरभद्रका गणहरूले पनि कठोर स्वरले गर्जेर दक्षका सैन्य-भित्र पसी जति भेटे; उतिको टाउको समाती, निमोठी, हात-खुट्टा भाँची, मुड्कीले हानी, रगत छदाई देवताहरूको संहार गरे । उता महाकालीले पनि प्रत्यक्ष काल जस्तै खड्ग लिई वर्षाकालको प्रचण्ड मेघ गर्जे झैँ गर्जी, सिंहनाद गर्दै मृगका फौजमा सिंह पसे- झैँ र सुकेका परालमा आगो लागे-जस्तै गरी दक्षका सेनाको संहार गरिन् । वीरभद्र समेत नन्दी, भृङ्गी, चतुःषष्ठी योगिनी, भूत, प्रेत, पिशाच, प्रमथगण - समेतले शत्रुतिरका कसैको शिर, कसैको हात-खुट्टा छुट्ट्याए । कसैलाई निमोठी रगत पिएर नाच्न लागे, कोही हाँस्न थाले । कसैको मासु लुछेर खाए । कसैको कोखामा प्वाल पारेर रगत पिउन लागे । कोही देवता भागे । यसरी दक्षका कोटि-कोटि सेना र कोटि-कोटि देवताको संहार गरे । त्यसरी संहार गरेको देखेर दक्षका सेना र देवताले वीरभद्र र महाकाली- माथि आफ्ना शस्त्रास्त्र प्रहार गरे, तर ती सम्पूर्ण शस्त्रास्त्र महाकालीको शरीरमा छुनासाथ आफैँ भस्म भएर जान्थे । फेरि शिवगण र महाकालीले दक्षका सैन्य र देवगण, यज्ञमा आएका धेरै वीरहरू मारिदिए । विषम ज्वरले पनि सबैका शरीरमा प्रवेश गरी अचेत पारिदिए । अनि वैकुण्ठका स्वामी श्रीविष्णुले सम्पूर्ण देवता, यक्ष, गन्धर्व, किन्नर, दैत्य, नाग-सहित दक्षका सबै सेना अचेत भएका देखेर आफ्नू देहबाट शीत-ज्वर उत्पन्न गरेर सबैलाई सचेत गराए । फेरि अनेक शस्त्र- अस्त्र लिएर बत्तीमा पुतली गए- वीरभद्र र महाकाली-माथि जाइलागे । वीरभद्रले पनि त्रिशूल लिई सिंहनाद गर्दै सुकेको खरमा आगो लगाए- झैँ एक क्षणमै दक्षका अनेक सेनाहरू काटी मारि- दिए । तिनमा कसैको शिर छैन, कसैको हात छैन, कसैका खुट्टा छैनन् । यस्तो स्थिति देखेर कोही 'रक्षा गर, रक्षा गर' भन्दै भाग्न पनि नसकी भूमिमा लडिरहे । यसरी सबै देवताहरूको संहार गरी अन्य दैत्य-दानवलाई समाती अग्नि- कुण्डमा होम्न लागे । वीरभद्रले त्यसरी दक्षका सेना, देवता, यक्ष, दानव, गन्धर्व, किन्नरहरूको नाश पारी यज्ञ-समेत ध्वस्त पारिदिएको हेर्न नसकी श्रीविष्णुले राता-राता आँखा पारी नागले झैँ निःश्वास फेर्दै प्रलयकालको अग्नि जस्तै भई बायाँ हातले पाञ्चजन्य शंख बजाई, दाहिने हातले कौमोदकी गदा उठाई संहारकालका रुद्र जाइलागे- जस्तै वीरभद्रका सेना-माथि जाइलागे । त्यो देखेर देवता, यक्ष, गन्धर्व, किन्नर, नाग आदि सबै र दक्षप्रजापतिका सेनाले “धन्य-धन्य विष्णु, तिम्रो जय कल्याण होस्” भन्दै आफाफ्ना शस्त्रास्त्र लिई विष्णुको सहायतामा लागेर कठोर युद्ध गरे । त्यस्तो देखेर महाकाली रीसले आगोको ज्वाला झैँझैँ डरलाग्दो तेज प्रकट गरी खड्ग लिई जाइलागिन् । त्यो देखी भूत-प्रेत, पिशाच, प्रमथगण, डाकिनी, शाकिनी र चतुःषष्ठी योगिनी सबै युद्ध गर्न लागे । जस्तै ठूलो हावा चल्नाले मेघ टुक्रा-टुक्रा हुन्छ, त्यस्तै दक्षका सेना, देवता, दैत्य, गन्धर्व, किन्नर, नाग आदि दश दिशामा भागे । तब विष्णुले निर्धक्कसित वीरभद्रको छातीमा कौमोदकी गदा प्रहार गरे । त्यो गदा वीरभद्रको छातीमा बज्रन गयो, अनि ती मूर्च्छा परी भूमिमा ढले । फेरि विष्णुले नन्दी, भृङ्गी, चौषट्ठी योगिनी, भूत-प्रेत, पिशाच, प्रमथगणका उपर शङ्खको चर्को शब्दका साथ शस्त्रास्त्र प्रहार गरे । त्यसरी विष्णुको प्रहारले कति लडी भूमिमा पल्टे, कति मूर्च्छा परे, कति भागे । त्यो देखेर दक्षप्रजापतिका सेनाले धन्य-धन्य विष्णु भनी स्तुति गरी पुष्पवृष्टि पनि गरे । तब विष्णुले पाञ्चजन्य शंख बजाए । मूर्च्छा भइरहेका वीरभद्र महा- कालीका कानमा देवता, यक्ष, गन्धर्व, किन्नर र दक्षका सेनाले संकुलध्वनि र धन्य-धन्य विष्णु भनी स्तुति गरेको शब्द पर्यो र चेतना फक्र्यो । आफ्ना सैन्य कोही भूमिमा ढलेका, कोही भाग्न लागेका र कोही के कसो गरुँ भनी अन्योलमा परेका देखी अत्यन्त क्रोधित भई काल-सदृश त्रिशूल लिई विष्णुलाई लक्ष्य गरी वेगले प्रहार गरे । त्यो त्रिशूल विष्णुका छातीमा लाग्यो । त्यसको कष्ट सहन नसकी नव द्वारबाट रगतको धारा बगाई विष्णु मूर्च्छा परी ढले । उनी मूर्छित भएपछि वीरभद्रले प्रलयकालको मेघ झैं गर्जन गरी दक्षका सेनामाथि जाइलागे । आफ्ना गणसमेत मिलेर कोटि-कोटि देवताहरूको संहार गरे । वीरभद्र गर्जेको शब्द उनका गणहरू नन्दी, भृङ्गी, प्रमथगण - समेतका कानमा पर्यो र बिउँझी उभिएर हेर्दा रणभूमिमा विष्णु मूर्च्छा परेका र वीरभद्रले दक्ष- सैन्य र देवताहरूको संहार गरेको देखेर "धन्य-धन्य वीरभद्र भनी आफाफ्ना शस्त्र-अस्त्र लिएर दक्षका सैन्यमाथि जाइलागे । त्यसरी अत्यन्त भयंकर युद्ध भयो । कस्तो युद्ध भने, 'हे मुनि ! महाकाली र वीरभद्र तथा उनका सेना समेत जाइलागे । अनि कसैको टुपी समातेर पछारी खड्गले हानी मारे । कसैलाई मुड्कीले नै मारे । चौषट्ठी योगिनीले पनि कतिलाई निमोठेर मारे। कसैको काखीमा प्वाल पारेर रगत पिई न मारे । कसैलाई पक्री अग्निकुण्डमा होमिदिए । यस्ता प्रकारले देवता, यक्ष, गन्धर्व, दैत्य, किन्नर- - को नाश गरेर वीरभद्रका सैन्यले 'जय जय' भनी कराएको शब्द मूर्च्छा परेका विष्णुको कानमा पर्यो र मूर्च्छाबाट उठेर हेर्दा वीरभद्र र महाकालीले यज्ञ विध्वंश पारी, देवताहरू र दक्षका सैन्य- समेत नाश गरेको देखी, अत्यन्त क्रोधित भई राता-राता आँखा पारेर हे पापिष्ठ ! आज तेरो नाश गरेर दक्षको यज्ञ पूर्ण पारी सबै देवता, यक्ष, गन्धर्व, नाग आदि सबैलाई सन्तोष दिनेछु । आज एकादश रुद्र तेरो सहायक भएर आए पनि रक्षा गर्न सक्नेछैनन् । सम्पूर्ण दुष्टको संहार गर्ने यो चक्र देखिस् ? भनी सुदर्शन चक्र देखाए । विष्णुले भनेको त्यस्तो क्षुद्र वचन सुनेर वीरभद्र रीसले चूर भई भन्दछन्- हे पापिष्ठ विष्णु ! सम्पूर्ण दुष्टको नाश गर्ने चक्र भनेर देखाइस् । तेरो पराक्रम- माफिक त्यो चक्र मेरा उपर प्रहार गरेर हेर् । मुखले भनेर मात्र केही हुन सक्तैन । यस्तो वीरभद्रको वचन सुनी विष्णु रिसाई वीरभद्रलाई ताकेर सुदर्शन चक्र प्रहार गरे । त्यो चक्र अनेक सूर्यको जस्तो तेज र प्रलय- कालको मेघ गर्जे - झैँ गर्जना गर्दै काल-रुद्र नाश गर्न गए झैँ गयो । त्यस्ता प्रकारले आएको त्यो चक्रलाई देखी नन्दी, भृङ्गी, भूत-प्रेत, चौषट्ठी योगिनी, प्रमथगण आदि शिवगण त्राहि-त्राहि वीरभद्र - महाकाली भनी उनका नगीचै गए । जस्तो समुद्र मथनमा कालकूट विष निस्केर सबै- लाई भस्म पार्न खोज्दा त्यो विष शिवले पान गर्नुभएको थियो, त्यस्तै त्यो चक्र आएको देखेर वीरभद्रले 'आँ' मुख बाइदिएकोले वीरभद्रको मुखमा पस्यो र उनले निल्न तयार भएको देखी विष्णुले चाँडो गरी वीरभद्रका मुखबाट सुदर्शन चक्र झिकी त्यहाँबाट अन्तर्धान भई वैकुण्ठ जाँदा भए ।
।। इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये कुमारअगस्त्यसंवादे श्रीस्वस्थानी- परमेश्वर्याव्रतकथायां दक्षसेनावधो नाम सप्तमोऽध्यायः ।।७।।

