काठमाडौं - नेपाली काँग्रेसको मध्यमार्गी धारमा देखिएका वरिष्ठ नेता डा. शेखर कोइराला पार्टी विभाजन हुनबाट रोक्न क्रियाशील देखिएका छन् । उनले बिहीबार बिहान काँग्रेस सभापति शेर बहादुर देउवालाई भेटेर पार्टी विभाजनबाट रोक्न सुझाव दिएका हुन् ।
डा. मिनेन्द्र रिजालसँगै देउवानिवास पुगेका कोइरलाले मध्यमार्गी धार अपनाएर दुवै पक्षको विजय हुने बाटो समाउन सुझाव दिए । उनले काँग्रेस विभाजनको पीडा देशले र काँग्रेसले भोगेको बताउँदै पुन त्यो पीडा भोग्ने अवस्थामा पार्टीलाई नपुर्याउन देउवालाई आग्रह गरेका थिए । ‘काँग्रेस विभाजनको पीडा देशले पनि भोगिसकेको छ’ उनको भनाइ उत्धृत गर्दै सचिवालयले भन्यो ‘काँग्रेसले पनि भोगेको छ अब फेरि त्यही पीडामा देश र काँग्रेसलाई नपुर्याउ ।’
कोइराला दिउँसो २ बजे आफू निकटका पदाधिकारीसहित देउवा निवासमा जाने सचिवालयले बताएको छ । ‘उहाँ पार्टीको अहिलेको परिस्थितिबाट धेरै चिन्तित हुनुहुन्छ’, सचिवालयले भन्यो ‘छलफलहरू तीव्र रुपमा अगाडि बढेका छन् ।’ दिउँसो पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय जीवन परियार, बद्री पाण्डे र रिजालपनि छलफलमा सहभागी हुने सचिवालयले जनाएको छ ।

