काठमाडौं- भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोपहरू अस्वीकार गरेका छन् ।
म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू 'निर्दोष' रहेको बयान दिएको बीबीसीले जनाएको छ। मदुरोविरुद्ध 'नार्को-टेररिज्म' (लागूऔषध आतंकवाद) को षड्यन्त्र, मेसिन गन र विनाशकारी उपकरणहरू राखेको जस्ता अभियोगहरू समावेश छन् ।
जेलको नीलो बर्दीमा अदालत उपस्थित भएका ६३ वर्षीय मदुरोले न्यायाधीशसामु आफू एक 'सभ्य मानिस' र आफ्नो देशको निर्वाचित राष्ट्रपति भएको दाबी गरे ।
मदुरोले आफूलाई ‘युद्धबन्दी’ र ‘अपहरण गरिएको’ व्यक्ति भएको दाबी गरे । उनले आफू ‘राष्ट्रपति र युद्धबन्दी’ भएको प्रतिक्रिया दिएका थिए ।
अमेरिकी एलिट फोर्सले शनिबार हेलिकोप्टर र लडाकु विमानको सहयोगमा भेनेजुएलाको राजधानी काराकासमा सैन्य कारबाही गर्दै मादुरो दम्पतीलाई पक्राउ गरेको थियो ।
यता, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकाले निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसको जबरजस्ती गिरफ्तारीप्रति चीन गम्भीर रूपमा चिन्तित रहेको बताएका छन् ।
चीनले अमेरिकासँग मादुरो र उनकी पत्नीको सुरक्षा सुनिश्चित गर्न र उनीहरूलाई बिनासर्त तुरुन्त रिहा गर्न आग्रह गरेको छ ।
बेइजिङले कुनै सार्वभौम राष्ट्रविरुद्ध यस्तो बल प्रयोग केवल संयुक्त राष्ट्रसंघको चार्टरको उल्लंघन नभएर यो ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रको शान्तिका लागि ठूलो खतरा भएको चेतावनी दिएको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यीले यो विषयमा प्रतिक्रिया दिँदै भने, 'कुनै पनि देश विश्वको प्रहरी वा न्यायाधीश बन्न सक्दैन।' उनले अमेरिकाको यो कारबाहीलाई ‘एकतर्फी दादागिरी’ भन्दै कुनै देशको इच्छा अर्कोमा थोपर्नु अन्तर्राष्ट्रिय सम्बन्धहरूको आधारभूत सिद्धान्तविपरीत भएको बताए ।
चीनले भेनेजुएलाको सरकारसँग आफ्नो सहयोग जारी राख्ने र यो संकटलाई सैन्य हस्तक्षेप होइन, वार्ता र कूटनीतिमार्फत समाधान गर्न जोड दिने स्पष्ट पारेको छ ।

